घर भत्किँदा चारको मृत्यु, पाँच घाइते, चार गम्भीर

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


डिलबहादुर सिंह
साउन, २७ गते । डोटीको आदर्श गाउँपालिका –१ मा सोमबार राती १ बजेतिर घर भत्किदा चार जनाको ज्यान गएको छ । घटनामा अन्य चार जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराका अनुसार घरपछाडीबाट आएको पहिरोका कारण घर भत्किदा स्थानीय लोगे लुहारको श्रीमती, एक छोरा र दुई छोरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनामा परि चार जना गम्भिर घाइते भएका छन । घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसके पछि थप उपचारका लागि दिपायल ल्याईएको छ ।

राससका अनुसार घाइते हुनेमा ३३ वर्षीय घर मालिक लोगे लुहार, निजकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी दुई वर्षीया अस्मिता लुहार रहेका छन् । घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर रहेको र अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ ।

सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मौवानगरदहका प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर बुढाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । घरभित्र च्यापिएका शवको प्रहरी टोलीद्वारा निकाल्ने काम भइरहेको छ । घटनास्थल जिल्ला सदरमुकाम सिलगढीबाट दुई÷तीन घण्टाको दूरीमा रहेको छ । घर भत्किएका कारण कम्तीमा पनि रु १० लाख बराबरको धनमालको क्षति भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।