Wed. Jun 3rd, 2020

यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध

पोखरा, १४ वैशाख । नेपालका हिमाली जिल्लाहरुमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बाको सङ्कलन तथा ओसारपसारमा यो वर्ष धेरैजसो जिल्लाहरुले प्रतिबन्ध लगाएका छन । नेपालमा समुन्द्र सतहबाट ३५ सय मिटरदेखि ४५ सय मिटरको उचाईमा यार्सागुम्बा पाइने भएता पनि तुलनात्मक रूपमा सुक्खा तथा वृष्टिछाया रहेका जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा पाइने यार्सागुम्बा उच्चगुणस्तरको हुन्छ ।

यी जिल्लाहरुमा सोही जिल्ला तथा अन्य पहाडी जिल्लाका दशौं हजार मानिसहरू यतिखेर यार्सागुम्बा सङ्गकनको लागि विभिन्न लेक तथा पाटनहरुमा पुग्दछन र अधिकतम दुई महिना (बैशाख र जेठ) बिताउछन । छिमेकी देश चीन तथा अरु एशियाली मुलुकहरुमा स्वास्थ वर्धक (टनिक) तथा फोक्सो र मृगौलालाई स्वस्थ राख्ने औषधिको रूपमा प्रयोग गरिने हुँदा यो जडिबुटीको उच्च माग हुने गर्दछ ।

सुनजस्तै महँगो हुने भएकोले पश्चिमाहरुले ‘हिमालयन गोल्ड’ उपनामले चिन्दछन । विश्वव्यापी महामारी कोरोना भाइरसको कारण नेपाल पनि एकमहिना भन्दा लामो बन्दाबन्दीको मारमा परेको छ र अझै यो अवस्था कति लम्बिने हो आजका दिनसम्म कसैले भन्न सक्ने अवस्था छैन ।

यसै परिस्थितिलाई मध्यनजर गर्दै नेपालको सबैभन्दा ठूलो जिल्ला र सबैभन्दा राम्रो गुणस्तरको यार्सागुम्बा पाइने डोल्पामा यो वर्ष सङ्कलन तथा ओसारपसारमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष सुरेश सुनारको अध्यक्षतामा यही वैशाख ९ गते बसेको बैठकले सो निर्णय गरेको जनाएको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको इश्वरी बक्स गुल्मले थप जनशक्ति तथा गस्ती खटाउने र यस कार्यमा सबैको सहयोगको अपेक्षा गरेको शे फोकसुण्डो राष्ट्रिय निकुञ्ज का का.मु प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनु भएको छ ।

पर्यावरणीय समस्या पनि उत्तिकैः
मौसममा आधारित परम्परागत खेतिपाती, उत्पादनमा ह्रास, प्राकृतिक चुनौती (बाढी, पहिरो, अतिवृष्टी तथा अनावृष्टी) का कारण पहाडी क्षेत्रका विपन्न नागरिकहरुको लागि यार्सागुम्बा विगत डेढ दशकदेखि एउटा भरपर्दो वैकल्पिक आयआर्जनको श्रोत बनेको थियो ।

जाजरकोट, रुकुम लगायतका जिल्लाहरुबाट स्कुलनै बन्द गरि सम्पूर्ण गाउँबासीहरु आफ्नो चौपायाहरु समेत लिएर पाटनरलेकतर्फ उकालो लाग्ने गरेको कुरा विभिन्न सञ्चारमाध्यम बाट सुनेकै हो देखेकै हो । सम्बन्धित पाटनमै साना ठूला खरिदकर्ताहरु पुग्ने र हाताहाती नगद दिनेहुँदा अथवा अर्को शब्दमा भन्नुपर्दा बजारको समस्या नभएकोले बालबालिकादेखि बृद्धबृद्धा समेत ताँतीलागेर जाने गर्दछन ।

