Wed. Aug 5th, 2020

क्होलको पुनः उत्खनन् गर्न करिब ८८ लाख लागत लाग्ने, बजेट विनियोजनका लागि प्रदेश सरकारसँग माग

पोखरा । गुरुङहरुको प्राचीन थलो क्होल पुनः उत्खनन्का लागि करिब ८८ लाख लागत लाग्ने अनुमान अनुसन्धान विज्ञले बताएको छ । सन् २००० अप्रिलमा गरेका पहिलो उत्खनन् कर्ता क्याम्ब्रिज विश्वविद्यालयका आक्र्योलोजिकल विभागका प्रमुख क्रिस्टोफर इभानले क्होल उत्खनन्को लागि ५७ हजार ५८० पाउण्ड अर्थात् करिब ८८ लाख रुपैयाँ लाग्ने जनाएको हो ।

गत फागुन २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग तत्कालिन क्होल उत्खनन्को को–डाइरेक्टरको रुपमा रहेका तमु प्ये ल्हु संघका संस्थापक सदस्य यारजङ क्रोम्छें गुरुङले भेट गरी पुनः उत्खनन् कार्यलाई अगाडि बढाउनको लागि बजेट विनियोजन गरिदिन माग गरेका थिए । सोही अनुरुप बेलायतमा कर्मथलो बनाउँदै आएका उनले बेलायत फर्केलगतै क्याम्ब्रिज विश्वविद्यालयका विभागका प्रमुख क्रिस्टोफरसँग भेट गरी उत्खनन् कार्यलाई निरन्तरता दिन छलफल गरेका थिए । सोही बमोजिम इभानले तयार पारेको लागत इष्टिमेटअनुसार ५७ हजार ५८० पाउण्ड लाग्ने भएको हो ।

उत्खनन्को लागि म्याकडोनाल्ड इन्स्टिच्युट फर आक्र्योलोजिकल रिसर्चबाट ५ हजार पाउण्ड र सोसाइटी फर एन्टीक्वेरिज लण्डनबाट २ हजार गरी ७ हजार पाउण्ड उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ ।

बाँकी उत्खनन् कार्यलाई चाहिने आवश्यक रकमको लागि पहल गर्न गुरुङले तमु प्ये ल्हु संघलाई प्रस्ताव गरिसकेको छ । पहिलो उत्खनन् कार्य पनि तमु प्ये ल्हु संघको समन्वयमा क्याम्ब्रिज विश्वविद्यालय तथा नेपालको पुरातत्व विभागले गरेको थियो ।

त्यहाँ प्राप्त कोइलाको आधारमा एक हजारदेखि १३ सय वर्ष पुरानो प्रमाणित भएको थियो । गुरुङहरु क्होलामा आएको १३ सय वर्ष पुरानो भएको तथ्याङ्कप्रति यारजङ सन्तुष्ट छैनन् । देशमा चर्किदै गएको जनयुद्धका कारण उत्खनन कार्यलाई बीचैमा स्थगित गरी अनुसन्धानकर्ताहरु फर्किएका थिए । त्यसै गरी अनुसन्धान विज्ञ इभान पनि यस मिति प्रति सन्तुष्ट नभएका कारण पुनः उत्खनन् गर्ने त्यतिबेला नै बाचा गरेका थिए । सोही अनुसार अहिले कार्य अगाडि बढाउन खोजिएको गुरुङले बताए ।

क्होल उत्खनन्का लागि चिक्रेँ, पक्रेँ, होमा ङ्हैरु ङ्ह्यो, फैदु न्हे, चोम्रो, नौदी, तस खोब, प्हन्ग छ्योप, च्ह्यम्स्यो उ, कन्यकोँलगायतका दर्जनभन्दा बढी ठाउँहरुमध्ये एक छनौट गरिने गुरुङले बताए ।

क्होल लमजुङ हिमालको दक्षिण, पानी ढलो मादी नदीको मुहानको पूर्वपट्टि दूधपोखरीदेखि दक्षिण–पश्चिममा रहेको एउटा प्राचीन खण्डहरको रुपमा अवस्थित छ । क्होललाई क्होल ट्होँ, क्होल सोँप्रेँ ट्होँ र क्होल सोँथरये ट्होँ भनिन्छ । अघि क्होलमा तीनवटा ठूल्ठूला गुरुङ बस्ती थिए । त्यसकारण उक्त बस्तीलाई क्होल सोँप्रेँ ट्हाँे र क्होल सोँथरये ट्होँ भनेको हो । यो क्होल सोँप्रेँ ट्होँ गुरुङहरूको प्राचीन थलो हो । यही क्होल सोँप्रेँ ट्होँबाट नै गुरुङहरू शाखावन्दी भएर यत्रतत्र लागेका इतिहास छ ।

