Wed. Aug 5th, 2020

यसवर्ष लमजुङको दूधपोखरी कुण्ड जानेहरु अत्याधिक

लमजुङ । कहिले उकालो, कहिले सम्म, खोल्सा–खोल्सी, जंगल क्षेत्र, जुकासँग पैंठेजोरी खेलेर लड्दै धेरैजसो उकालो, थोरै सम्म परेको भुभाग पार गर्दै गएपछि हिमालको काखमा कुण्डको दर्शन गर्न पाइन्छ । लमजुङ सदरमुकाम बेसी शहरबाट पैदलयात्रा गरेपछि खर्कमा बास बस्दै लगातार तीन दिनको हिडाइँपछि समुन्द्री सतहदेखि चारहजार ३०० मिटर उचाइमा अवस्थित दूधपोखरी कुण्ड स्पर्स गर्न सकिन्छ । त्यस्तै दूधपोखरी गाउँपालिकाको वडा नं. १ र २ वडा बाट भने दुई दिनको यात्रा पछि दूधपोखरी कुण्ड पुग्न सकिन्छ । हिउँ नपर्ने, जाडो कम हुने मौसम, बनेली फूलहरू नफुल्ने महिना र खासगरी जनैपूर्णिमाको दिन श्रद्धालु भक्तजन, तीर्थालु र पर्यटक दूधपोखरी कुण्डलाई साक्षी राखेर भाकल पूरा गर्छन ।

दूधपोखरी कुण्ड धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा प्रसिद्ध छ । जनै पूर्णिमाको अवसरमा यस कुण्डमा नुहाउन आउनेहरुको भिड नै लाग्ने गर्दछ । प्रत्येक जनैपूर्णिमामा यहाँ ठूलो धार्मिक मेला लाग्ने गर्दछ । यसवर्ष साउनको महिना अनि सोमबार परेका कारण पनि भक्तजनहरु त्यसतर्फ धेरै लागिसकेको दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङले बताइन । उनका अनुसार लमजुङ जिल्लाबाट मात्रै ५ हजार भन्दा बढीको संख्यामा भक्तजनहरु त्यसतर्फ लागेको बताइन ।

मादी गाउँपालिकाका कार्यपालिका सदस्यहरु बैठक बस्न त्यसतर्फ जाँदै । तस्विरः रोशनी गुरुङ

त्यस्तै मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को नेतृत्वका १२ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, प्राविधिक तथा अन्य सदस्यहरु गरि ३५ जनाको टिम बिहीवार नै मादी २ ताङतिङ हुँदै त्यसतर्फ प्रथान गरिसकेका छन् । मादी २ का वडा अध्यक्ष एकजंङ गुरुङका अनुसार कार्यपालिकाको ५२ औं बैठक समेत भदौ १९ गते दुध पोखरीमा आयोजना गरिएको छ ।

साउनको गर्मी महिना भए पनि लुगलुग काप्ने चिसो धरालतमा अवस्थित दूधपोखरी कुण्ड प्रचारप्रसार र प्रवर्द्धनको अभावले ओझेलमा परेको पर्यटकीय, ऐतिहासिक र प्रसिद्ध धार्मिक नमुनास्थल भएकाले विशेष गरी हरेक जनै पूर्णिमाको दिन कुण्डमा नुहाएर जलदेवीको पूजा र प्रार्थना गरे आफूले चिताएको भाकल पूरा हुने घलेगाउँका गंगा घलेले बताए । पूर्वी लमजुङको दूधपोखरी गाउँपालिका–१ मा रहेको दूधपोखरी कुण्ड गोरखाको सिमानमा अवस्थित छ । वर्षको एकचोटी जनैपूर्णिमाको दिन विशेष गरी तीन जिल्लाका तीर्थालुहरूको जम्काभेट गर्ने पवित्र धार्मिक स्थल दूधपोखरी कुण्ड बनेको छ ।

जनै पूर्णिमाको दिन यस पोखरीमा नुहाए वर्षौंदेखिको रोगव्याधी निको हुने, बोली नआउनेहरु बोल्न थाल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको उनले बताए ।

दूधपोखरी पुग्न कठिन यात्रा

त्यसो त दूधपोखरी कुण्ड पुग्न भने त्यति सजिलो छैन । हिमालको काखैमा रहेको दूधपोखरी पुग्न तीन–चार दिनको कठिन यात्रा गर्नुपर्ने हुन्छ । लमजुङको दूधपोखरी गाउँपालिकामा पर्ने दूधपोखरी कुण्ड समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ ।

मनास्लु र हिमालचुली हिमालको काखैमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनै पूर्णिमामा भक्तजनहरुको ठूलो घुइँचो नै लाग्ने गर्दछ । दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङका अनुसार लमजुङका साथै गोरखा, कास्की, तनहुँ, चितवन, काठमाण्डौलगायतका ठाउँंदेखि तीर्थालु भक्तजनहरु यसवर्ष त्यसतर्फ प्रस्थान गरेको बताइन । विगतका वर्षहरुमाभन्दा यसवर्ष धेरै मानिस त्यसतर्फ लागेको उनले बताइन ।

