लोपोन्मुख गुरुङ गीत–संगीतको खोज र संरक्षणमा लाग्दै दम्पत्तिद्वय

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित


आजभोलि नेपाली गीत संगीत र चलचित्र क्षेत्रले उत्साहपूर्वक फडको मारेको छ । हिजो मनोरञ्जनको निम्ति भारतीय गीत, संगीत र सिनेमामा मस्त नेपालीहरू आज आफनै गीत संगीतमा आत्मनिर्भर छ । विगतलाई फर्केर हेर्दा भारतीय चलचित्र र गीत संगीतको नेपालमा साम्राज्य नै थियो । रेडियोमा बिहान, दिउसो र राति हिन्दी सिनेमाका गीतहरू खुबै बज्थ्यो । त्यतिबेला नेपालमा एक दुई नेपाली चलचित्र मात्र निर्माण हुन्थ्यो । नेपालका चलचित्र हलहरूमा भारतीय चलचित्र मात्र धेरै चल्थ्यो ।

समय र प्रविधिको विकासक्रमसंगै नेपाली चलचित्र र गीत संगीतको क्षेत्रमा ठुलै परिवर्तन तथा बाढी नै आयो । नेपालमै धेरै भन्दा धेरै नेपाली आधुनिक गीत, लोक गीत, पप आधुनिक गीत, पप लोक गीत र चलचित्रका गीतहरू चल्न थाल्यो । नेपालमा भारतीय गीत संगीतको एक छत्र साम्राज्यको करिब करिब अन्त्य भयो । अहिले त झन नेपाली चलचित्र पनि मौलिक सिनेमा बन्ने लहर तीब्र रूपमा अगाडि बढिरहेको छ । नेपाली दर्शकले रोजीरोजी यूट्युबमा घरमै बसी बसी हेर्न र मनोरञ्जन लिन सकिन्छ । विवाह, उत्सव, तीज पाटी, पिकनिक आदि सबैमा नेपाली गीतहरू मजाले घन्किन्छ ।

नेपाली गीत संगीत र चलचित्रको दुनियामा धेरै राम्रा कलाकारहरू आएका छन र आउने क्रम पनि जारी छ । तराई, पहाड र हिमाली भेगका कुना कन्दराहरूमा आशा लाग्दा प्रतिभाहरू उदाई रहेको छन । यस्तै नेपाली पहाडी कन्दरामा जन्मि हुर्केका एक प्रतिभाशाली दम्पति हुन् मुनाल फिल्म प्रालिका संचालक, निर्देशक तथा गुरुङ फिल्म एशोसिएशन (जिफान)का अध्यक्ष भोजबहादुर गुरुङ तथा गायिका बालकाशी गुरुङ ।

भोजबहादुर गुरुङ फिल्मी निर्देशक एवम् प्राविधिक पनि हुन भने बालकाशी लोक गायिका र कोरियोग्राफर । बालकाशी गल्फ खेलको निम्ति पनि त्यत्तिकै शैखिन छिन । हाल उनी हिमालयन गल्फ सेन्टर विजयपुर छिनेडांडामा प्रशिक्षक भूवनसिंह गुरुङसँग ट्रेनिङ्ग लिदै छिन ।

प्रेम विवाह भएका उनीहरु गुरुङ फिल्म निर्माणका क्रममा २०६५ सालमा ‘आक्रोदो’ बनाउने क्रममा लमजुङ्ग जिल्लाको सिउरूङ्ग गाउँ जाँदा दुईको माया प्रेम बसेको थियो । त्यही शिलसिलामा बसेको उनीहरूको माया प्रेम पछि विवाहमा परिणत भयो ।