क्होल गुरुङहरुको लागि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा सामाजिक हिसाबले अति महत्वपूर्ण स्थल पनि हो । क्होलमा आएपछि केही थीति बसालेको ऐतिहासिक तथ्य पनि रहेको छ । गुरुङहरुले क्होललाई आस्थाको केन्द्रविन्दु एवम् पवित्र धार्मिक केन्द्रको रुपमा मान्ने गरिन्छ ।

तमु प्ये ल्हु संघको पहल
तमु प्ये ल्हु संघका महासचिव हर्क गुरुङका अनुसार क्होललाई आर्थिक वर्ष २०७७/७८ मा उत्खनन् गर्ने योजनासहित लागि परेको बताएका छन् । उनले उत्खनन्को लागि चाहिने आवश्यक रकम जुटाउन संघले प्रदेश तथा स्थानीय सरकारलाई गुहारेका छन् ।

गण्डकी प्रदेश सरकारलाई क्होला उत्खनन्को लागि बजेट विनियोजन गरिदिन माग गरेको पनि उनले बताए । त्यसैगरी दुई स्थानीय तहलाई पनि सहयोगको लागि पहल भइरहेको जानकारी दिए । त्यस्तै विदेशस्थित संघका शाखाहरुलाई पनि उत्खनन्को लागि अपुग हुने आर्थिकको लागि सहयोग जुटाउन कुराकानी भइरहेको बताएका छन् ।

विश्वसम्पदा सूचिमा सूचिकृत गर्न संसदमा माग
गुरुङहरुको ऐतिहासिक थलो क्होललाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल गर्न संघीय संसदमा सांसद खगराज अधिकारीले माग गरेका छन् । जेठ १९ गते भएको संसद बैठकमा ‘गुरुङ जातिको आदि थलो क्होल सोँथर विश्व सम्पदा सूचिमा पार्न किन पहल भएन ?’ अधिकारीले प्रश्न राखेका छन् ।

क्होललाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नको लागि यारजङले पहल गरिराखेका छन् । उनको एक्लो प्रयास भने पर्याप्त छैन । उल्टै क्होलमा गुरुङका विभिन्न संघसंस्था तथा समुदायले संरचना निर्माण गर्न थालेपछि यारजंग गुरुङ चिन्तित बनेका छन् । उनले गत फागुनमा मुख्यमन्त्रीसँग गरेको भेटमा भग्नावशेष रहेको ठाउँमा गरिएको संरचना निर्माणले विश्व सम्पदा सूचिमा सूचिकृत हुन नसक्ने बताउँदै त्यसलाई रोकिदिन अनुरोध गरेका थिए ।

भेटमा गुरुङले क्याम्ब्रिज विश्वविद्यालयका पुरातत्व विभागका प्रमुख क्रिष्टोफर इभानले भग्नावशेष रहेको ठाउँमा संरचना निर्माण गरेकाले क्होला विश्व सम्पदा सूचिमा सूचिकृत हुन नसक्ने बताएको जानकारी गराउँदै क्होलको उत्खनन् नहुञ्जेल त्यसको संरक्षण प्रदेश तथा स्थानीय तहले गरिदिन अनुरोध गरेका थिए ।

गुरुङ जातिको जीवन्त इतिहास बोकेको यस ठाउँमा गुरुङका संघसंस्था तथा थरका समूहले भौतिक संरचना निर्माण गरेका छन् । त्यस्तै फिल्म सुटिङ तथा पिकनिक स्थल समेत बन्न थालेको छ । ‘पार्टी पौवा निर्माण तथा बोर्ड राख्ने कार्यले क्होलको संरक्षण होइन विनास भइरहेको छ ।’– यारजङ गुरुङले बताएका छन् ।

गुरुङले क्होल मात्र नभई क्रपुदेखि थुर्चु, ह्वाप्ले, मैजु, हेरु, क्युरु, ङ्हवाल, प्ह्रागा, मनोँ, मुछित्र च्हम्गो, ठिनी क्ह्याल्सा, लिप्रो म्हस्र्योसम्मका ठाउँहरु पनि उत्खनन् गर्नुपर्ने बताउँदै आएका छन् । यी ठाउँहरु गुरुङको शास्त्रमा उल्लेख गरिएका ठाउँहरु हुन् । क्होलमा ठूलो तीन गाउँ भए तापनि त्यस वरीपरीका ठाउँहरुमा भएको भेंडी गोठलगायतका ठाउँलाई पनि संरक्षण गर्नुपर्ने उनको माग छ ।

Leave a Reply