जब चितुवालाई दाम्लोमा बाँधेर हिँडाइयो… (भिडियोसहित)

-


     मर्दी न्युज    
     असार ९ गते २०७७ मा प्रकाशित


मंगलबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । भिडियोमा एउटा चितुवालाई दाम्लोमा बाँधेर सडकमा हिँडाइएको छ । र, चितुवा सँगसँगै मान्छेको भीड पनि हिँडिरहेको छ । फोटो खिच्नेको भीड छ ।

खसीबोका वा घरपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवा लुरुलुरु हिँडिरहेको छ ।

पोहोरदेखि तनहुँ जिल्लाका विभिन्न भागका बासिन्दा चितुवाबाट आजित छन् । धेरै जिल्लामा यसको आतंकले घटनाहरु भएका छन् । घरपालुवा पशु चौपाया खाइदिने भएकाले चितुवालाई आतंकमात्रै होइन त्रास बढाउने जन्तुका रूपमा लिने गरिएको छ । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मानिसहरुले ज्यान गुमाएका समाचारहरु आएका छन् । यस्तो जनावरलाई खसीबोका जसरी दाम्लोमा बाँधेर मानिसहरुले लुरुलुरु हिँडाएको भिडियो भाइरल हुनु स्वभाविक देखिन्छ ।

जनावरमध्ये चितुवा छिटो दौडने जीवभित्र पर्दछ । नलठ्याइ यसलाई समात्न सजिलो छैन । तर, पर्वतको दृश्य देख्ने सबैलाई अचम्म लाग्ने रह्यो । चितुवा विज्ञले भने यसलाई ‘जोखिम’को संज्ञा दिएका छन् ।

सोमबार अपरान्ह साढे ४ बजेतिर पर्वतको जलजला गाउँपालिका–७ मिलन चोक नजिकैको कालीगण्डकीको बगरमा स्थानीय अमृत आचार्यले घाँस काट्न जाने क्रममा चितुवा देखेका थिए । उनले कालीगण्डकी बगर नजिकैको रुखमुनि बसेको उक्त चितुवा देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेको अस्थायी प्रहरी चौकी मिलन चोकका इन्चार्ज प्रहरी सहायक निरीक्षक ध्रुव बोहोराले बताए ।

चितुवा छ भन्नेबित्तिकै स्थानीय र प्रहरी उक्त स्थानमा पुगे । ‘हामी ५ बजेतिर चितुवा बसेको ठाउँमा पुगेका थियौं । त्यतिञ्जेलसम्म मानिसहरु जम्मा भइसकेका थिए,’ असई बोहोराले भने, ‘चितुवा त्यति आक्रामक नदेखिएपछि हामीले पासो थाप्ने निधो गर्‍यौं ।’ चितुवाको हेराई एकोहोरो र पछाडि भागमा चोट लागेजस्तो देखिएको थियो ।

स्थानीयले उक्त चितुवालाई सुरुमा लखेट्न खोजेका थिए । तर, कुनै प्रतिक्रिया नजनाएपछि सबै मिलेर नाम्लोको पासो थापे । कमजोर र बिरामीजस्तो देखिने चितुवाले प्रतिकार गरेन । त्यसपछि दाम्लोले बाँधियो । प्रहरी र स्थानीयले भेटिएको बगरबाट हिँडाएर मूल बाटोसम्म ल्याए । भाइरल भएका फोटो र भिडियो त्यही बेलाको हो ।

चितुवालाई दाम्लोमा बाँधेर डोर्‍याएका अस्थायी ट्राफिक पोष्ट मिलन चोकका ट्राफिक प्रहरी जवान अनिल कार्कीले कुनै आक्रमण नगर्ने निश्चित भएपछि मात्रै डोर्‍याएका थिए । मिलन चोक ल्याएपछि जिल्ला प्रहरी र वन कार्यालयलाई स्थानीय प्रहरीले खबर गरेको थियो । सहायक वन अधिकृतलाई पठाएर चितुवालाई केजमा हालेर कार्यालयमा ल्याइएको डिभिजन वन प्रमुख अशोककुमार श्रेष्ठले कान्तिपुरलाई बताए ।

उद्धार गरिएको उक्त चितुवा लट्ठिएको अवस्थामा रहेको र त्यति सक्रिय पनि नरहेको उनको भनाइ छ । चितुवालाई वन कार्यालयभित्रै उपचार गराएर औषधि दिइएको छ । पर्वतमै उपचार सम्भव नभए राष्ट्रिय प्रकृति सरक्षण कोषसँग समन्वय गरेर चितवन पठाउन पनि सकिने श्रेष्ठले जानकारी दिए । चितुवा बुढो भएको र खाना नपाएर बिरामी भएको अनुमान गरिएको छ ।

पर्वतमा मानव वन्यजन्तु द्वन्द्वका घटनाहरु धेरै हुने गरेका छन् । विगतका वर्षमा वन्यजन्तुको आक्रमणका वार्षिक ७५/७६ वटा घटनाहरु हुने गरेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ । चितुवाको आक्रमणमा परेर मानिसहरु घाइते भएका घटनाहरु पनि भएको कार्यालयले जनाएको छ ।लकडाउनको अवधिमा पर्वत क्षेत्रमा दुई वटा चितुवा मृत अवस्थामा फेला परेका थिए । एउटा जलजले गाउँपालिका र अर्को कुश्मा नगरपालिकाको वन क्षेत्रभित्र फेला परेको श्रेष्ठले बताए ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख एवं चितुवामा विद्यावारिधि गरेका तेजबहादुर थापाले बिरामी जस्तो देखिने उक्त चितुवालाई त्यसरी दाम्लो बाँधेर डुलाउनु गलत भएको बताए । चितुवा हिंस्रक जीव भएकाले दाम्लोमा बाँधेर ल्याउनु अनुचित रहेको भन्दै यस्ता घटनाहरु आगामी दिनहरुमा हुन नदिनका लागि सबै सचेत हुनुपर्ने उनले बताए । ‘त्यो बिरामी थिएन भने त्यसले गर्ने क्षति कस्तो हुन्थ्यो ? यसतर्फ हामीले ध्यान दिन जरुरी छ,’ उनले भने । यद्यपि उनले उक्त चितुवालाई स्थानीयले आक्रमण नगरी उद्धार कार्यमा सहयोग गर्नु राम्रो भएको प्रतिक्रया दिए ।

चितुवा र बाघजस्ता जीवहरु खाना नपाउँदा र अन्य सामान्य अवस्थामा मानिसलाई झम्टदैनन् । कमजोर हुँदा, जंगलमा खानाको पर्याप्तता नभएपछि चितुवा लगायतका अन्य जीवहरु बस्ती प्रवेश गर्ने गरेको प्राध्यापक थापाले बताए ।

– ईकान्तिपुर

सामाजिक सञ्जालमा प्राप्त भिडियो हेर्नुहोस्