संकटालाई हराउँदै त्रिभुवन आर्मी सेमीफाइनलमा

-


     मर्दी न्युज    
     फागुन २७ गते २०७६ मा प्रकाशित


पोखरा । विभागिय टीम त्रिभुवन आर्मी क्लबले संकटा विरुद्ध ३–० को जित निकाल्दै पोखरामा जारी आहा ! रारा गोल्ड कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ’ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

खेलको १४ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई पहिलो गोल दिलाए । खेलको दोस्रो हाफमा आर्मीले थप दुई गोल गर्यो । ७१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिलाए । सुदिल राईको स्थानमा ६६ औै मिनेटमा मैदान छिरेका बिवेक राईले टिमका लागि तेश्रो गोल थपे । खेलको ७५ औं मिनेटमा विवेकले गोल गर्दै आर्मीलाई ३–० को सहज जित दिलाएको हो ।

यता संकटाले खेलको पहिलो हाफको १४ औं मिनेटमा लक्ष्मण रुचालको फ्रि किक प्रहार गोल मिस हुँदा गोल गर्नबाट चुकेको थियो भने ४१ औं मिनेटमा ड्याडी अम्बाले डि बक्सबाट हानेको बल गोल गर्न चुके ।

अब आर्मीले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।

अर्को सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच खेल हुनेछ । थ्री स्टार र पुलिसबीचको खेल बुधबार हुनेछ ।