संकटमा छन् बसाईसराई गर्ने पंछीहरु

-


     मर्दी न्युज    
     असाेज २४ गते २०७७ मा प्रकाशित


ब्याकटेल्ड गडविट/मलगुझा, फोटो: चुडामणी चौधरी

चराहरूले हाम्रो संसारलाई जोड्दछन् भन्ने मूल नाराका साथ मे महिना र अक्टुबर महिनाको दोस्रो शनिबारका दिन (आज १० तारिख) नेपाल लगायत संसारभर विश्व बसाईसराई पंछी दिवस मनाईदै छ । बसाईसराई गर्ने चराहरूको उडान मार्गको सुरक्षा, आहारा साथै आश्रयस्थल पनि सुरक्षित बनाउनुपर्छ भन्ने धारणालाई आममानसमा जनचेतना जगाउने उद्देश्यका साथ यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईन्छ ।

विश्वभर भएका ९ वटा फ्लाईवेहरु प्रयोगगरि चराहरू उत्तरी गोलार्धबाट दक्षिणी गोलार्ध, एक महादेशबाट अर्को महादेश तथा एक देशबाट अर्को देशमा बसाईसराई गर्दछन् । नेपालमा वेस्ट एशियन–ईस्ट अफ्रिकन फ्लाईवे तथा ईस्ट एशियन–अस्ट्रेलियन फ्लाईवे प्रयोग गरी चराहरू बसाईसराई गर्दछन् । अत्याधिक हिमपात, गर्मी, खानाको अभाव, बच्चा कोरल्ने अनुकुल वातावरण तथा स्थान आदीको कारणले गर्दा चराहरूले बसाईसराई गर्दछन् ।

तिलहरी चरा, फोटो: चुङ्बा शेर्पा

विश्वमा पाइने चराका ११ हजार १ सय २१ प्रजातिमध्ये करिब २२ सय २५ प्रजातिका चराहरु अनुकुल मौसम अनुसार बसाईसराई गर्दछन् । नेपालमा पाईने ८८६ प्रजातिका चराहरूमध्ये हिउँद र ग्रिष्मयाममा गरि करिब २१५ प्रजातिका साथै २९ प्रजातिका वटुवा र ७४ फिरन्ते प्रजातिहरूले बसाईसराई गर्दछन् । बसाईसराई गर्दा कतिपय प्रजाति एक महादेश बाट अर्को महादेशका विभिन्न स्थान मात्र नभई देशको अग्ला भूभागबाट तल्लो क्षेत्रतिर वा तल्लो भूभागबाट अग्लो क्षेत्रमा गरेको भेटिएको छ ।

नेपालको सन्दर्भमा हिउँदमा पानी चरा बिशेष गरि हॉंसका प्रजातिहरू साईबेरिया, मंगोलिया, उत्तरी चीन र तिब्बतीय पठारहरूबाट हजारौं किलोमिटर यात्रा गरी आफ्ना हुर्कौला बच्चाहरुसहित बसाईसराई गरेको पाईन्छ र यिनीहरू देशका अधिकांश नदी, ताल–तलैया र सिमसारहरूमा हिउँद भर बिचरण गर्दछन् । जस मध्ये खोयाँ हाँस १० प्रतिशत भन्दा पनि कम अक्सिजनमा सगरमाथा भन्दा माथिबाट बाटो तय गरी नेपाल तथा भारत पुग्ने गर्दछन् ।

श्रीलंका देखि आउने स्वर्ग चरी, फोटो: बिकास बस्नेत

त्यसै गरि ग्रिष्ममा मुख्य गरि कोईलीका प्रजातिहरू दक्षिणी मुलुक भारत, श्रीलंका र अफ्रिका बाट हजारौंको संख्यामा बच्चा कोरल्न नेपालमा आई वन, आसपासका घाँसे मैदान तथा कृषि क्षेत्र वरपर आश्रय लिई बस्दछन् । कोईलीका १६ प्रजातिले आफूले गुँड नबनाई अरु प्रजातिका गुँडमा फूलपारी हुर्केपछि आफूसँगै लिएर फर्कने गर्दछन् । यस समयमा चराका गुँड र प्रजातिको विभिन्न स्थानहरूमा गणना गरी तथ्यांकहरु राख्ने गरिन्छ ।

हिउँदे आगन्तुकको सन्दर्भमा सन् १९८७ देखि नेपालमा वर्षेनि एशियन वाटरफल सेन्सस गरिँदै आएको छ । सिमसार बिशेष गरिस कोसीटप्पु वन्यजन्तु आरक्ष, बर्जु ताल, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पोखरा उपत्यकाका ताल क्षेत्र र काठमाण्डौंको मनोहरा, बाग्मती खोला तथा टौदह क्षेत्रमा यिनीहरुको गणना गरिन्छ ।

