Wed. Jun 3rd, 2020

लकडाउन पछिको पर्यटन र पर्वतीय पर्यटन मजदुरको अवस्था

फाइल तस्विर

विश्वका दुईसय भन्दाबढी देशहरु कोरोना भाइरस (कोभिड(१९) को महामारीमा परेका छन । विश्वकै अर्थतन्त्रलाई चलायमान बनाउने पर्यटन उद्योग ठप्पप्राय छ । अन्तर्राष्ट्रिय उडान तथा यातायात सेवा डेढमहिनादेखि बन्द छन । कोरोनाको सुरुवात भएको स्थान चीनको वुहान लगायत युरोपका केहि देशहरुमा संक्रमण दर घट्दै गएको कारण अब यो महामारी नियन्त्रणमा आउनेतर्फ आशावादी भएतापनि ठ्याक्कै नियन्त्रणमा आएर दिन चर्या नियमित कहिले हुन्छ भनिहाल्न सकिने स्थिति छैन ।

नेपालको अर्थमन्त्रीले देशको जिडिपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै भन्नु भएतापनि सेवाक्षेत्रको योगदान समेत जोड्दा निकै बढी योगदान देखिन आउछ ।

नेपालको पर्यटन व्यवसायको सुरुवात नै पर्वतीय पर्यटनबाट भएकोमा दुईमत नहोला । ट्रेकिङ तथा पर्वतारोहण नै नेपालको पर्वतीय पर्यटनको मेरुदण्डहो । अहिलेकै स्थितिमा पर्यटन आश्रित जनशक्ति कम्तीमा एक वर्ष (आउनेसाल यही सिजनसम्म) बढीमा दुईवर्ष बेरोजगार हुने निश्चितै छ । काठमाडौ लगायत अरु ठाउँका पाँचतारे होटलहरु असोजसम्म बन्दगर्ने कुराले पनि यही संकेत गर्दछ । तसर्थ पर्वतीय पर्यटन क्षेत्रको जनशक्तिलाई बैकल्पिक रोजगारीको व्यवस्था गर्न अपरिहार्य छ ।

कति छ पर्वतीय पर्यटनमा जनशक्ति ?
(माउन्टेन लिडर, ट्रेकिङ गाइड–पदयात्रा पथ (प्रदर्शक), माउन्टेन क्लाइम्बिङ्ग गाइड, आरोहण सहयोगी (क्लाइम्बिङ्ग शेर्पा), ट्रेकिङ सहयोगी (शेर्पा), भान्से (कुक), भान्सा सहयोगी (किचेन ब्वाई), भरिया तथा भरिया नाइके, झोप्के तथा खच्चड खेद्ने व्यक्तिहरु नै यसक्षेत्रका जनशक्तिहरु हुन । ठूलो संख्याको जनशक्तिले नियुक्ति–पत्र बेगरनै काम गरिरहेकोले ठ्याक्कै कतिजना यो क्षेत्रमा छन भनेर भन्नसकिने स्थिति छैन । ट्रेड युनियन तथा मजदुर संगठनले औपचारिक संख्या अध्यावधिक नगर्ने, उस्तैपरे अतिरञ्जित गरिदिने, रोजगारदाताले कर लगायत विविध झन्झटका कारणबस सकभर ठेक्का प्रथाबाट चलाउने (पटके जनशक्तिको प्रयोग गर्ने) र अति आवश्यक परे अस्थायी नियुक्ति दिएर काम लगाउने कारणले गर्दा सरकार, रोजगारदाता, मजदुर युनियन कसैसँग पनि वास्तविक डाटा छैन । माउन्टेन तथा ट्रेकिङ गाइडहरु लगभग सबैले ट्रेकिङ गाइड लाइसेन्स बोक्ने कारण मोटामोटी संख्या भने निकाल्न सकिन्छ ।

हालसम्म सरकारका आधिकारिक निकायबाट जारी २२ हजार ५०० लाइसेन्सबाहक मध्ये मृत्यु, विदेश पलायन, पेशा परिवर्तन आदिको कारण देशभर लगभग बाह्र हजार गाइडहरु अझैपनि सक्रियरूपमा काम गरेको अनुमान गर्न सकिन्छ । एकजना गाइडमार्फत कुक, भरिया, सहयोगीसहित औसतमा ५ जनाले काम पाउने हुनाले साठीदेखि सत्तरीहजार जनशक्ति यसक्षेत्रमा रहेको सहजै अनुमान गर्न सकिन्छ ।

