Wed. Oct 21st, 2020

भारतमा टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध

एजेन्सी । चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकसहित ५९ वटा एप भारतमा प्रतिबन्ध लगाइएको छ । भारत सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा चीनबारे केही उल्लेख गरिएको छैन भने प्रतिबन्ध लगाइएका कैयौँ एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीको स्वामित्वको रहेको बीबीसीले उल्लेख गरेको छ ।

भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् । टिकटक चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको हो । छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ ।

त्यस्तै प्रतिबन्धित अन्य एपमा वीच्याट, यूसी ब्राउजर र शेयरइट जस्ता चर्चित एपहरू छन् जुन भारतमा निकै नै प्रयोगमा रहेको मानिन्छ ।

भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको हो । भारतले लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेअर र एप बहिष्कार गर्नुपर्ने आवाज उठेका बेला प्रतिबन्ध लगाएको हो ।

भारत सरकारले जारी गरेको विज्ञप्तिमा भारतीयहरूलाई आ–आफ्नो मोबाइलबाट ती एप मेट्न अपिल गरिएको बीबीसी नेपाली अनलाइनले उल्लेख गरेको छ ।

एप आफ्नो मोबाइलमा नहटाउँदासम्म रहिरहने छन भने एप स्टोरबाट हटाइएपछि उनीहरूले आफ्नो स्मार्टफोनमा राखेका एप अपडेट गर्न सक्ने छैनन ।

Leave a Reply