Wed. Dec 2nd, 2020

म्यानमार दशैँ: दशकौँ पछि म्यानमारका नेपालीले दशैँ मान्ने चलन

  • दीपक भट्टराई, रंगुन, म्यानमार

अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ म्यानमारमा रहेका करिब सवा लाख नेपालीभाषीको साझा संस्था हो।

त्यस संस्थाको धार्मिक विभागका उप प्रमुख मोहन भट्टराईले अक्टुबर १४ मा नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई एक निवेदन पठाए।
उनले दुई, ढाई लाख नेपाली गोर्खालीहरू म्यानमारमा रहेको दाबी निवेदनमा गरे पनि म्यानमारको सरकारी तथ्याङ्क अनुसार यहाँ एक लाख पनि नेपालीभाषी छैनन्। तर विभिन्न कारणले जनगणनामा छुटेका समेतलाई गणना गर्दा सवा लाख जति नेपालीभाषी पुग्ने सामाजिक अगुवाहरू बताउँछन्।

यो निवदेन परेको पाँच दिनपछि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले बर्मामा दशैँ टिकाको साइत अक्टुबर २६ सोमबार बिहान १० बजेर १५ मिनेटमा उपयुक्त हुने भन्ने सन्देश पठायो। त्यसपछि म्यानमारमा दशैँको साइत निश्चित गरेर सामाजिक सञ्जालमा सन्देश प्रवाह गरियो।
नेपालमा झैँ गरी म्यानमारमा पनि नेपालीभाषीले दशैँ मनाउँछन्। गोर्खालीका जति बाक्लो बस्ती भयो उति रमाइलो गरी दशैँ मनाउने चलन यहाँ छ। बाक्लो बस्ती भएका ठाउँमा केही वर्ष अगाडिसम्म पिङ हाल्ने, सप्तमीमा धुमधामका साथ फूलपाती भित्र्याउने, अष्टमीमा मौलामा बलि दिने, कालरात्रिमा रातभर जाग्राम बसी भजन किर्तन गर्ने र टिकाका दिन मान्यजनको हातबाट टिका थाप्दै हिँड्ने चलन थियो।

त्यस्तै युवा विभाग, साँस्कृतिक विभागले नेपालीभाषी बाक्लो भएको बस्तीमा फूलपाती वा त्यसको वरपर राम चरित्रका नाटक, दुर्गा कवच, गीत सङ्गीत र हास्यव्यङ्ग्य सहितका प्रहसन पनि गर्दथे।

बलि बन्देज
यी मध्ये मन्दिरमा बलि दिने चलन १५ वर्ष यता पूर्ण बन्देज छ। कुनै कुनै शहर र गाउँमा दुई, तीन दशक अगाडि देखि नै बलि दिन छाडिएको नेपालीभाषाका अग्रज साहित्यकार ठाकुरप्रसाद गुरागाईंले जानकारी दिए। ‘बलि प्रथा त्यसै पनि राम्रो हैन। त्यसमाथि करिब ९० प्रतिशत बौद्धमार्गी भएको देशमा नेपालीभाषीले मन्दिरमा बलि दिन्छन् भन्दा राम्रो सन्देश जाँदैनथ्यो। त्यसैले गोर्खाली सङ्घले निर्णय गरेरै बलि प्रथा रोकेको हो,’ गुरागाईंले भने।

पूजारी समेत रहेका भट्टराई म्यानमारको १४ वटा प्रदेशमध्ये कचिन प्रदेशको राजधानी मेचिनाका हुन्। मेचिनामा करिब २५ हजार नेपालीभाषी छन्। उनले गोर्खालीका मन्दिरमा दशैँका बेला बलि दिइने मौलाहरू उखेलेर नदीमा लगेर बिसर्जन गरिएको बताए।

हिजोआज केहीकेही बाँकी रहेका मौलामा केराको काँगियो, चिउरा र जमरा चढाउने चलन छ। कसैकसैले कुभिन्डोलाई छेस्काका खुट्टा हालेर बलि दिने पनि गर्दा रहेछन्।

