पोखरा सिटी टुर गाइड एसोशिएसनले पर्यटन मन्त्रीलाई बुझायो ज्ञापन-पत्र

-


     मर्दी न्युज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


पोखरा उपत्यका तथा आसपासका रमणिय पर्यटकीय स्थलहरुमा विदेशी पर्यटकहरुलाई घुमाएर पोखरा तथा समग्र नेपालकै नाम अन्तराष्ट्रिय जगतमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने तथा सोहि मार्फत पर्यटकहरुको बसाई लम्ब्याउन मद्दत पुर्याउने स्थानिय मार्गनिर्देशक (गाईड) हरुको संस्था पोखरा सिटी टुर गाइड एसोशिएसनका अध्यक्ष कृष्ण भारतीको अगुवाइमा आज उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि माननीय बिकास लम्साललाई उहाँकै कार्यकक्षमा भेटेर ज्ञापन-पत्र बुझाएका छन् ।

कोभिड-१९ को विश्वब्यापी महामारीका कारण समग्र पर्यटन उद्योग नै थला परेको अबस्थामा पोखरा सिटी टुर गाइडहरु पनि पूर्णरुपमा बेरोजगार छन् । विज्ञप्तीमा जनाईए अनुसार पर्यटन क्षेत्रकै पनि होटल, रेष्टुरेण्ट, पदयात्रा तथा पर्वतारोहण क्षेत्रका गाईडहरु तथा मजदुरहरुलाई धेरथोर मात्रामा भएपनि सरकारी तथा पेशागत संघ-संस्थाहरुबाट राहात प्याकेजहरु आएको भए पनि सिटी टुर गाइडहरुलाई भने पूर्ण रुपमा उपेक्षा गरेको भेटिएको छ । यस कारणले सिटी टुर गाइडहरुको अबस्था दयनीय बन्दै गएको र पेशावाटै विस्तापित हुने क्रम बढ्दै छ ।

रोजगारीको अबस्था पुरानै लयमा फर्किन्जेल सम्म दैनिकी सञ्चालन तथा जीवनयापन सहज बनाउनका लागि आर्थिक राहत प्याकेजको माग सहितको ज्ञापन पत्र मन्त्री ज्यूको साथ साथै सरोकारवाला निकायहरु नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिबी पोखरेल र नेपाल एसोशिएसन अफ टुर एण्ड टाभल एजेन्टस् (नाट्टा), गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीलाई बुझाईएको अध्यक्ष भारतीले मर्दि न्युजलाई बताउनु भयो ।

ज्ञापन-पत्र बुझेपछि माननीय मन्त्री ज्यू लगाएत सरोकारवाला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सकारात्मक रहेकोले आफ्ना माग पुरा हुनेमा आशाबादी भएको संस्थाका सचिब आनन्द गुरुगले बताउनुभयो ।