Sat. Jan 18th, 2020
Ghumante Team- Mardi News

पोखरा, २८ मंसिर । मिलेनियम पदमार्गको प्रबद्र्धनको लागि मण्डलाआईटी सोलुसनसँग सहकार्य गरी कार्य अघि बढेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी मिलेनियम ट्रेक (पदमार्ग) व्यवस्थापन समितिले सोलुसनसँग सम्झौता गरी अघि बढेको हो ।

गत मंसिर २२ गतेदेखि तनहुँ शुक्लागण्डकीको भुजिकोटबाट ‘घुमन्ते’को समूहलाई लिई व्यवस्थापन समिति तथा सोलुसनको टीम मिलेनियम पदमार्गमा निस्केको छ ।

फोटोः घुमन्ते

देशको विभिन्न ठाउँको भिडियो उत्पादन गरी प्रचारप्रसार गर्दै आएका ‘घुमन्ते’ समूह मंसिर २८ गतेसम्ममा पुतलीबजार नगरपालिकाको भैंसेगौंडामा छ । मंसिर २३ गते मुक्तिनाथ धाम, रक गार्डेन, तिब्बतीयन क्याम, ढोरबराही मन्दिरको भिडियोमा कैद गर्दै रजस्थल, त्यसको भोलिपल्ट २४ गते लामागाउँ, घरेडी, स्याङ्जाको साँदीखोला, २५ मंसिरमा काल्खु, राइपुर, पोखरीछाप र २६ मंसिरमा कोल्मा, ज्यामिरे, चिरुवा हुँदै भैंसेगौंडा पुगेको मण्डला आइटी सोलुसनका ई. निशाल गुरुङले बताए ।

मिलेनियम पदमार्ग तनहुँको शुक्लागण्डकी गाछेपानीबाट शुरु भई स्याङ्जाको वालिङ रामबाच्छासम्म ७२ किलोमिटर छ । यो पदमार्ग जुनसुकै मौसमको लागि पनि उपयुक्त मध्यपहाडी पदमार्ग हो ।

सन् २००० बाट खुलेकोले यसको नाम पनि मिलेनियम (सहस्राब्दी) राखिएको हो । पदयात्रा मार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छोएको छ । ६ रात ७ दिनमा ट्रेक पूरा गर्न सकिन्छ ।

मिलेनियम ट्रेक व्यवस्थापन समितिले सबै मौसममा पर्यटक भित्र्याउन विभिन्न गतिविधि गर्दै आएको छ । समितिले यसको प्रबद्र्धनात्मकको लागि मण्डला आईटी सोलुसनसँग हालै मात्र सम्झौता गरी यही २३ मंसिरदेखि ३० गतेसम्म घुमन्ते समूहलाई लगी भिडियोमार्फत प्रचारप्रसारमा लागेको हो ।

पदयात्रा पुग्ने पर्यटकले कोल्माकोट, भैंसेगौंडा, फारथुँ, बुढाकोटबाट एकसाथ धवलागिरी, अन्नपूर्ण हिमश्रृंखला, माछापुच्छ«े, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको दृश्यावलोकन गर्न पाउँछन् ।

पदयात्रा मार्गमा १७ गाउँमा सामुदायिक होमस्टे छन् । पर्यटकले होमस्टेमा स्थानीय परिकारको स्वाद लिन पाउँछन् ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० मा मिलेनियम ट्रेकमा मात्रै ५० हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्य समितिले लिएको छ ।

Leave a Reply