‘घटस्थापनाको दिन साइत हेरेर जमरा राखिन्छ। मन्दिरमा जमरा राख्ने पूजारी कपाल खौरेर शुद्ध भइ विधि विधान अनुसार चण्डी पाठ गरी जमरा राख्छन्। मन्दिरमा दैनिक नवदुर्गाको पूजा पाठ हुन्छ,’ भट्टराईले भने, ‘घरघरमा पनि चण्डी पाठ गर्ने चलन थियो। तर बिस्तारै कम हुँदै गएको छ।’

फुलपाती भित्र्याउने
फूलपाती लिन लावालस्कर, झाँकीसहित गाडी सजाएर बन गएको सम्झन्छन रोशन थापा मगर। मगर म्यानमारको सबैभन्दा ठूलो प्रदेश शान, कलाउ निवासी हुन्। ‘पहिले त फूलपाती लिन जाने झाँकीमा भाला बोकेका सिपाहीको जस्तो पोशाक लगाएका मानिस अघिअघि हुन्थे। त्यसपछि पाठ गर्दै हिँडेका बाहुन र घडा लिएका महिलाको लावा लस्कर,’ मगरले थपे, ‘जङ्गलमा राम्रो बेलको रूख फेला पारेपछि त्यस वरपरका अन्य नौ प्रकारका बुटा र फूल टिपेर जयजयकार गर्दै फूलपाती ल्याएर मन्दिर भित्र्याइन्थ्यो,’ मगरले सम्झे।
भट्टराईले भने,’ २५ वर्ष अगाडिसम्म त राई, मगर, लिम्बु, गुरुङहरू मौलामा पशु नकाट भन्न को आउँदोरहेछ त्यसलाई काट्छौँ भन्थे तर कर्णेल लक्ष्मण राई नै अध्यक्ष भएको बेला धार्मिक सङ्घले मौलामा बलि नदिने निर्णय गरेपछि मौलामा बलि प्रथा।’

‘कालरात्रिको रात अझै पनि मन्दिरहरूमा खिरको हवन गरी महाकालीको पूजा गर्ने चलन छ’ भट्टराईले थपे, ‘नवमीका दिन कन्या, बाहुनलाई खिलाउने र दशैँका दिन घरघर र आफन्तकहाँ टिका लगाइन्छ।’
कतिपयले घरघरमा जमरा राखे पनि टिकाको दिन मन्दिरको जमरा लिन जाने चलन अझै पनि म्यानमारमा छ। घरको जमरामा मन्दिरको जमरा मिसाइन्छ।

‘टिकाको दिन सबैभन्दा पहिले घरको मुल खाँबो वा ढोकामा घरमुलीले टिका लगाइदिन्छन्। त्यो राजालाई लगाइदिएको टिका भनिन्छ’ साहित्यकार गुरागाईंले भने।

‘पहिले बर्माका राजा अनि नेपालको श्री ५ लाई सम्झेर मुल ढोकामा टिका लगाइदिने हो। गाईको गोबरमाथि टिका जमरा र पैसा टाँसेर’ भट्टराईले विस्तार लगाए। बर्मा अहिले गणतान्त्रिक मुलुक भए पनि विभिन्न प्रदेशमा पुराना राजालाई मान्ने चलन यद्यपि कायमै छ। राजा रानीका पोशाकमा सजिएका झाँकीहरू अहिले पनि बेलाबेलामा निस्कन्छन्।

‘हामी त पितृभूमी नेपाल भनेर सम्झन्छौं, दशैँ, तिहार, चाडपर्वमा गजक्क पर्छौं। नेपालले संसारको टिकाको साइत भन्दा पनि हामी बर्मेली गोर्खालीलाई सम्झन्न र पो मन दुख्छ,’ भट्टराईले भने।