अकल्पनीय उचाइमा लेक लागेर, जाडोको कारण, हिउँपहिरोमा परेर, खोलातर्दा हुने भवितव्य लगायतले वार्षिक रूपमा थुप्रैको दुःखद रूपमा ज्यान जान्छ । सम्बन्धित राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र र गाउँपालिका आदिमा पुर्जी स्वरुप निश्चित रकम तिरेपछि हजारौं व्यक्तिहरु निर्वाध रूपमा प्रवेश गर्दछन ।

बोक्न सजिलो हुने र हल्का हुने हुनाले खाना तथा खाजाका लागि चाउचाउ, विस्कुट लगायतका पत्रु खाद्यान्न र प्लास्टिकमा प्याक भएको चिजबिज बोकेर जान्छन । तसर्थ अहिले पाटनरलेकहरु प्लास्टिकजन्य पÞmोहोर, पुरानो जुत्ताहरु, थोत्रा कपडाको डङ्गुर लगायतको चपेटामा परेका छन । धेरै जसो यार्सागुम्बा सङकलकहरुले शरीरमा लगाउने कपडा कम लाने हुँदा जाडोबाट जोगिनको लागि रातभर दुर्लभ धुपी, लालिगुराँस जस्ता हुर्किन लामो समय लाग्ने बनस्पति र रुखहरु काँचो काटेर रातभरि आगो तापेर बस्ने गर्दछन । तरकारीको रूपमा बन्यजन्तुको अव्यवस्थित शिकार गरेर खाने अथवा पासोमा पार्ने गर्दछन । दुर्लभ डाँफे, मुनाल, चिर कालिज, मृग, कस्तुरी, घोरलको संख्या दिन प्रतिदिन घटिरहेको छन । खोला नाला तथा पानीको श्रोतहरु दिसा पिसाब र अन्य फोहोर उत्सर्जनको कारण अत्यन्तै प्रदुषित भएका छन ।

सामाजिक समस्या पनि उत्तिकैः
भाग्यमानी र आखा तेजिलो (यार्सागुम्बा चिन्ने) ले सिजन मै औसत दुई देखि तीन लाख रुपैयाँसम्म प्रतिव्यक्ति (ठाउँ अनुसार फरक हुन सक्ने) कमाउन सक्ने भनेको नेपालको सन्दर्भमा ठूलो रकम हो । राज्यले यसको राजस्वमार्फत कति उठाउन सक्यो त्यो अनुसन्धानको विषय हो तर हजारौं परिवारको आर्थिक कायापलट गर्न यार्सागुम्बा बरदान सिद्ध भएको छ ।

कमाईको ठूलो अंश घरखर्च गर्न, ऋण तिर्न खर्च हुन्छ । धेरैजसो युवाहरु यार्साको पैसाले फेशनेबल कपडा, जुत्ता, मोबाइल फोन आदि किन्नमा खर्च गर्दछन । कतिपयले लागुपदार्थ तथा शिलबन्दी मदिरा खानको लागि प्रयोग गरेको समेत पाइएको छ । बचत गर्ने बानी नहुनाले आर्थिक दुस्चक्रको जालो तोड्न सकिएको छैन । कतिपय सङ्कलकहरु आफुले यार्सागुम्बा नभेटेपछि हुलहुज्जत गरि निर्धाहरुलाई पिटेर यार्सा लुट्न समेत पछि पर्दैनन् । तदर्थ संघीय सरकारले नै स्पष्ट यार्सागुम्बा नीति ल्याउन अब ढिला गर्नहुदैन । अन्यथा सीमित व्यापारी र तस्करलाई बाहेक यार्सागुम्बा हात्ती आयो हात्ती फुस्सा उखान जस्तै हुने निश्चित छ ।

अहिलेको लकडाउन अर्थात् बन्दाबन्दीले ति सुन्दर शान्त लेक र पाटनहरुलाई थोरै राहत दिएकोछ ।

Leave a Reply