विरुवा गाउँपालिकाको भ्यु टावर निर्माणमा व्यथिति

-


     मर्दी न्युज    
     कार्तिक १ गते २०७७ मा प्रकाशित


फोटोः हुम गुरुङ

हुम गुरुङ, स्याङ्जा । बिरुवा गाउँपालिकाको वडा नं–२ श्रीडाँडा र बेसरडाँडाको सिमाना समिडाँडामा निर्माणधिन भ्यू टावरमा व्यथिति भएको पाईएको छ । गाउँपालिकाकै गौरवको योजना हुनुपर्ने भ्यू टावरको निर्माण अहिले लथालिंग अवस्थामा छ ।

२०७५/७६ मा गण्डकी प्रदेश सरकारले ४० लाख र गाउँपालिकाले १० लाख गरी जम्मा ५० लाख बजेट बिनियोजन गरी निर्माण सुरु गरिएको भ्यू टावरको डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) समेत नगरेको पाईयो । ‘गाउँपालिकाकै प्राविधिकले सामान्य नक्सा बानएको तर कूल खर्च कति लाग्ने, भ्यू टावर कति क्षमताको हुने र कहिले सम्म निर्माण सम्पन्न गरिसक्ने रु भन्ने गरी डीपीआर तयार नगरिएको गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले जानकारी दिए ।’

भ्यू टावर परियोजनाको डीपीआर नै तयार नगरिकन हचुवाको भरमा उपभोक्ता समिति गठन गरि काम सुरु गरिएको छ । कतिसम्म भने भ्यू टावर निर्माणको लागि उपयुक्त ठाउँ छनोट गर्न समेत छलफल नगरी गाउँपालिंका अध्यक्ष र वडा नम्वर २ का अध्यक्ष बुद्धबहादुर आलेको मनमर्जीमा पक्का गरिएको थियो । गाउँपालिका स्तरको परियोजना भए पनि उपभोक्ता समिति गठन गर्दा वडा नम्वर २ को श्रीडाँडा र बेसारडाँडा गरी २ टोलका नेकपा इतरकालाई मात्रै समितिमा राखिएको छ । श्रीडाँडा निवासी स्थानीय टीका आलेको संयोजकत्वमा उपभोक्ता समिति गठन गरिए पनि स्वयम संयोजकलाई कति सदस्यीय समिति गठन गरियो त्यो समेत थाहा छैन ।

फोटोः हुम गुरुङ

०७५/७६ मा प्रदेश र गाउँपालिकाबाट गरी ५० लाख बजेट बिनियोजन भए पनि उपभोक्ता समितिले काम गर्न नसक्दा ३० लाख मात्रै खर्च भएको र अरु २० लाख खर्च गर्न नसकेपछि फिर्ता भएको बुझिएको छ । खर्च भएको ३० लाख रकमबाट भ्यू टावरको डीभीसी मात्रै गरिएको छ । ०७६/७७ मा बजेट नआए पछि थप काम हुन नसकेको उपभोक्ता समिति संयोजक आलेले जानकारी दिए । थप काम हुन नसक्दा निर्माणाधीन भ्यू टावर अलपत्र अवस्थामा रहेको छ । पिल्लरको लागि ठडाईएको रडहरु समेत खिया लागेको अवस्थामा छ ।

वडा नम्वर २ निवासी स्थानीय एवं नेकपा स्याङ्जा जिल्ला सदस्य समेत रहेका तिलबहादुर गुरुङले भने भ्यू टावरको निर्माण कहिँ कतै छलफल नै नगरी गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्मा र २ नम्वर वडाध्यक्ष बुद्धबहादुर आलेले हचुवाको भरमा काम सुरु गरेको बताए । उपभोक्ता समिति गठन गर्दा समेत एमाले निकटकालाई मात्रै समितिमा राखिएको उनले आरोप लगाए ।