पोखरामा अन्तर्राष्ट्रिय हाप्कीडो सेमिनार सुरु

-


     मर्दी न्युज    
     माघ ११ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, ११ माघ । प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार शनिवार पोखरामा सुरु भएको छ । दुई दिनसम्म पोेखरा रंगशालामा अवस्थित कभर्डहलमा चल्ने सेमिनारको सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथि पुनले गण्डकी प्रदेशमा यस स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुनु प्रदेशका लागि गर्वको विषय भएको बताइन् ।

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा भएको सेमिनारको उद्घाटन समारोहमा विशिष्ट ग्रान्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका हेडमास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो पनि उपस्थित थिए । यी चार जना विदेशी प्रशिक्षकसंगै सिनियर मास्टर नेपालका कालीबहादुर घर्ती मगरले खेलाडीहरुलाई प्रशिक्षण दिने छन् ।

समारोहमा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल मार्सल आर्ट्स हाप्कीडो संघका सल्लाहकार नविन रोका मगर, संघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष एमवी आस्था र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले सेमिनारको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा परिष्दका पूर्व सदस्य नारायण पौडेल, सेनाका पश्चिम पृतना हेड क्वार्टरका पृतनापति मेजर जनरल गोकुल भण्डारी, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी बल मुक्तीनाथ बाहीनीका बाहीनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कविन्द्रमान श्रेष्ठ, सुरक्षा अधिकारी र खेल व्यक्तित्वको उपस्थिति थियो ।

ग्रान्डमास्टर लीले नेपाली हाप्कीडोको विकास र विस्तारका लागि आफ्नो सधै सहयोग रहने बताए । सल्लाहकार नविन रोका मगरले सरकारले गर्नुपर्ने काम हाप्कीडो संघले गरेको प्रतिक्रिया व्यक्त गरे । आयोजक कमिटीका अध्यक्ष कालीबहादुर घर्ती मगरले सबैको सहयोगले नेपाली हाप्कीडोले एक पछि अर्को फड्को मार्दै गएका कारण आगामी दिनमा अझ माथिल्लो फड्को मार्ने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा कास्की, भक्तपुर, बौद्ध, काठमाडौं मुलपानी र नेपाल आर्मीका हाप्कीडो खेलाडीले मार्सल आर्ट्स तथा सेल्फ डिफेन्ससम्बन्धी डेमोस्ट्रेसन गरेका थिए । कार्यक्रम शैल्ताज कुवँरले सञ्चालन गरेकी थिइन् ।

सेमिनारमा ६ सय खेलाडीको सहभागिता रहेको छ । गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसीएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको सहयोगमा आयोजीत दुई दिने सेमिनारले खेललाई अन्तर्राष्ट्रियस्तरमा समेत परिचित गराउने विश्वास गरिएको छ ।

छोटो समयमा थुप्रै दक्ष प्राविधिक तयार पार्दै सफलता पाउदै गरेको यो एसोसीएसनले नियमित प्रशिक्षण दिदै आइरहेको छ । यस सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्वपूर्ण हुने विश्वास लीएको आयोजक कमिटीले जनाएको छ ।