Wed. Jun 3rd, 2020

भ्रष्टाचारमा डुबेकोले देश माथि लाग्न सकेनः प्रमुख शेरचन

पोखरा, ११ फागुन । नेपालले विज्ञान र प्रविधिलाई प्रयोग गर्न सके विकसित मुलुकको दाँजोमा पुग्न सकिने गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बताए । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजित क्यान मेलाको आइतबार उद्घाटन गर्दै प्रमुख शेरचनले सो कुरा बताएको हो ।

११ औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन सम्बोधनमा प्रमुख शेरचनले देशको पछिल्लो परिणामले नैतिकहीन र अनुशासनहीन बन्दै गएको र भ्रष्टाचारमा डुबेकोले देश माथि लाग्न नसकेको बताए । उनले भने– ‘भाषणमा हामी भ्रष्टचार गर्दैनौं भन्ने एक पछि अर्को काण्डहरु देखिदै जाने भयो भने हाम्रो मुलुक भन्दा धेरै तल रहेको भन्दा पनि तल जाने छ ।’ पछिल्ला घटनाहरुले नैतिकहीन बन्दै गएको बताउँदै यस खाले घटनाले राष्ट्रको शिर झुक्ने अवस्था आएको बताए ।

नेपाल अझै पनि गरिबीको रेखामुनिबाट मुक्त हुन नसकेको उनले बताए । ‘सहरबजारका केही नगन्य सुकिलामुकिला होइन, ग्रामीण क्षेत्रमा गएर हेर्यौं भने त्यहाँ कोदोको ढिंडो खान पनि मुस्किल छ,’ उनले भने– ‘हजारौं हजार पहाडी जनजीवनहरु अति कष्टकर र दुःखदायी छ, वर्षैंदेखि कपडा फेर्न सक्ने अवस्था छैन ।’

विगतका राज्य व्यवस्थाका कारण विज्ञान र प्रविधिमा ध्यान नदिएकै कारण पछाडि परेको उनले बताए । ‘हामीभन्दा एक वर्षअगाडि स्वतन्त्रता प्राप्त गरेको मुलुक चीन र हामीभन्दा झण्डै ३ वर्ष अघि स्वतन्त्रता पाएको दक्षिणको मुलुक हामीभन्दा धेरै विकसित अवस्थामा पुगेको छ ।’ उनले भने– छिमेकी मुलुक चीनमा गरेको प्रविधिले विश्वमा हलचल मच्चाएको छ, संसारको झण्डै आधा जनसंख्या मुलुकले कसरी व्यवस्थापन गर्न सक्यो, यसबाट पाठ सिक्न जरुरी छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको कार्यक्रममा क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारीले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले इन्फोटेक आयोजना गरिएको बताए । ‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको उनले बताए ।
इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइसिटि वक्तित्व प्रतियोगिता, विद्यालय स्तरीय जिल्ला तथा प्रदेश स्तरीय आइटी क्विज कन्टेस्ट आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

Leave a Reply