चन्द्रमाको सतहमा पहिला सोचिए भन्दा धेरै पानी फेला पर्नुको महत्त्व के?

-


     मर्दी न्युज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित


अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले चन्द्रमाको सतहमा पहिला सोचिएभन्दा पानीको मात्रा बढी भएको खुलासा गरेका छन । अनुसन्धानकर्ताहरूले चन्द्रमाको सतहमा कुनाकुनामा प्राचीन बरफको सानासाना थुप्रै टुक्राहरू भएको पत्ता लागेको बताएका हुन् ।

उनीहरूका अनुसार ती प्राचीन बरफमा अर्बौं वर्षदेखि प्रत्यक्ष घामका किरण परेको छैन।

नयाँ अनुसन्धानले चन्द्रमाको सतहको करिब ४० हजार वर्ग किलोमिटर क्षेत्रमा पानी यसैगरी रहेको हुनसक्ने अनुमान गरेको छ । यो खोजले भविष्यमा अन्तरिक्षयात्रीका लागि ताजा पानीको स्रोत बरफ हुनसक्ने सम्भावना देखाएको छ । पानी रहेको स्पष्ट रूपमा पत्ता लागेपछि यसले नासाको चन्द्रमामा आधार बनाउने आकाङ्क्षालाई थप बल दिएको छ ।

यसको उद्देश्य चन्द्रमाकै प्राकृतिक स्रोतको प्रयोग गरेर त्यहाँको आधारलाई टिकाउ बनाउने हो।वैज्ञानिकहरूले पत्ता लगाएका यी विषय नेचर एस्ट्रोनोमी नामक जर्नलमा प्रकाशित भएका छन्।

एउटा भर्चुअल टेलिकन्फरेन्समा बोल्दै जर्नलमा प्रकाशित सामग्रीकी सहलेखिका क्यासी हनिबलले भनिन्ः “चन्द्रमाको एक क्युबिक मिटर माटोमा पानीको मात्रा लगभग ३५० मिलिलिटर हुन्छ।“

हनिबल अहिले नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरकी पोष्टडक्टोरल फेलो हुन् । उनका नासाका सहकर्मी ज्याकब ब्लिचरले जम्मा भएर बसेको पानीको प्रकृति बुझ्न बाँकी नै रहेको बताएका छन्।

उनका अनुसार त्यसले भविष्यमा चन्द्रमामा जानेहरूका लागि त्यो कति उपयोगी हुन्छ भन्ने पत्ता लगाउन मद्दत गर्छ।

चन्द्रमाको सतहमा पानीको सङ्केत यसअघि नै पाइएको भए पनि यी नयाँ खोजहरूले त्यहाँ सोचेभन्दा प्रचुरमात्रामा पानी रहेको थाहा भएको छ ।

ओपन युनिभर्सिटीकी ग्रहहरूसम्बन्धी वैज्ञानिक हाना सर्जियन्टले बीबीसी न्यूजसँग भनिन्, “चन्द्रमामा पानीको सम्भावित स्रोतका लागि हामीलाई यसले थप विकल्पहरू दिएको छ ।“

“चन्द्रमामा आधार कहाँ बनाउने भन्ने विषय धेरै हदसम्म पानी कहाँ छ भन्ने कुराले तय गर्छ ।”

अमेरिकाको अन्तरिक्ष निकायले सन् २०२४ मा ग्रह अन्वेषणमा “अर्को एउटा ठूलो फड्को“ को तयारीका लागि पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई र अर्का एक पुरुषलाई पठाउने बताएको छ।

डाक्टर सर्जियन्टले यसको अर्थ “अन्तरिक्षको अन्वेषण गर्ने थप टिकाउ तरिका“ विकास गर्नुभएको बताइन्।

“त्यसको एउटा हिस्सा भनेको चन्द्रमामा स्थानीय स्रोतहरूको प्रयोग गर्नु हो ( खासगरी पानीको प्रयोग,“ उनले बीबीसी न्यूजलाई भनिन्।

यो पत्ता लाग्नुको अर्थ के हो?

डाक्टर सर्जियन्टका अनुसार यसले “हामी आधार कहाँ बनाउन चाहन्छौं भन्ने ठाउँहरूको सूचीलाई फराकिलो पारेको छ।“

आउँदा वर्षहरूमा चन्द्रमामा अन्तरिक्षयात्री पठाउने थुप्रै मिसनहरू हुँदैछन्। तर दीर्घकालमा चन्द्रमामा स्थायी बसोबास गर्ने योजनाहरू पनि रहेका छन्।

“यसको प्रभाव केही हुनसक्छ। यसले हामीलाई अनुसन्धानका लागि केही समय दिएको छ,“ ओपन युनिभर्सिटीकी अनुसन्धानकर्ताले भनिन्।

“हामी जसरी पनि चन्द्रमामा जाँदै थियौं। तर यसले हामीलाई थप विकल्प दिएको छ र जानका लागि यसलाई थप उत्साहजनक ठाउँ बनाएको छ।“

विज्ञहरूले पानी कसरी निकाल्ने भन्ने उपाय निस्किए पानी(बरफले भविष्यमा चन्द्रमाबाट अर्थतन्त्रका लागि एउटा आधार तय हुने बताएका छन्।

रकेटका लागि चाहिने इन्धन चन्द्रमामै बनाएर पृथ्वीमा पठाउन धेरै सस्तो हुनेछ। त्यसैले चन्द्रमाका अन्वेषकहरू जब भविष्यमा पृथ्वी फर्किन चाहन्छन् वा अन्य गन्तव्यको यात्रा गर्न चाहन्छन्, उनीहरूले पानीलाई अन्तरिक्ष यानमा प्रयोग हुने हाइड्रोजन र अक्सिजनमा परिवर्तन गर्न सक्छन्।

चन्द्रमामै इन्धन हाल्दा त्यसले अन्तरिक्ष यात्राको खर्च घटाउँछ र चन्द्रमाको आधारलाई सस्तो र उपयोगी बनाउँछ।- बीबीसी