Thu. Oct 22nd, 2020

स्मार्ट सिटी पोखराका अन्तर्राष्ट्रिय मुर्तिहरू अलपत्र [फोटो फिचर]

करिब सात वर्ष अघि पोखराको लेकसाइडस्थित कोमागाने पार्कमा अन्तर्राष्ट्रिय मुर्तिकला कलाकार्यशाला सम्पन्न भएको थियो । जहा बेल्जियम, जापान, भारत र नेपाली मुर्तिकारहरूको समेत सहभागिता थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौंंका पूर्व प्राज्ञ मुर्तिकार ओम खत्रीको संयोजनमा सो कार्यशाला सम्पन्न भएको हो । मुर्ति कार्यशालाको निम्ति आवश्यक रकम विभिन्न संघसंस्थाबाट संकलन गरी संचालन भएको हो । मुर्ति निर्माणको निम्ति विभिन्न संघ संस्था र आमा समुहले पनि कार्य निर्माण स्थलमा कलाकारहहरूलाई दैनिक चिया, खाजा जुटाएका थिए । यस कार्यमा पर्यटन व्यवसायी र होटल व्यवसायीहरूको महक्त्वपूर्ण भुमिका रहेको थियो । मुर्ति निर्माण गर्ने क्रममा ब्यापक प्रचार प्रसार गरेको थियो भने अवलोकन गर्न पोखरेलीहरूको व्यापक घुंइचो थियो ।

त्यति बेला सबै निकायहरूको उत्साह जोश जांगर हेर्दा रहर लाग्दो देखिन्थ्यो ।
तर आज फर्केर हेर्दा साह्रैै दुःख लाग्छ । मुर्ति वरपर घांस बुटयान झाडी र छाडा चौपाया चर्दै गरेका, मानिसहरू त्यही मुर्ति माथि बसेर गफ गर्दै गरेको देख्न सकिन्छ । कुनै निगरानि र रेखदेख नभई अलपत्र अवस्थामा रहेको त्यहाँ पुग्ने जो कोहीले पनि सजिलै अनुमान गर्न सकिन्छ । कसैलाई चासो भएको देखिदैन । सुन्दर नगरी पोखरा हाम्रो अभियान नारामा मात्र सीमित हो की ? यस्तो बहुमुल्य चिज उपलब्ध हुँदा पनि महानगरपालिकाको प्राथमिकतामा ध्यान किन जान सकेन ? प्रदेश सरकारको पनि ध्यान किन गएन ? यसो सोच्दा उदेक लाग्दो छ । सायद कलालाई हेर्ने द्दृष्टि भएन कि ?

पोखरा एउटा प्रसिद्द पर्यटकीय शहर हो । त्यस माथि पनि पर्यटकीय क्षेत्र फेवाताल, विदेशी पर्यटकहरू धेरै आउने स्थल पनि हो । छेवैमा धार्मिक तीर्थस्थल केदारेश्वर महादेव मन्दिर पनि छ । तीर्थालुहरू पुजाआजा र विवाहवर्तन गर्न धेरै आउने गर्छन ।

साँचै यी मुर्तिहरूको रूपैयामा मुल्यांकन नै गर्ने हो भने पनि अरबौं रूपैया पर्न आउछ । अन्तर्राष्ट्रिय विदेशी कलाकारहरू स्वयम् यहाँ आएर मुर्ति निर्माण गरेका छन । सौभाग्य नै भन्नु पर्छ यस पोखरा महानगरपालिकाले उक्त मुर्तिहरू कलाकारहरूबाट उपहारस्वरूप नै प्राप्त भएको छ । संरक्षण गर्दा राम्रो हुने थियो । साँच्चि नै पोखरालाई स्मार्ट सिटी यदि बनाउने हो भने कला र संस्कृतिलाई मुख्य प्राथमिकता दिनु आवश्यक पर्छ ।

यसको शुरूवाति एक वर्षको तयारी थियो । पोखराको विभिन्न निकाय तहसंग छलफल गरि कार्य अगाडि बढाइएको हो । यो त एउटा पृष्ठभूमि भयो । तर यस कार्यको निम्ति भौतिक रूप दिन बाँकी थियो । मुर्ति निर्माणको लागि उपयुक्त स्थल, विशाल ढुङ्गा नदी नालाहरूबाट खोजेर ल्याइएको हो । त्यो बेला दिनमा १८ घण्टा लोडसेडिङ्गको बेला थियो । त्यसकारण नियमित कामको लागि तत्स्थानमै जेनेटर नै व्यवस्था गरेर निर्माण कार्य अगाडि बढाईयो । दुई दर्जन जति कलाकारहरूलाई बस्न खान पर्यटन तथा होटल व्यवसायीहरूले व्यवस्थापन गरेका थिए । निर्माण अवधि समय लगभग तीन हप्ता लागेको थियो । मुलुकका अन्य शहर ईटहरि, बुटवलमा त्यहाँका उपमहानगर पालिकाले अति सुन्दर कला पार्क, वाटिका निर्माण गरेका छन । झन पोखरा अति सुन्दर प्रकृतिको शहर हो ।

तर यहाँको अवस्था देख्दा चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिंड भने झै भएको छ ।

Leave a Reply