गायिका बालकाशी गुरुङ सानो छँदा आफू स्कुल कार्यक्रमहरूमा गीत गाएको तर ठुलो भएर गायिका बन्छु भन्ने कैले नसोचेको बताउछिन । तर भाग्य बस आज उनी यसरी चर्चित गायिका बनेकी छिन । उनी जन्मी हुर्केको लमजुङ जिल्लाको कुङ्गलुङ्ग गाउँ हो भने विद्यालय पठनपाठन चाहि चरा गाउको वनस्थली निम्न माध्याकि विधालयमा भयो । एसएलसी परीक्षा उत्तीर्ण चाहि अमरसिंह उच्च माध्यामिक विद्यालय पोखराबाट गरिन । प्रसिद्व नेपाली च्यानल रोधीमा देखाउने उनले गायका युगल गीतहरू ‘छेक छेक आईपुग्यो रेल जानेबेला भैसक्यो बेला’, आफनै गीत संकलनमा ‘घासै काट्ने लहरै तानेर’, ‘श्री पशुपति’ बोलको आशिक गीत अति चर्चित छ । चार पाँच वर्षको बच्चाहरूको मुखमा थेगो झैझुण्डिन्छ । झनै कभरगीत ‘दाई त मेरो लाहुर जाने मै बहिनी सम्झेर रोई रहने’ गीत सुन्दा त मन झनै आन्नदित हुन्छ । जुन म्यूजिक भिडियो युटयुबमा हेर्न सकिन्छ ।

प्रसिद्व लोक गायिका हरिदेवि कोईरालाका सबै म्यूजिक भिडियोमा उनले कोरियोग्राफरको काम गरेकी छिन् । उनीद्वारा निर्देशित करिब तीन दर्जन जति म्यूजिक भिडियो छन । धेरे जसो म्युजिक भिडियोहरूमा उनले स्वयम नृत्य गरेकी छिन । पृथ्वी नारायण क्याम्पस पोखरामा समाज शास्त्र विषयमा स्नातक पुरा गरेकी बालकाशी पत्रकारिता अर्थात जर्नालिजम विषयमा स्नातक अध्यनरत छिन । आफू यस क्षेत्रमा काम गर्नको लागि आफना श्रीमान भोज गुरुङको पूर्ण योगदान र प्रोत्साहन रहेको उनी बताउँछिन ।

भविष्यमा उनी मुख्य त गुरुङ तथा नेपाली मौलिक बाजाहरूको खोज अनुसन्धान र संरक्षणमा लाग्ने बताउँछिन । नेपालमा मुख्य त लोपोन्उमुख अवस्थामा रहेको मौलिक बाजाहरू धेरे छन त्यसलाई खोज अनुसनधान गर्नुपर्ने आवश्यक रहेको बताउँछिन । नत्र नेपालीको मौलिक पहिचान हराउदै जाने उनको चिन्ता छ ।

यसैक्रममा जनैपूर्णिमामा मेला भर्ना जाने गुरुङहरुको प्राचीन थलो दूधपोखरीको यात्रामा लागिन् गुरुङ जातिको जात्रा गीत र साराङ्गी गीत संकलन गर्न । भेडीगोठमा गाइने साराङ्गी गीत र दूधपोखरी जात्रामा जाँदा बाटोमा गाउने जात्रा गीत सङ्कन गरेकी छिन । सारङ्गीको तारको निर्माण भेंडा बाख्राको भित्रि आन्ध्राको एउटा रेसा सेतो भागलाई सुकाएर तार बनाउने र त्यसलाई साराङ्गी बजाउन प्रयोग हुने रहस्य उनले बताइन ।

उनीहरूको समूह यही श्रावण १९ गते जनै पुर्णिमामा लमजुङ जिल्लाको दुधपोखरी मेलामा जाँदा भेंडीगोठमा बजाउन सारंगी यही विधि प्रयोग गरेको थाहा पाईन । हाल गन्धर्वहरूले बजाउदै गरेको सारङ्गी उतिबेला भेडीगोठ, लेकमा बस्ने मानिसहरूले आविष्कार गरेको होकी भन्ने उनको बुझाई छ ।

यता भोजबहादुर गुरुङको फिल्म करियर शुरूवातिमा प्राविधिक अर्थात क्यामेराम्यानबाट शुरू भएको हो । स्व लोकबहादुर गुरुङको अभियान फिल्म प्रालिको ब्यानरमा निर्मित धेरै गुरुङ चलचित्रमा उनले प्राविधिक अर्थात विषेश त क्यामरामेनको भूमिका निर्वाह गरे । स्व लोकबहादुर गुरुङलाई उनी प्रेरणाको स्रोत मान्छन । ‘मैले उहाँबाट धेरै कुरा सिकेको छु; गुरुङले बताए ।

गुरुङ भाषामा निर्मित चलचित्र ‘हेर्बे ट’ र ‘चों’मा उनले कुशलतापुर्वक गरेको छाँयाङ्कन देख्न सकिन्छ । काम गर्ने शिलसिलामा उनले धेरै अनुभव बटुले र सफल निर्देशक पनि बन्न पुगे । पछि आफनै होम प्रोडक्शन अर्थात् मुनाल फिल्म प्रालिको नाममा कम्पनि दर्ता भई त्यसैमार्फत विभिन्न ठूला तथा साना पर्दाका चलचित्रहरु, म्युजिक भिडियो, वृत्तचित्र आदि निर्माण गरेका छन् ।

आफनै होम प्रोडक्सन मुनाल फिल्मको ब्यानरमा निर्मित र निर्देशित नेपाली चलचित्र साहसी, हमजाएगा र ‘भाले फाइट’ हुन । जुन ‘साहसी‘ मा नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले अभिनय गरेका छन् । उनका अन्य गुरुङ चलचित्रहरू ‘सैं न्होर्बे मृस्यों, ङै ङ्हो, आक्रोदो, मैरिमो’ आदि हुन ।

गुरुङ फिल्म बन्न थालेको भर्खरै २५ वर्ष पूरा गरेको छ । यस रजत वर्ष अर्थात २५ वर्ष भित्रमा धेरै गुरुङ फिल्महरू निर्माण भैसकेको छ । गुरुङ कलाकारहरू पनि धेरै उत्पादन भएका छन । तर गुरुङ फिल्म एशोसिएशन (जिफान)को इतिहास भने २०६५ सालदेखि यताको हो । २०६५ सालमा विधिवत दर्ता भएको जिफानले यो कोरोना माहामारीमा भव्य रुपमा रजत महोत्सवको आयोजना गरी मनाउन भने पाएको छैन । यस्तो विषम परिस्थितिमा जिफानले मौलिक ‘सर्ट मुभी’ तयार पार्ने अभियानमा अघि बढिरहेको उनले हाम्रो भेटमा बताए ।

जिफानका अध्यक्ष तथा निर्देशक भोज गुरुङ हालसम्म बनेको तमु (गुरुङ) चलचित्र सम्बन्धमा त्यहाँ प्रस्तुत कथा, विषयवस्तु आदिमा आफू सन्तुष्ट नभएको बताए । अहिलेसम्म निर्मित सबै फिल्महरू आयातीत नेपाली, हिन्दी, अंग्रेजीका मसालेदार फिल्मको प्रभाव देखिएको उनले बताए । फिल्महरू ‘क्वालिटी’ भन्दा ‘क्वान्टिटी’मा ध्यान गएको उनको बुझाई छ । हालसम्म जति निर्माण भए ती गुरुङ चलचित्रहरु गहिरो अध्ययनविना निर्माण भएको उनको बुझाई छ । दूधपोखरीको यात्रापछि उनमा गुरुङ समाज, मौलिक गीत संगीत, भाषा आदिमा त्यति ध्यान नपुगेको उनले स्वीकारे । कामना गरौं अब आउने गुरुङ चलचित्रहरु मौलिक र वास्तविक कथावस्तुमा आधारित भएर आओस, शुभकामना ।