म्यानमार सन् १९९५ सम्म दशैँमा रातो रङको टिका लगाउने चलन थिएन। सबैले दही र चामल मुछेका सेता टिका मात्र लगाउँथे। ‘यताबाट नेपाल जानेले नेपालमा रातो टिका लगाएको देखेछन्। त्यस्तै च्यानल नेपालको स्याटलाइटबाट प्रसारण सुरु भएपछि शहरमा बस्नेले टीभीमा च्यानल नेपाल जोडे। अनि पो दशैँमा रातो टिका लगाउने भन्ने जानियो त’ गुरागाईंले यहाँको टिकाको रङबारे बताए, ‘रातो रङ पाउन मुश्किल छ। सिम्रिकले काम चलाउने हो। अझै पनि बर्माका कतिपय नेपाली गाउँमा सेतो टिका नै लाउँछन्।’

साहित्यकार गुरागाईंले यसपटक जमरा राखेनन्। ‘कोरोनाका कारण लकडाउन भइरहेका बेला गहुँ जौ, मकै खोज्दै रंगुन शहरमा के निस्कनु’ गुरागाईंले कारण खुलाए, ‘यत्रो बिनास भइरहेको छ विश्वभर यस पटकको दशैँ जति साधारण गरेर मनाए पनि भयो।’

नेपालीभाषीको बाक्लो बस्ती भएको मोगोकमा जन्मेका गुरागाईंका अनुसार सन् ७० को दशकसम्म तीजदेखि नै म्यानमारमा गोर्खालीले लिङ्गे, चर्खे र कतैकतै रोंटें पिङ हाल्थे। तर बढ्दो शहरीकरण र बर्मेलीकरण सँगै पिङ हाल्ने चलन हिजोआज छैन।

दशैँमा हुने नाटक, प्रहसन पनि कमी हुँदै गएको छ। ‘टीभी आयो, मोबाइल आयो, अब नाटक हेर्न कति नै आउँछन् र ? एक दुई ठाउँमा अहिलेसम्म पनि चलन धानेका छन्। तर त्यो पनि अब हराउँछ होला,’ गुरागाईंले भने, ‘रक्सी खाने गोर्खालीहरू पनि बढ्दै गए। रातीमा नाटक हुँदाखेरि रक्सी खाएर झगडा गर्न थाले। आयोजकहरूले पनि कति टाउको दुखाउन्, नाटक देखाउन छाड्दै गए ।’

नेपालमा जस्तै यहाँ पनि दशैँ भनेको नयाँ लुगा लगाउने, मीठो मसिनो खाने, आफन्तहरू भेट्ने र आशिर्वाद थाप्ने नै हो। दुई दशक अगिसम्म कुनै कनै गोर्खाली गाउँमा मालश्री गाउने चलन थियो। हिजोआज म्यानमारमा पनि मोबाइलमा मालश्री धुन बजाएरै काम चलाइन्छ।

‘म्यानमारमा मतुवालीहरूले दशैँको टिका पूर्णिमाका दिनसम्म लगाउँथे भने तागाधारीहरूले एक दिन मात्र लगाउने चलन हो,’ थापा मगरले भने, ‘हिजोआज आ–आफ्नै खुशी छ, धेरैले पूर्णिमासम्म नै टिका थाप्न हिँडेको देख्छु।’

बर्मेलीहरूले गोर्खाली दशैँलाई ‘सांखा पोए’ नाम दिएका छन्। जस्को नेपाली अर्थ चामल (अक्षता) टाँस्ने भन्ने हुन्छ।

गुरागाईंले म्यानमारमा तिहारको बेलामा मात्र कौडा हान्ने चलन भएको बताए। उनले भने, ‘नेपालमा झैं दशैँमा जुवा तास खेल्ने, केटाकेटीले लङ्गुर बुर्जा खेल्ने चलन यहाँ छैन। त्यो नेपाली चलन पनि हैन, खै कहाँबाट नेपालीले सिके?’

