कोरोना प्रभावितलाई दुई प्रतिशत छुट दिन राष्ट्र बैंकको निर्देशन

-


     मर्दी न्युज    
     वैशाख १६ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै कोरोना प्रभावित क्षेत्रहरुका लागि वित्तिय संस्थाहरुलाई ब्याजमा २ प्रतिशत छुट दिन कार्यकारी निर्देशक देवकुमार ढकालले निर्देशन दिएको हो ।

तर यो सहुलियत सबै ऋणीहरुले भने पाउने छैनन् । राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्ने उल्लेख छ । खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, सोप एण्ड केमिकल्स, औषधी बिक्रेता, इन्टरनेट, टेलिभिजन, दूरसञ्चार प्रदायक, उद्योगले यो सुविधा पाउने छैनन् ।

होटल, रेष्टुरेन्ट, ट्रेकिङलगायतका पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले मात्र यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ ।

कोरोना प्रभावित क्षेत्रहरुका लागि कर्जा लगानी गरेका लघुवित्त वित्तीय संस्थाहरुले भने ३ प्रतिशत ब्याज छुट दिनु पर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्तहरुलाई ३ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको हो ।