तथ्यांक विश्लेषण गर्दा सिमसारमा आश्रित चराहरूको गणनामा हिउँदे आगन्तुक पानी चराहरूको अवस्था प्रजाति र बिशेष गरि संख्यामा ब्यापक घट्दै गएको बताउनुहुन्छ बरिष्ठ पंछीविद् तथा एशियन वाटरफल सेन्सस नेपालका राष्ट्रिय संयोजक डा. हेमसागर बराल । कोशी ब्यारेज क्षेत्रमा ५० हजारको संख्यामा देखिने सुईरोपुच्छ्रे हाँस हाल सयको हाराहारीमा पनि नदेखिएको स्मरण गर्नुहुन्छ डा. बराल । यस्तो अबस्था रहेमा केहि दशकमा यस्ता प्रजाति लोप हुनेमा कुनै शंका नहोला ।

खोया हॉंस, फोटो: सञ्जय था श्रेष्ठ

बसाईसराईको क्रममा जति संख्यामा चराहरू आफ्नो थातथलो छाडि यात्रामा निस्कन्छन् हरेक समय तिनीहरु अप्ठेरोको सामना गरि रहेका हुन्छन् । प्राकृतिक प्रकोपसँगै पछिल्लो समयमा मानवीय गतिबिधीले गर्दा हजारौंको संख्यामा बाटोमै मर्दछन् । कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, अवैध चरा सिकार तथा व्यापार, उडान मार्गमा हुने अवरोध, साघुँरिदै गएको तथा बिनाश भएका सिमसार, जलस्रोतमा विषादीको प्रयोग, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारण मुख्य रहेको अनुसन्धानमा देखिन्छ ।

नेपाल पंछी संरक्षण संघको एक अध्ययन अनुसार संकटापन्न अवस्थामा रहेका १ सय ४९ प्रजातिका चरामध्ये ४० प्रजाति सिमसारमा आश्रित तथा विश्वका दुर्लभ चराहरूमध्ये १३ प्रजाति त नेपालमा पाईने जलपन्छी रहेको बताउनुहुन्छ अनुसन्धानकर्मी तथा नेपाल पंछी संरक्षण संघका भल्चर कन्जरभेसन म्यानेजर कृष्ण प्रसाद भुषाल । मानवीय अतिक्रमणले गर्दा सबैभन्दा बढि चपेटामा परेको काठमाडौंको टौदह, कपिलवस्तुको जगदीशपुर ताल, सुनसरीको बर्जु ताल र कास्कीको फेवाताललाई लिन सकिन्छ ।

अफ्रिकाबाट आउने जुरे कोईली, फोटो: प्रसन्न श्रेष्ठ

चराहरू बसाईसराई गर्दा लामो यात्राले थाकेर बिश्राम गर्ने र खानाको लागि बस्ने स्थानहरू सुरक्षित हुनुको सट्टा संकुचित र बिनाश हुँदै जानु, बसेको स्थानमा धपाईदिने तथा मारिदिने काम जब सम्म स्थानिय रुपमा रोकिदैनन तबसम्म संरक्षणका जति नारा चर्क्याएपनि केहि हुनेवाला देखिदैन । यसै सन्दर्भमा कोशी पंछी समाजले चरा अवलोकन तथा जनचेतनामुलक कार्यक्रम गर्न लागेको बताउनुहुन्छ समाजका अध्यक्ष संजीव आचार्य ।

यस वर्ष कोभिड–१९ को कारणले धेरै जसो पंछी संरक्षणमा आबद्ध संघ–संस्थाहरुले सामाजिक संजालबाटै यस दिवस र परिस्थितिकीय प्रणालीका अभिन्न अंग चराहरुको महत्वका बारेमा जानकारी दिई रहेकाछन् ।

प्रबालपाद, फोटो: पेम्बा शेर्पा

हामी प्रण गरौं, शरिरको आधा तौल घटाई ९७ किलोमिटर प्रतिघण्टाका दरले उडेर स्क्यान्डिनाभिया बाट सहारा मरुभूमि पुग्ने ग्रेट स्नाइप, केहि नखाई र नसुतिकन ईस्ट एशियन–अस्ट्रेलियन फ्लाईवे मा ११,००० किलोमिटर यात्रा गर्ने ब्याकटेल्ड गडविट, पखेटा भएपनि उड्न नसक्ने तर हिडेर बच्चा कोरल्ने स्थानबाट हिउँद बिताउने स्थानमा १७,६०० किलोमिटर यात्रा तय गर्ने एसिलाई पेन्गुईन, मंगोलिया बाट हजारौं किलोमिटर यात्रा गरि भारतीय उपमहाद्वीपमा आउने कर्याङकुरुङ तथा गोमायु महाचिल र ९०,००० किलोमिटर यात्रा गर्ने आर्टिक टर्नलाई ईतिहासमा सीमित हुन नदिई भावि पुस्तालाई हस्तान्तरण गर्नेछौं ।

विश्व बसाईसराई पंछी दिवसको शुभकामना !!!