Thu. Oct 22nd, 2020

पर्वतीय पर्यटन मजदुरहरुको जीविकोपार्जन र रोजगारीको सवालमा युनिट्राभ गण्डकी प्रदेशको धारणा यस्तो आयो

कोभिड–१९ को महामारीको कारण समग्र विश्वकै पर्यटन उद्योगमा नकारात्मक असर परेको सर्बबिदितै छ । नेपालको पर्यटन उद्योग मुलतः सिजनमा आधारित हो । अघिल्लो वर्षको शरद ऋतुसम्म ठिकठिकै चलेको व्यवसाय र त्यसले सिर्जना गर्ने रोजगारी हिउँदमा सुस्ताउने सामान्यनै थियो । त्यस मानेमा विशेषगरि हिमाल, पहाड केन्द्रित पर्यटन व्यवसाय पुस महिनादेखि नै खासै चलायमान नभएको परिवेशमा कोरोना कहरका कारण चैतदेखि ठप्प छ ।

जसका कारण पर्वतीय पर्यटन मजदुर तथा श्रमिकहरु झन्डै ९ महिना पुर्ण रूपमा बेरोजगार भएका छन । राष्ट्रिय तथा स्थानीय छापा र अनलाइन मिडियाहरुमा समेत यो विषयमा पर्याप्त चर्चा परिचर्चा चलेकै छ । देशको नामलाई अन्तर्राष्ट्रिय जगतमा फिजाउन महत्त्वपूर्ण भुमिका खेल्ने, शाहस र बहादुरीका पर्याय यिनै श्रमिकहरुका समस्या राज्यले नजरअन्दाज गर्न र मन कुढ्याउन मिल्दैन र हुँदैन पनि ।

अहिले यिनै कुराहरुलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डको पहलमा,संयुक्त रास्ट्रसंघ विकाश कार्यक्रमको सहयोगमा कास्की जिल्लाका मादी तथा अन्नपूर्ण गाउँपालिका र सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पदयात्रा पदमार्ग मर्मतसंभार, सरसफाइ, कुलो कुलेसो निर्माण, साइनेज मर्मत इत्यादि कामको लागि २०० हाराहारीको संख्यामा मजदुरहरुले ४५ दिनको लागि रोजगारी पाउने भन्नेकुराले सरोकारवाला बीचमा राम्रै चर्चा र बहसको थालनी गरेको छ ।

वि.सं २०४० सालमा, पन्चायती कालरात्रीको उत्तरार्धतिर स्थापित नेपाल ट्रेकिङ मजदुर संघ (हालः नेपाल ट्रेकिङ, ट्राभल्स, राफ्टिङ्ग मजदुर युनियनर युनिट्राभ) नेपालको पर्यटन क्षेत्रका मजदुरहरुको अग्रणी संगठन हो । विभिन्न कालखण्डमा मजदुरहरुको तलब सुबिधा, बिमा, नियुक्तिपत्र, आपतकालीन उद्दार लगायतका विषयमा ऐतिहासिक निर्णयका मागहरू राखि उपलब्धी हासिल गरिसकेको युनिट्राभले अहिलेको यो विषम परिस्थितिमा पनि महत्त्वपूर्ण भुमिका खेल्नुपर्छ भन्ने आममजदुरहरुको भनाइलाई अन्यथा लिनुहुदैन ।

यही प्रसङ्गमा युनिट्राभ गण्डकी प्रदेशका अध्यक्ष बिजय के.सि.सँग सम्पर्क गर्दा आफुले यो विषयलाई अत्यन्तै गंभिरतापुर्वक लिएको, संगठनको पहलमा टान र पोखरा महानगरपालिका वडा नं. ६ को सहकार्यमा बिपन्न मजदुरहरुलाई खाद्यान्न राहत वितरण गरिएको र मजदुरका माग बुलन्द गर्ने सबालमा आफू लागिरहने बताउनुभयो ।

अहिलेको यो रोजगारीको प्रसङ्गमा आफ्नो धारणा राख्दै गण्डकी प्रदेशका २ वटा गाउँपालिकामा झन्डै २०० जनाको लागि रोजगारीको अवस्था श्रृजना गरिनु सकारात्मक भएतापनी टान तथा मजदुर संगठनहरुको मातहतमा गर्नुपर्ने काम गाउँपालिका मातहतमा गएकोले नेपाल पर्यटन बोर्ड लगायत संबंधित निकायमा युनिट्राभ केन्द्रीय कार्यालयको अगुवाइमा विभिन्न ४ वटा संगठन (यूनिट्राभ, अखिल नेपाल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ र नेपाल पर्यटन श्रमिक संघ) को तर्फबाट ध्यानाकर्षण गरिएको बताउनुभयो ।

Leave a Reply