Tue. Aug 11th, 2020

आज माघे संक्रान्ति पर्व धुमधाम मनाईंदै

Mardi News

पोखरा, १ माघ । चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । माघे संक्रान्तिको अवसरमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नेको भीड लाग्ने गर्दछ ।
ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।

त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

यस पर्वमा तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडी जस्ता परिकार खाने गरिन्छ । देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लाग्ने गर्दछ ।

मकर संक्रान्तिको अवसरमा चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा ठूलो मेला लाग्ने गर्दछ । देवघाटधाममा मेला भर्न देशका विभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट समेत तिर्थालुहरु आउने गर्छन् । त्यसैगरी गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा यस दिन भक्तजनको विशेष मेला लाग्ने गर्दछ ।

यस्तै थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी ६ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफल होइने थारु समुदायमा विश्वास छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ ।

Leave a Reply