Thu. Oct 22nd, 2020

ग्लोबल बिग डे नेपालमा पनि मनाईयो

फोटोः पेम्बा शेर्पा

ग्लोबल बिग डेमा नेपाल सँगै विश्वभर हिजो अक्टुवर १७ तारिखका दिन पंछी अबलोकन गरि मनाईयो । विश्वभर ५१ हजार ८ सय ५७ ब्यक्तिहरुले १ लाख २० हजार चेक लिस्टमा कुल ६५४१ प्रजातिको अबलोकन गरिएको थियो ।

मानिसका रहरहरु विभिन्न किसिमका हुन्छन् । कतिपय रहरहरु निकै महङ्गा र अनौठाहरु भेटिन्छन् । त्यस्तै अनौठा तथा खर्चिलो रहर मध्ये एक हो पंछी अबलोकन । विश्वका कतिपय देशका नागरिकहरु विभिन्न देशका भ्रमणहरु गरि एक वर्ष भरिमा कति प्रजातिका पंछीहरु देखियो भनेर प्रतिस्पर्धानै गरेको पनि भेटिन्छ । त्यसैगरि एक दिन भरिमा विश्वका विभिन्न देशहरुमा एकै पटक कति प्रजातिका पंछी अबलोकन भयो भनि हरेक बर्षको अक्टुवर १७ मा ग्लोबल विग डे गरिन्छ ।

फोटोः चुङ्बा शेर्पा

हिउँद लागे सँगै पंछीहरु बसाइसराइ गर्न शुरु गर्दछन् र बसाइसराइका क्रममा कुन प्रजाति कहाँ पुगे तथा एक दिनभरमा कति प्रजाति देखियो भनि अध्ययन अनुसन्धान पनि यो विग डे प्रभाबकारी हुने देखिन्छ । समग्रमा भन्दा संरक्षण, अनुसन्धान, शिक्षा र वकालत मार्फत पंछी र उनीहरुको वासास्थानको संरक्षण गर्नु यस दिबशको मुख्य उद्देश्य हो ।

पोखराको अबलोकनकर्ताको टिम

नेपालमा, नेपाल पंछी संरक्षण संघले राजधानी सँगै बुटवल, नवलपुर, मुस्ताङ, रुपन्देही, गुल्मी र कैलालीमा पंछी अबलोकन गरेको थियो । काठमाण्डौ उपत्यकामा संघका महासचिब तथा पंछीबिद विमल थापा, पंछीबिदहरु गोपी श्रेष्ठ, संञ्जय था श्रेष्ठ र पेम्बा शेर्पाको अगुवाईमा ३५ प्रजातिका पंछीहरुको अबलोकन गरिएको थियो । अबलोकनका क्रममा उपत्यकामा विरल हिउँदे तथा वटुवा प्रजातिहरु समेत अभिलेख भएको थियो ।

फोटोः गोपी श्रेष्ठ

कोशी पंछी समाज, सुनसरीले धरान फरेष्ट, कोशी ब्यारेज र कोशी टप्पु वन्यजन्तु आरक्षको पूवी क्षेत्रमा पंछी अबलोकन गरेको थियो । कोशी पंछी समाजका अध्यक्ष संजीव आचार्य लगाएत पंछीबिदहरु दिनेश घिमिरे, अनिश तिम्सिना र सम्झना कार्कीको लिडरशिपमा १५३ प्रजातिका चराहरुको अभिलेख गरिएको समाजका अध्यक्ष आचार्यले बताउनु भयो ।

कोशीको अबलोकनकर्ताको टोली

बर्ड एजुकेशन सोसाईटी, चितवनले पनि राप्ती नदीमा पंछी अबलोकन गरेको थियो । बरिष्ठ पंछीबिदहरु टिकाराम गिरी, बद्री चौधरी, बासु बिडारी तथा सोसाईटीका अध्यक्ष रमेश चौधरीको नेतृत्वमा अबलोकन गरिएको थियो । अबलोकनका क्रममा सोसाईटीका सदस्यहरु, नेपाल वाइल्डलाईफ फोटोग्राफर संघका पदाधिकारीहरु, चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टरका कर्मचारीहरु, बटुक गण, सौराहा गुल्मका अधिकारीहरुको सहभागिता थियो ।

चितवनको अबलोकनकर्ताको टोली

कुल १६ उपप्रजातिका ४८ परिवारका ११८ प्रजातिका पंछीहरु अबलोकन गरिएको उक्त कायक्रममा आबश्यक पर्ने डुङ्गा तथा सवारी साधनको राप्ती जलयात्रा तथा जिप, हात्ती बुकिङ सेन्टरका त्रैलोक्य चित्रकारले सहयोग गर्नुभएको सोसाईटीका अध्यक्ष चौधरीले बताउनु भयो ।

शिकारी चराहरुको राजधानीको रुपमा प्रख्यात पोखरा उपत्यकामा पोखरा पंछी समाज, कास्कीले फेवाताल तथा सिमसार, रानीबन, दोबिल्ला, मझेरीपाटन र ठूलाखर्कमा पंछी अबलोकन गरेको थियो । समाजका अध्यक्ष तथा पंछीबिद मनशान्त घिमिरे, उपाध्यक्ष शेषकान्त शर्मा, सचिब हेमन्त ढकाल, आजिवन सदस्यद्धय मिलन बराल तथा शिकारी पंछीबिज्ञ सन्देश गुरुङको अगुवाईमा पंछी अबलोकन गरिएको थियो । कुल १२८ प्रजातिका पंछीहरुको अबलोकन गरिएको समाजका सचिब हेमन्त ढकालले जानकारी दिनु भएको थियो ।

हेटौडाको अबलोकनकर्ताको टोली

त्यसैगरि बर्दिया नेचर कन्जरभेसन क्लबले बर्दिया राष्ट्रिय निकुञ्जको आसपासमा क्षेत्रमा पंछी अबलोकन गरेको थियो । कुल ८७ प्रजातिका पंछीहरु बिहानीको समयमा देखिएको क्लबका अध्यक्ष राम शाहीले बताउनु भयो । साथै लुम्बिनी क्षेत्रमा बरिष्ठ पंछीबिद डा. हेमसागर बरालको नेतृत्वमा पंछी अबलोकन भएको थियो । यस सँगै आयुषमान कायस्थ, दिपक बुढाथोकी, दशरथ श्रेष्ठ बिदुक्छे, युविन श्रेष्ठ, द्रिष्टान्त बिडारी र सुशान्त बिडारीको टिमले हेटौडामा अबलोकन गरेका थिए ।

फोटोः संञ्जय था श्रेष्ठ

यस बिग डे मा नेपालमा २८७ प्रजाति र ३७७ चेकलिस्ट अभिलेख गरिएको छ । ग्लोबल बर्ड विकेण्डको संयोजकत्वमा गरिने यो कार्यक्रम द कर्नेल ल्याब ई-बर्ड र बर्डलाईफ इन्टरनेशनलको सहकार्यमा गरिएको छ । इ-बर्डको वेबसाइटमा हरेक देशका छुट्टा छुट्टै विबरणहरु राख्ने गरेको छ । जसले गर्दा पंछी अनुसन्धानका लागी यो अभियान कोसेढुङगा हुनेमा दुईमत देखिदैन ।

Leave a Reply