Sun. Feb 23rd, 2020

६० करोडको लगानीमा होटल शारा बाई आइडिया संचालनमा

1 min read
Mardi News

पोखरा, ६ माघ । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सोमवारदेखि होटल शारा बाई आईडीया संचालनमा आएको छ । उक्त होटलको एक समारोहका बिच गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त सहितका अन्य एनआरएनहरुले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष पन्तले नेपालका होटलहरुमा धेरै कुरामा पूर्णता भएपनि सफाईमा धेरै चुकेको गुनासो गरे । नेपालमा बाहिरको पूँजी भित्राउदै देशको समृद्धि हासिल गर्न नयाँ प्रविधि भित्राउन आफुहरु कटिबद्ध भएको उनले जनाए ।

होटल शारा बाई आइडियाले विभिन्न पाँच तहमा विभाजिन गरिएको रुममा अधिकतम उक्त होटलको रुमको शुल्क ५ सय ५५ अमेरीकी डलर नेपाली करिब ६५ हजार निर्धारण गरिएको सञ्चालक मध्यका एक चक्रपाणी सुवेदीले बताए । स्ट्याण्डर, डिलक्स, सुपर डिलक्स, विशिष्ट भिआइपि, भिभिआइपि सहितको रुमहरु ग्राहकहरुको लागि रहेको सञ्चालक सुवेदीले बताए । उनका अनुसार न्यूनतम ४१ अमेरिकी डलर अर्थात ४ हजार ५ सय देखि ६५ हजार मूल्य बराबरका रुमहरु उपलब्ध छन् । भूइ तलासहितको ८ तले पक्की भवनमा करिब ६० करोड लगानी भएको संचालक सुवेदीले बताए । सञ्चालनमा आएको होटलमा हाल करिब ५० भन्दा बढीले रोजगार पाएका छन् ।

सुवेदीका अनुसार उक्त होटलमा ६० वटा रुम रहेकाछन् । साढे दुई रोपनीमा फैलिएको उक्त होटलमा स्मार्ट प्लाईनेटको प्रयोग, आधुनिक मोडलका लिफ्ट, किचन लिफ्ट, मिनी स्विमिङपुल, स्पा, साउना, सेमिनार तथा मिटिङ हल, रेष्टुरेण्ट, तातोपानी कुण्ड, रुफ टफ रेष्टुरेण्ट तथा भ्यू टावर लगायतका सेवा समेत रहेको सञ्चालक सुवेदीले बताए । ५ वर्षीय योजनामा अघि बढेको उक्त प्रोजेक्ट २ महिना अघि नै सकिएको उनले जनाए । उक्त होटलको मुख्य लगानी कर्ता भने सुवेदीकी श्रीमती सहारा सुवेदी हुन् ।

सुवेदी परिवार सहित एन.आर.एन र आइडिया फर नेपाल तथा आइडिया फर वल्र्डको संयुक्त लगानीमा उक्त होटल संचालनमा आएको हो । उक्त होटल उद्घाटनको अवसरमा विशेष गरी १० देखि ३० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । चीन, भारत, बंगलादेश, बर्मा, थाइल्याण्ड, जापान, अमेरिका सहितका युरोपियन मुलुकका पर्यटक ६० प्रतिशत र बाँकी ४० प्रतिशत नेपाली लक्षित गरिएको उनले जनाए । उक्त होटलमा आपतकालिन ढोकाहरु राखिएको अर्को विशेषता रहेको बताउदै संचालक सुवेदीले होटलमा सरसफाईमा विशेष ध्यान दिने जनाए ।

पोखरा महानगरपालिकाले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा हालसम्म दुई तलासम्मको नक्सा पास अनुमति दिएको पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले बताए ।

उद्घाटन गरिएको उक्त होटलले पोखरा महानगरपालिकाबाट बाँकी ५ तलाको नक्सा पास लिएको छैन् । पोखरामा मापदण्ड विपरित किन होटलमा लगानी गर्नु भएको भन्ने प्रश्नमा सुवेदीले पार्टीप्रति आक्रोस पोखेका छन् । उनले भने— ‘हाम्रा नेता नेकपा, काँग्रेस, समाजवादी, फोरमबाट आए पनि उहाँहरुले सपना देखाउदा सिंगापुर, जापान, अमेरिका, युरोपको विकासको देखाउने तर जमिनको योग्यता, आवश्यकता, लगानी गर्नसक्ने अवस्थामा छन् भने फेरी नेपालमा किन दुई तले एक तले तीन तले भवन भनेर रोक्ने ?’ महानगरबाट भुँई तलादेखि तीन तलासम्मको भवन सम्पन्नताको मात्र प्रमाण पत्र लिएको उनले बताए । उक्त होटल हाल ८ तले रहेको छ भने टावर सहित जोड्दा ११ तले पुग्छ ।

Leave a Reply