‘पुलिमराङ गाउँ व्यासको कर्णाली क्षेत्र !’

-


     मर्दी न्युज    
     पुस १६ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १६ पुस । संघीय सांसद कृष्णकुमार श्रेष्ठले शहीदहरुको गाउँ पुलिमराङ २०७६ सालको पुससम्म आइपुग्दासम्म अझै व्यास नगरपालिकाको कर्णाली क्षेत्र भनेर नाम लिइरहनुपर्ने बाध्यताप्रति आफू चिन्तित रहेको बताए । व्यास ८ पुलिमराङमा मंगलबार तमु ल्होसार कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
पुलिमराङबाट राजनीति गरेर देशका ठूलाठूला ओहोदामा पुगेर पनि विकासका गतिविधिबाट सधैं वञ्चित गराइएकोमा उनले आक्रोश पोखे । ‘राणा शासन फ्याँक्न यहाँका गुरुङहरुले बलिदान गर्नुपर्ने, तर सुविधाबाट यहाँका जनताहरु सधैं पछि पर्नुपर्ने ?’ उनले थपे— ‘२००७ सालमा धर्मध्वज, २०१७ सालपछि लालध्वज, हस्तवीर, सर्वसिङ्ग, भरत र शमशेर गुरुङले पञ्चायतीविरुद्ध दिएको प्राण यो गाउँलाई अहिलेको अवस्थामा पु¥याउन हो ? घनावस्ती भएको गाउँलाई उजाड बनाउन हो ?’

सांसद श्रेष्ठको इंगित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति थियो । पौडेलले यसगाउँबाट राजनीति सुरुवात गरेपनि पुलिमराङलाई बिर्सेको बताए । पाँच÷पाँच वर्षमा एक÷एक पटक भएपनि योजना तर्जुमा गरेको भए यस गाउँको मुहार फेरिसक्ने बताए ।

२०७४ सालको निर्वाचन पछि यो दुई वर्षको अवधिमा केही पनि गरेन, पहिलेकै सांसद जस्तो हो कि के हो भनेर यहाँहरुले सोच्नुभएको छ भने त्यो गलत भएको उनले बताए । आफूलाई कुनै लोभलालच नभएकोले पाँचवर्षभित्र यस गाउँको मुहार फेर्ने प्रतिबद्धता उनले गरे । उनले भने– ‘दुईवर्षमा सोचे जति काम गर्न नसकेपनि केही प्रगति भएको छ, व्यास नगरपालिकालाई १ सय ३८ करोड रुपैयाँ रकम विनियोजित गरिदिएको छ । यो तपाईंहरुकै लागि पनि हो ।’ शहीदहरुको स्मृति पार्कमा आफूले पार्टी र संसदमा रकम विनियोजनको लागि पहल गर्ने बताए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्लाको शान्ति सुरक्षामा आफू सधैं कटिबद्ध रहेको बताए । कहीँकतैबाट यहाँको विकास निर्माणलगायत शान्ति सुरक्षामा कुनै पनि बाधा अवरोध पु¥याएमा अराजक तत्वलाई कारवाही गर्न आफू तयार रहेको बताए ।
कार्यक्रममा व्यास नगरपालिका वडा नं. ८ का अध्यक्ष ओझराज पौडेल, ४ का वडाध्यक्ष विश्व न्यौपाने, नेकपा व्यास नगरपालिकाका अध्यक्ष श्रीराम कार्की, नेकपा प्रदेश कमिटी सदस्य अतेन्त्रकेसरी न्यौपाने, एकबहादुर गुरुङ, टेकबहादुर गुरुङलगायतले गाउँको विकासबारेमा चिन्ता व्यक्त गरेका थिए ।