कोही भोकभोकै मर्न नपर्ने ठाउँ

-


     मर्दी न्युज    
     वैशाख ३० गते २०७७ मा प्रकाशित


तस्विरहरुः गङ्गा घले

पोखरा, वैशाख ३० गते । पोखरा महानगरपालिका वडा नं. ६ को लेकसाइड (बैदाम) पर्यटकीय हिसाबले अन्तर्राष्ट्रिय महत्त्वको ठाउँ हो । प्रतिब्यक्ति आय अनि नागरिकहरुको जीवनस्तरको गुणस्तरको हिसाबले काठमाडौंको ठमेल, दरबारमार्ग, सोलुखुम्बुको नाम्चेबजार जस्ता ठाउँहरुको तुलनामा यो ठाउँ पनि अवश्य पर्नजान्छ । धनी अनि वैभवशाली ठाउँमा गरिब अनि बिपन्न नागरिकहरुलाई हेर्ने दृष्टिकोण अलिफरक हुन्छ, कतिपय ठाउँमा हेयको नजरबाट समेत हेरिन्छ ।

पोखराको लेकसाइडमा भने अलिफरक दृश्य देख्नपाइन्छ । कोरोना भाइरस सृजित महामारीबाट समग्र विश्व र नेपालपनि अछुतो छैन । आज बन्दाबन्दी को ५०औ दिन आइपुग्दा निर्धन, बिपन्न र दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुको घरमा चुल्हो बल्न छाडेको अवस्था छ ।

यसै अवस्थालाई मध्यनजर गर्दै लेकसाइडका जनप्रतिनिधि, समाजसेवी, आमासमुहहरुको अग्रसरतामा तथा मनकारीहरुको आर्थिक सहयोगमा निःशुल्क खाना खाने ब्यबस्था गरिएको छ ।

आजबिहान यो पङ्तिकार डिहिकोपाटन, पंधेरानेर फेवा क्याटरिङ्गको भान्सामा पुग्दा आमा समुह तथा युवा स्वयंसेवकहरु खाना पकाउन, प्याकिङ्ग गर्न तथा बाड्न ब्यस्त थिए । खाना लैजानपर्ने परिवारहरु लाइपनि केहि कर्तव्यबोध होस भनी डिभाइडरमा रोपिएको दुबो गोड्न लगाइएको र भोलिबिहान् आठबजे फेवाताल सरसफाइमा आउन आग्रह गरिएको वडा नं ६ का वडा सदस्य हरिकृष्ण पहारिले बताउनुभयो ।

आवश्यकता अनुसार घरमै खाना पुर्याइएको अर्का समाजसेवी तथा सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी जिल्ला समन्वय समितिका सदस्य तुलसी दाहालले बताउनुभयो । समाजसेवी सुर्यनाथ पहारीको पहलमा स्वतस्फूर्त सहयोग जुटिरहेको र जेठ ५ गतेसम्म यो मानवीय कार्यले निरन्तरता पाउने स्थानीय समाजसेवी दुर्गा तिमिल्सिनाले बताउनुभयो ।