यात्रा रमाइलो
त्यस ठाउँमा पुग्न तीर्थयात्रीहरुलाई सामान्य बाटोको आकार पत्ता लगाउँदै हिँड्नुपर्ने बाध्यता छ । बाटो हिँड्नको लागि निकै अफ्ठ्यारो छ । त्यसैले दूधपोखरी जाँदा अनुभवी तीर्थयात्री अथवा स्थानीय बासिन्दाको सहयोग आवश्यक हुन्छ ।


कहालीलाग्दो भीर–जंगल–खोरिया हुँदै ठाडै उकालो यात्रा गर्नुुपर्ने हुँदा केही असजिलो भए पनि यात्रा भने निकै रमाइलो हुने त्यहाँ पुगेर फर्कनेहरु बताउँछन् । ‘भीर, जंगल, खोरिया हुँदै ठाडै उकालो यात्रा गर्नुुपर्ने भएकाले यात्रा केही कठिन त हुन्छ । । तर दूधपोखरी कुण्डमै पुगेपछि सारा दुःख भुलिन्छ । त्यहाँ पुग्दा स्वर्गकै अनुभूति हुन्छ’, पटकपटक दूधपोखरी कुण्ड पुगेर फर्केका पर्यटक गाइडसमेत रहेका लमजुङ घलेगाउँका गंगा घलेले बताए ।

दूधकै गास : ओडार र भेडीगोठमै बास
उनका अनुसार दूधपोखरी कुण्ड जाँदै गर्दा बाटोमा भेटिने/देखिने लेकाली फूलको सौन्दर्यले जो सुकैको मन लोभ्याउँछ । लोपान्मुख बहुमूल्य जंगली जनावरदेखि जडिबुटीहरु यस भेगका अर्का मूख्य आकर्षण हुन् ।

लमजुङको जोर्नेभन्दा माथि मानव बस्ती नभएकाले त्यहाँ खानेकुरा र पिउने पानीको जोहो आफैं गर्नुपर्दछ । दूधपोखरीको यात्रामा सुरक्षित बासको पनि त्यतिकै समस्या छ । बास बस्नका लागि जंगलका ओढार तथा भेडीगोठको सहारा लिनुपर्दछ । गोठमा दूधका विभिन्न परिकारहरु पाइन्छन् ।

दूधपोखरी पुग्न थुर्जुबाट ४ घण्टाको दूरी बाँकी रहँदा परम्परागत भेडीगोठमा बास बस्नु पर्दछ । तीर्थयात्रीहरुका लागि त्यहाँका गोठालाहरुले दिल खोलेरै सहयोग गर्छन् ।

दूधपोखरी पुग्न केही दूरी मात्र बाँकी छँदा बाटैमा ‘धर्म गौँडो’ भन्ने ठाउँ आउछ । स्थानीयका अनुसार जो यो गौँडो कट्न सक्छ, उसको सबै पाप हरण हुन्छ ।

लेक लाग्ने समस्या
भेडीगोठबाट झण्डै ४ घण्टा हिँडेपछि दूधपोखरी कुण्ड आउँछ । हिमालको काखमा रहेको हुनाले यहाँ निकै जाडो हुन्छ । पोखरीमा नुहाएर पूजा–अर्चना गरी प्रार्थना गर्दा तीर्थयात्रीहरुको मन धेरै हल्का भएको महसुस गर्छन् । दूधपोखरी धेरै उचाइमा रहेकाले त्यस ठाउँमा लेक लाग्ने समस्या पनि त्यतिकै छ ।


गाउँपालिका अध्यक्षका अनुसार लमजुङ र गोरखाको सीमानामा पर्ने चेपे नदीको मुहान दूधपोखरी कुण्डमा वैशाखदेखि असोजसम्म जान सकिन्छ । चिसो समयमा हिउँ पर्ने भएका कारण यहाँ जान सकिदैन ।

दूधपोखरीलाई गुरुङ भाषामा ‘होम ङ्हैरु ङ्ह्यो’
प्राकृतिक र धार्मिक रुपले प्रसिद्ध दूधपोखरी गुरुङहरु ‘क्होला’ आउनुभन्दा पहिले त्यहाँ आएको प्ये ताँ ल्हु ताँ (शास्त्र)मा उल्लेख छ । मनाङकै “होवाप्ले” भीर अगाडिको मैजु ट्हो र मैजु देउरालीबाट डाँफे न्हे, “एक्रेँ क्लिँक्हा” (थार चढ्ने हिमाल) हुँदै “होम ङ्हैरु ङ्ह्यो” (दुध पोखरी) आएको उल्लेख छ । त्यहाँबाट थुर्चु, प्हुर्जु, हुँदै केही क्होला ट्होतिर झरे भने कुनै थरहरू एक्रेँदेखि नउदी, चिक्रेँ, क्रपुहुँदै झरेको शास्त्रमा उल्लेख छ ।

जनै पूर्णिमाको दिन भएपनि गुरुङहरुको लागि छुट्टै आस्था र विश्वासको केन्द्रविन्दु भएका कारण दूधपोखरी कुण्डमा जानेहरु अत्याधिक मात्रामा गुरुङहरु रहेको लमजुङका गुरुङहरुले बताए ।

Leave a Reply