Mon. Dec 16th, 2019

कास्की– २ मा विद्याको विजयी

1 min read

पोखरा, १५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उमेदवार विद्या भट्टराई विजयी भएकी छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा ८ हजार ४ सय ३ मतान्तरले नेकपा उमेदवरा भट्टराई विजयी भएकी हुन् । उनले २४ हजार ३ सय ९४ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९ सय ९१ मत ल्याएका छन् ।

२०६४ र ०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा विजयी भएका रविन्द्रले २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २७ हजार २ सय ७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए । रविन्द्रका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र ल्याएका थिए।

त्यसैगरी समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२ मत ल्याएका छन् भने साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएकी छन् ।

कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।

विजयी उमेदवार भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

कास्की— २ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५ सय ६३ मत खसेको थियो ।

कुल ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्कीमा २० हजार ७ सय ८४ पुरुष र २४ हजार ७ सय ७९ महिलाले मतदान गरेका थिए ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्नी विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेललगायत २१ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।

तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की — २ बाट प्रतिनिधि सभाको एक सिट रिक्त भएको थियो ।

Leave a Reply