१३ औं सागको भव्य उद्घाटन

-


     मर्दी न्युज    
     मंसिर १६ गते २०७६ मा प्रकाशित


 SAG GAMES

काठमाडौं । दक्षिण एसियाको ओलम्पिक मानिने साग प्रतियोगिताको १३ औं संस्करण औपचारिक रुपमा दशरथ रंगशालामा भव्य उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी हुन् ।

उद्धघाटन कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेपका सदस्य सचिव रमेश सिलवाले सम्बोधन गरेका थिए ।

उद्घाटन बेला गरिएको आतिशबाजीले चिटिक्क रंगशाल क्षेत्र निरन्तर चम्किएको थियो। नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको छ । राष्ट्रपतिको सम्बोधनअघि सातै राष्ट्रका खेलाडीले मार्चपास गरेका थिए ।यस्तै कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले सागको दिप प्रज्वलन गरेका थिए । त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ खाएका थिए ।

७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालको सबैभन्दा धेरै ५ सय ९४ खेलाडी छन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटका अनुसार १ सय २१ जना स्वदेशी र १३ जना विदेशी प्रशिक्षक तथा ५२ जना व्यवस्थापकसमेत गरेर नेपाली टोली ७ सय ८० जनाको छ ।

यसपटक साग खेलअन्तर्गत पोखरामा आर्चरी, ब्याड्मिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल, ट्रायथलन, बिच भलिबल र भारोत्तोलनका प्रतिस्पर्धा हुनेछन् । यसको पहिलो संस्करण नेपालले सन् १९८४ मा आयोजना गरेको थियो भने १५ वर्षपछि १९९९ मा नेपालले सागको आठौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । यसअघि दुवै पटक नेपालले आयोजना गर्दा सम्पूर्ण खेल काठमाडौं केन्द्रित थियो ।