Thu. Oct 22nd, 2020

गोभण्डीर चाहाको यात्रा ४५ वर्ष पछि काठमाण्डौ उपत्यकामा

फोटोः सञ्जय था श्रेष्ठ

पोखरा । कंक्रिटले भरिएका ब्यस्त बस्ती र खोला खोल्सामा अत्याधिक फोहोर ढल आदिले काठमाण्डौं उपत्यकामा दिन दिनै वातावरण प्रदुषण भईरहेको छ । त्यहि ढल मिसिने साना खोलाहरुमा कोभिड १९ ले वातावरणमा पारेको सकारात्मक प्रभाब सँगै बर्षौ पछि चराका प्रजातिहरु धमाधम देखिएका छन् । आज पंछी अबलोकनका क्रममा उपत्यकामा विरल हिउँदे आगन्तुक तथा वटुवा गोभण्डीर चाहा (Jack Snipe) ४५ वर्षपछि फेरि उपत्यकामा अभिलेख भएको ।

राजधानीको कोभिड १९ को बढ्दो संक्रमणमा कतिपय समुदायनै घर भित्रै रहि रहेको अबस्थामा सुरक्षाका मापदण्डहरु प्रयोग गरि पंछी अबलोकनकर्ताहरु खोला, धानखेत डुलिरहेका छन् । पंछी अबलोकनकर्ता तथा वन्यजन्तुका फोटाहरु खिच्ने सञ्जय था श्रेष्ठ, संयाम रुम्बा, संन्देश थापा, निसान बराल र समिक्षा चौधरीको टोलीले आज उक्त प्रजाति मनोहरा खोलामा देखेका थिए ।

फोटोः सन्देश थापा

१९ औं शताब्दीमा ब्रायन हड्सनले काठमाण्डौं उपत्यकामै पहिलो पटक अभिलेख गरिएको अत्यन्तै लजालु र छलावरण गर्न सक्ने यो प्रजाति अन्य चाहाको तुलनामा सानो, टाउकाको ढाँचा फरक र हिड्ने सैली अन्य चाहाको भन्दा फरक हुन्छ । सन् १९७५ मा फ्लेमिङले पछिल्लो पटक उपत्यकामा यस प्रजातिलाई अनुगमन गरेका थिए ।

नेपालका संकटापन्न पंछी संम्बन्धि रातो किताबका अनुसार यो प्रजाति उपत्यका बाहेक कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र पोखरा उपत्यकामा पनि देखिएको छ । पछिल्लो समयमा सन् २०१७ मा यो प्रजाति फेवा सिमसारमा पंक्तिकारले समेत भेटेका थिए । अन्य चाहाका प्रजाति भन्दा यस प्रजातिको ओभरलुक भएको हुन सक्ने धारणा ब्यक्त गर्नु हुन्छ बरिष्ठ पंन्छीबिद हठन चौधरी ।

पंछी अबलोकनकर्ताको टिम

पछिल्लो समयमा युवा पुस्तामा चरा प्रति देखिएको मोह, संरक्षण प्रतिका सकारात्मक धारणा, जनचेतनाको बृद्धि र प्रबिधिको ब्यापक प्रयोगले गर्दा चराका प्रजातिहरुको बेवास्ता गरिएका स्थानहरुमा पनि नयाँ प्रजाति तथा लामो समयको अन्तरालमा भेटिएका समाचारहरु हप्तादिनहरुमा आइराख्दा पंछीजगतको अबलोकन र अनुसन्धानमा थप ईट्टा थप्ने कुरामा बिश्वास गर्नुहुन्छ बरिष्ठ पंछीबिद डा. हेमसागर बराल ।

यस कोभिड पछिको संत्रासपूर्ण अबस्थामा नेपालमा दुई दर्जनको हाराहारीमा लामो समय पछि देशका बिभिन्न स्थानहरुमा विशेष गरि संरक्षित क्षेत्र भन्दा बाहिर आगन्तुक, वटुवा र फिरन्ते प्रजातिहरुको अभिलेख भएको छ ।

Leave a Reply