Wed. Dec 2nd, 2020

रित्तिदैछ माछापुच्छ्रेमा हिउँ ?

शरद ऋतुको आगमन सँगै यतिबेला अन्नपूर्ण हिमश्रृंखला लगाएत देशैभरिका हिमश्रृंखलाहरु स्वच्छ, सफा र सुन्दर देखिएका छन् । कतिपय हिमालहरुमा दिनैभरि एक टुक्रा बादलपनि देखिएको छैन ।

अन्नपूर्ण हिम श्रृंखला को दक्षिणी भागमा अबस्थित र तुलनात्मक रुपमा होचो भुभागमा रहेको माछापुच्छ्रेले अथाह र अनुपम दृश्य सृजना गर्छ । छोटो दुरिमा रहेको समतल भुभागवाट सिधा हेर्दा यसको ठाडोपन तथा तिखारिदै गएको चुचुरो अनुपम र मनमोहक देखिन्छ । जसको कारणले अन्य हिउँ चुचुरोमा भन्दा कम मात्रामा यस चुचुरो र आसपासका स्थानहरुमा हिउँ अडिन्छ र हिमपातका समय बाहेक निकै कम हिउँ देखिन्छ ।

यसो भन्दै गर्दा पछिल्लो समय विश्वव्यापी तापमानमा बृद्धि भए सँगै त्यसको प्रत्यक्ष असर हाम्रा हिम श्रृंखला र हिमनदीहरुमा परेको छ । एक दशकको समयमा हिउँ भएका टाकुरा तथा आसपासका क्षेत्रहरुको पदयात्रा क्रममा ब्यापक मात्रामा हिउँको मात्रा घटिरहेको प्रत्यक्ष अनुभव पनि गरिएको छ र माछापुच्छ्रे पनि त्यसबाट अछुतो रहेको छैन । जसकारणले गर्दा असोज देखि बैशाख सम्म यस चुचुरोमा हिउँ दश प्रतिशत भन्दा कम रहेको देखिन्छ ।

अन्नपूर्ण हिम श्रृंखलाको सुन्दर हिमाल मध्येको एक तथा पर्यटकीय नगरी पोखरामा पुग्ने जोकोही को मन लोभ्याउने हिम चुचुरो माछापुच्छ्रे हिजोआज हिउँ सिद्धिएको कालोखैरो चुचुरो जस्तो देखिएको छ । पोखराबाट अन्य हिमाल भन्दा केहि अग्लो देखिने यो हिमाल कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ मा बिराजमान छ भने पोखरा उपत्यकाबाट करिब २५ माइल दुरीमा रहेको छ ।

यसका जुम्ल्याहा चुचुराहरु माछाको पुच्छर सँग मिल्दो जुल्दो देखिने हुनाले यसलाई माछापुच्छ्रे भनिएको हो र यो शब्दलाई अंग्रेजिमा उल्था गरि माउण्ट फिस्टेल भनेर धेरै प्रयोगमा पनि गरिएको पाईन्छ । पोखरा तथा यसभन्दा पूर्ववाट पुच्छरको आकार नदेखिएपनि उपत्यकाबाट पश्चिम लागे सँगै दुबै टाकुराहरु र आकृति देख्न सकिन्छ ।

यस हिमाललाई कुन स्वरुप र कस्का लागि पवित्र हो भन्ने कुरा स्पष्टरुपमा नभेटिए पनि कुमारी हिमाल तथा पबित्र पर्वतको नामले चिरपरिचित छ । समुन्द्री सतह बाट ६९९३ मिटरमा अबस्थित यो हिम चुचुरोको शिखरमा कोहि पनि नपुगेको विश्वास गरिन्छ । निश्चित जानकारी अनुसार सन् १९५७ मा नेपालको पर्यटनका अग्रगामी ब्यक्तित्व लेफ्टिनेण्ट कर्णेल जिम्मी रोर्बटले नेतृत्वमा गरेको एक ब्रिटिश आरोहि दलका सदस्यद्धय विलफ्रिड नोयस र ए.डि.यम.कक्सले उत्तरी मोहडाबाट चुचुराको १५० मिटर नजिक सम्म आरोहण गरेको उल्लेख गरिएको पाइन्छ ।

यसै प्रसङ्गमा नोयस र उनको टोली चुचुराको शिखरमा नपुगी तल फर्केको ब्यहोरा तत्कालिन राजा श्री ५ महेन्द्र लाई अबगत गराएको र राजाबाट त्यस टिमलाई शब्दहरुद्धार सम्मान गरेको तथ्य इतिहासमा भेटिन्छ । यस घटना सँगै त्यस पछिका दिनहरुमा माछापुच्छ्रे आरोहणका लागि कुनै अनुमतिपत्र जारी गरिएको छैन ।

त्यसैगरि न्युजिल्याण्डको एक पर्वतारोही बिल डेन्जले सन् १९८० को सुरुवात तिर शिखर सम्मेलनको लागि एक सफल तर अबैधानिक आरोहण गरेर शिखर चुमेको भन्ने तथ्य सुनिएपनि कहि कतै आधिकारिक पुष्टी भएको छैन ।

बिभिन्न स्थान, समय र ऋतुहरुमा माछापुच्छ्रेका विभिन्न रुपहरु

प्रसिद्ध रोयल पदमार्गको ठूलाकोटबाट सुर्योदयमा देखिएको स्वरुप
हालका दिनमा निकै लोकप्रिय मर्दी हिमाल पदमार्गको हाइक्याम्पबाट रातिको समयमा तारा सँगै देखिएको स्वरुप
अन्नपूर्ण आधार शिबिर बाट साँझको समयमा उदाउँदै गरेको चन्द्रमा सँगै देखिएको स्वरुप
खोप्रा पदमार्ग अन्र्तगत मुल्दी भ्यू प्वाइन्ट बाट सुर्योदय अगाडि देखिएको स्वरुप
लेकसाइड, पोखराबाट दिउँसो देखिएको स्वरुप
हिमपात पछि पोखरा उपत्यको बिरौटा फाँटबाट देखिएको स्वरुप
हेम्जा मेलवोट वाट सुर्यास्तमा देखिएको स्वरुप

सम्पूर्ण तस्बिरहरुको सर्बाधिकार पंक्तिकारमा सुरक्षित छन् ।

Leave a Reply