अखिल म्यान्मा देशीय किरात गोर्खा साहित्य एवं सांस्कृतिक संघकी केन्द्रीय उपाध्यक्ष माला लिम्बुले म्यानमारमा किराँतीहरूले पनि वर्षौंसम्म दशैँ मनाउँदै आएकामा केही वर्ष यता भने त्यो चलन धेरै किराँतीले रोकेको र कसै कसैले जारी राखेको बताइन्।

‘देशभर किराँतीहरू सात हजारको हारहारीमा छुम् होलाु लिम्बुले भनिन्,’ पन्ध्र, बीस वर्ष अगाडि नेपाल गएर आएका हाम्रा धर्मगुरुहरूले ‘किराँतीले नेपालमा दशैँ मनाउँदा रहनेछन्। अब हामी पनि नमनाउनेु भनेपछि हाम्ले दशैँ मनाउन छाँड्यौं। तर कोहीकोही किराँतीले पुरानो चलन भनेर छाडेका छैनन्।’

किराँतीहरूले चुम्लुङ पर्व मनाउँछन्। आफूले भने दशैँको टिका लगाउने गरेको भन्दै मालाले थपिन्, ‘पहिलेको जस्तो हुन छाड्यो है चाड पर्व। मान्छे शहर पस्न थाले। दशैँ तिहारका बेला पहिले रातरातभर रमाइलो हुन्थ्यो। आजभोलि बर्मेली चाडले किच्दै लगेको छ। हाम्रो पर्व त हराउँदै गाको छ।’
म्यानमारमा मान्यजनको हातको टिका लगाउन जाँदा कोशेली लिएर जाने चलन छ। महिला पुरुष दुबैले फलफूल, बिस्कुट मिठाई, चिया, कपडा आदि लगेर मान्यजनलाई टक्र्याएर टिका जमरा थाप्ने गर्छन्।

मिना खड्काथोकी नेपालमा भनिने कथित दलित जातकी हुन्। रङ्गुनमै जन्मे हुर्केकी खड्काथोकीले नेपाली दूतावासले दशैँका बेला खसी, राँगा काटेर रंगुनबासी गोर्खालीलाई भोज खुवाउने चलन रहेको सम्झिन्। ‘खोई पहिले त बोलाउँथ्यो, पिङ पनि खेल्न पाइन्थ्यो। १०, १२ वर्ष भयो होला थाहा पाउन छाड्यो पो,’ उनले भनिन्।

‘हामी त टिकाको दिन मन्दिरमा गएर पन्डितजीलाई पैसा दिएर जमरा ल्याउँथ्यौँ र घरमा टिका सुरु हुन्थ्यो। यो साल मेरा देवर बितेकाले टिका छैन,’ खड्काथोकीले भनिन्।

म्यानमारमा पनि दशैँ तिहारका बेला रोजगारका लागि परदेशिएका नेपालीभाषीहरू घर फर्कने चलन छ। दशैँ बर्मेली चाड नभएकाले विद्यालय र सरकारी कार्यालय यो बेला बन्द हुँदैन। तर दशैँको पूर्णिमालाई भने बर्मेलीहरूले पनि धुमधामाक साथ मनाउँछन्। तिनका लागि यो वर्षा मौसम र मलमास सकिएर हिउँद लागेको खुशीमा मनाइने पूर्णिमा हो। त्यसले गर्दा कामकाजी गोर्खालीहरूले पूर्णिमा भन्दा दुई चार दिन अगाडिदेखि पूर्णिमासम्म बिदा लिने चलन बर्मामा छ।

म्यानमारमा पनि पूर्णिमाको दिन टिका जमरा सेलाउने चलन छ। खोला नदी किनार हुनेले त नदी किनारमै सेलाउँछन्। कतिपयले गाई गोठमा लगेर सेलाउने गर्छन् भने कतिपयले खेतबारीमा। ‘मैले त गाईको मलखादमा लगेर बाँकी जमरा, टिका, अक्षतापाति सेलाउने गरेको छु,’ थापा मगरले भने, ‘जमरा पनि पहिले पहिले टपरामा राखिन्थ्यो अब आजकाल पेपरबक्समा राख्ने चलन आयो।’ – बीबीसी

Leave a Reply