झिलीले उच्च क्षेत्रमा पहिलोपटक बच्चा कोरल्यो

-


     मर्दी न्युज    
     असाेज १९ गते २०७७ मा प्रकाशित


तस्विरः सञ्जय था श्रेष्ठ

पोखरा । विरल हिउँदे आगन्तुक तथा वटुवा र नेपालमा स्थान विशेष बच्चा कोरल्ने प्रजाति झिलि (Baillon’s Crake) ले हाल सम्मकै उच्च स्थानमा पहिलोपटक बच्चा कोरलेको अभिलेख गरिएको छ ।

पंक्षी अवलोकनका क्रममा पर्यटनकर्मी तथा वन्यजन्तु फोटोग्राफर सञ्जय था श्रेष्ठ र युभिन श्रेष्ठले आज साँझ समुन्द्री सतहबाट १३५० मिटरको उचाईमा अबस्थित मनोहरा खोलाको धानखेतमा बयस्क सँगै बच्चालाई देखेका थिए ।

काठमाण्डौं उपत्यकामा प्राय शरद र ग्रिष्ममा अभिलेख गरिएको, सन् १९९१ मा वरिष्ठ पंछीबिदद्धय क्यारोल र टिम इन्स्किपले बच्चा कोरल्न सक्ने भनिएको र सन् २००६ मा एक अल्पवयस्कको फोटो लिएपनि पनि बच्चा कोरलेको यथस्ट प्रमाणहरू भेटिएको थिएन ।

नेपालका लागि ब्रायन हड्सनले १९ औं शताब्दीमा पत्ता लगाएको यो प्रजाति काठमाण्डौं उपत्यकामा १४ बर्ष पछि देखिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षमा सबैभन्दा बढी र सन् २०१४ पछि नियमित अभिलेख गरिएको छ भने सन् २००२ यता त्यस क्षेत्रमा बच्चा कोरलेको भेटिएको छैन ।

तस्विरः सञ्जय था श्रेष्ठ

नेपालको संकटापन्न पंछी संम्बन्धी रातो किताबका अनुसार चितवन राष्ट्रिय निकुञ्ज साथै यसको मध्यवर्ती क्षेत्रहरुमा पनि यो प्रजातिको अभिलेख गरिएको छ । त्यसैगरी सुदूर पश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा र पश्चिममा लुम्बिनी क्षेत्रमासमेत यो प्रजाति भेटिएको छ ।

आईयूसियनको सुचीमा संकटको नजिकमा राखिएको यो प्रजाति जगदिशपुर जलाशयमा तीनपटक, कास्कीको फेवातालमा एकपटक समेत अभिलेख गरेको बताउनुहुन्छ बरिष्ठ पंछीबिद डा। हेमसागर बराल ।

सन् १९६१ मा यस प्रजातिको काठमाण्डौं उपत्यकाबाट नमुना संकलन गरिएको र लामो समय पछि यति उच्च स्थानमा फेरी देखिनु र पहिलो पल्ट बच्चा कोरल्नुले अबलोकन तथा अनुसन्धान अझ धेरै बढाउनु पर्ने औल्याउनु हुन्छ नेपाल पंछी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ ।