भोलि सूर्यग्रहण, लिम्पियाधुराबाट देखिनेछ ९८ प्रतिशत सूर्य ढाकिएको दृष्य

-


     मर्दी न्युज    
     असार ६ गते २०७७ मा प्रकाशित


काठमाडौँ, ६ असार । भोलि अर्थात् असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन सूर्यग्रहण देखिँदै छ । यो ‘वलय सूर्यग्रहण’ हो, तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ ।

हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ भने काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवम् वाल्मीकी विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिए ।

सूर्य ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उनले जानकारी दिए ।

नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ ।

चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।

ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो ।

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरू भने सूर्यग्रहण जो कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्यता राख्छन् ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो । खगोलविद्का लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद् सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् । साना बालबालिकाका लागि विज्ञानमा रुचि पैदा गराउन यस्ता घटना उपयोगी हुन्छन् । नेपालबाट करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिन्छ ।

कहाँबाट हेर्न सकिन्छ सूर्यग्रहण
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ ।

शनिबार साँझ ७ः०० बजे सूर्यग्रहण विषयमा जिज्ञासा हुनेले सोसाइटीका विज्ञसँग प्रश्न राख्न सक्ने अध्यक्ष भट्टराईले बताए । सूर्यग्रहणका विषयमा जिज्ञासा हुनेले शनिबार साँझ सोसाइटीको प्रत्यक्ष सामाजिक सञ्जाल पेजमार्फत् प्रत्यक्ष प्रसारणका बेला प्रश्न राख्न सक्ने छन् । प्रश्न ‘आस्क नासो हस्टेज’मा राखेर सामाजिक सञ्जालमा पोष्ट गर्न सकिने सोसाइटीले जनाएको छ ।

बीपी कोइराला प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिले तयार गरेको विस्तृत विवरण