लकडाउनको समाप्तिपछि रोजगारीका विकल्प के के हुन सक्छन् ?
माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्युले नै बैकल्पिक रोजगारिको व्यवस्था गर्नेवचन दिनु भएको कुरा एकदम सकारात्मक भएपनि विकल्पमा पर्याप्त छलफल भएकोछैन । तसर्थ चर्चामा रहेका केहि विकल्पहरुमा छलफल गरौं ।


१. कृषिः पर्वतीय पर्यटनलाई अहिलेसम्म मौसममा आधारित (सिजनल) व्यवसायको रूपमा हेरिन्छ । न्युनतम चारदेखि अधिकतम छ महिना काम गरेर त्यही कमाइले वर्षदिनको खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ । असार –भदौ अनि मङ्सिर – माघ महिना पर्वतीय पर्यटनमा खासै काम हुदैन । त्यसै पनि पहाडी तथा हिमाली भेगका नागरिकहरु परम्परागत रूपमा कृषिमै आश्रीत हुन्छ । तसर्थ कुनै न कुनैरूपमा थोरैभए पनि कृषि तथा पशुपालनमा ज्ञान नभएको व्यक्तिछैन । इच्छाशक्ति, पुँजी इत्यादि हेरेर एकल वा सामुहिक खेतीपाती, फलफूल, पशुपालन र मत्स्यपालनमा अनुदान तथा बजार ग्यारेन्टीसहित प्रोत्साहन गर्न सकिन्छ । पर्यटन व्यवसाय पुरानै लयमा फर्केपछि कतिपय स्थानका कृषि फर्महरुलाई कृषि–पर्यटन र फार्म हाउसको रूपमा विकास गर्न सकिन्छ ।


२. हिमाल तथा पदयात्रा मार्गको सरसफाइः सगरमाथा लगायत व्यस्त र महत्त्वपूर्ण हिमालहरुमा हजारौं किलो फोहोर थुप्रीएको छ । प्लास्टिकजन्य फाहोर, पुरानो डोरीहरु, अक्सिजन सिलिन्डर, मानव मलमुत्र लगायतको कारण हाम्रा सुन्दर हिमालहरु अत्यन्तै प्रदुषित बनेका छन । नेपाल पर्वतारोहण संघको अगुवाईमा उचित तलब र ज्याला दिएर हिमाल तथा पदमार्ग सरसफाइ गर्दा रोजगारी सृजना हुनुको साथै अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश जान्छ ।


३. नयाँ पदयात्रा मार्गको निर्माणः ट्रेकिङ तथा पर्वतारोहण नेपालको मौलिक पर्यटन प्रोडक्ट हो । बीसौं वर्ष लगाएर स्थापित पदमार्ग तथा अन्य संरचनाहरु विगत चार पाँच वर्षको अवधिमा मोटर बाटो, जलविद्युत परियोजना लगायतबाट ध्वस्त र छिन्नभिन्न भएका छन । यहिबेला (दुइवर्ष भित्र) केहि महत्त्वपूर्ण निर्माण गर्न सकिन्छ । यसै गण्डकी प्रदेशभित्र निर्माण गर्न सकिने (क) सिकलेस– कोरि– दुधपोखरी – नामुन भञ्ज्याङ् –तिमाङ्ग ट्रेकिङ पदमार्ग (ख) चिमखोला – कालोपानी पदमार्ग (ग) कोतो – नाररफु – तेरिला पास– मुस्ताङ (घ) छोमरोङ्ग (हिडेन लेक – दोबाटे – खोप्रा (नारच्याङ्ग (ङ ) करुवागाउँ – पिपर – खोर्चोन – खुमाइडाँडा– ओदानेडाडा – खोराकोमुख बजार ।


ट्रेकिङ तथा पर्वतारोहणमा संलग्न एक तहको जनशक्ति निर्माण कार्यमा जानसक्छ । टान, एनएमए र पर्यटन बोर्डले यसमा उचित अध्ययन गरेर विस्तृत विवरण निकाल्न सक्छन् । यदि कोभिड–१९को असर पर्यटन क्षेत्रमा लामो समय रहेमा राष्ट्रिय गौरवका आयोजना निर्माणमा पनि पर्यटन मजदुरहरु परिचालन गर्न सकिन्छ ।

Leave a Reply