Wed. Dec 2nd, 2020

प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणीः टुटेपानी !

प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणी हो तनहुँको भानु नगरपालिका–१३ मा पर्ने टुटेपानी गाउँ । स्वच्छ हावापानी, प्राकृतिक सौन्दर्य, अग्र्यानिक खानेकुरा, स्थानीयको सौहार्दपूर्ण व्यवहार । नेपालका प्रायः गाउँलेहरू सरल, निश्चल र सहयोगी हुन्छन् । ‘अतिथि देवो भवः’ गाउँलेहरूको व्यवहारमा मात्र पाइन्छ । त्यस्तै आत्मीयताको एउटा मुहान हो टुटेपानी गाउँ ।

गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो कोहीलाई लठ्ठ बनाउँछ । १२७५ मिटरको उचाईमा रहेको टुटेपानी गाउँ तनहुँको दोस्रो अग्लो डाँडा मिर्लुङकोट (१,६४५ मिटर)को दक्षिणी काखमा अवस्थित छ ।

गत सोमवार मेरो छिमेकी गाउँ जान पर्यटनविद् एवम् उपप्राध्यापक श्रीकान्त खतिवडा सरले मलाई धेरैपटक फोन गर्नुभएको रहेछ । आइतबार मात्र गाउँबाट फर्केकाले थाँती रहेका काममा सोमवार बिहान व्यवस्त भइयो । मोवाइल चार्जमा छाडेर बसेको बेला बिहान धेरैपटक फोन गर्नुभएको कुरा मिलेनियम पदमार्ग व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी गराउनु भयो । त्यसपछि मोवाइल हेर्दा उहाँले करिब १२/१५ पटक फोन गर्नुभएको रहेछ । मैले उहाँलाई तत्काल फोन गरें । एक बजे तयार हुन उहाँले भन्नुभयो । सोही बमोजिम एक बज्न अगावै पोखराबाट दमौलीतर्फ हामी लाग्यौं । दमौलीमा पुगेपछि पर्यटन व्यवसायी एवम् मिलेनियम पदमार्ग व्यवस्थापन समितिका महासचिव हर्क गुरुङलाई लिएर हामी टुटेपानी गाउँतर्फ लाग्यौं । कलेस्तीफाँट, गजौंडाफाँटमा पहेंलै भएर धानका बाला झुलिरहेका थिए । कतिपय ती फाँटहरूमा धान काट्दै गरेका पनि थिए । यस्ता दृश्य नियाल्दै समजुर, पोखरीछाप हुँदै हामी टुटेपानी करिब ४ बजे नै पुग्यौं ।

गाउँ प्रवेशद्वारको दायाँबायाँ महिला र पुरुषहरु स्वागतको लागि उभिएको थियो । उनीहरूले बाँसुरी र मादलको धुनसँगै फूलमालाले स्वागत गरे । पहिल्यै खबर गरेर आउने सबै खाले पाहुनालाई उनीहरूले यसरी नै स्वागत गर्दाछन् ।

हामीलाई आमा समूहद्वारा निर्मित सामुदायिक सभा हलमा पु¥याएर खाजा खुवाउनु भयो । अनि समितिका सचिव अमर गुरुङले कार्यक्रम चलाउनु भयो भने कोभिड महामारीका बेला पनि त्यहाँ हामी पुग्नुको उद्देश्यबारे पर्यटनविद् खतिवडा सरले प्रकाश पार्नुभयो । त्यहाँ जानुको मुख्य उद्देश्य घरवास कार्यक्रम कसरी चलिरहेको छ, त्यसको समस्या, आगामी रणनीतिलगायतको विविध विषयमा जानकारी लिन र तथ्याङ्क संकलन गर्न थियो ।

एकछिनको छलफलपछि हामी तथ्याङ्क संकलनतर्फ लागियो । १६ वटा घरबासमध्ये त्यसदिन १० वटा जतिको तथ्याङ्क संकलन गर्दा करिब ८ बजिसकेको थियो भने बाँकी भोलि बिहान पुनः सुरु गर्ने गरी खाना खानेतर्फ लाग्यौं । खाना खाइसक्दा ९ बजिसकेको थियो । पुनः सभाहलमा भेलाभई हामी उनीहरुको नाचगान हेर्नतर्फ लाग्यौं । सामुदायिक भवनको सभाकक्ष अघिल्तिर स्वागत गीत सुरु भयो-

‘स्वागत छ, स्वागत छ सबैलाई
यो हाम्रो रमाइलो गाउँमा
चारैतिर हरियाली ठाउँ
प्रकृतिले हराभरा टुटेपानी गाउँ ।

यो गीतमा छमछमी नाचे दुई युवती । नृत्य आकर्षक थियो । गीतमै पाहुनाको स्वागत र गाउँको परिचय र प्रवर्द्धन पनि ! उनीहरूले चुड्का, पाउँदुरे (कृष्णचरित्र), ठेटर र घाटु लगायतका नाच देखाए ।

नाचगानपछि हामी ५ जना दुई घरमा बाँडिएर सुत्यौं । बिहानचाहिं ५ बज्नु अघि नै हामी उठिसकेका थियौं । सबेरै हामी सूर्योदय हेर्न सनसरी डाँडामा निर्माण भएको भ्यूटावरतर्फ लाग्यौं । त्यहाँ पञ्चायतले ०१८ सालमा हत्या गरेका सहिद कृष्णबहादुर गुरुङको सालिक पनि छ । प्रजातन्त्रवादी योद्धा कृष्णबहादुरको सालिकसामु मुन्टो झुकायौं हामीले ।

सूर्योदयसँगै भ्यूटावरबाट हामीले गाउँलाई खिच्यौं । अनि तनहुँ जिल्लाको दोस्रो अग्लो शिखर मिर्लुङकोटतर्फ लाग्यौं । रानीपोखरीसम्मको जीप यात्रा पछि करिब १५/२० मिनेटको पैदलयात्रा गरेर मिर्लुङकोट पुगियो । टेलिफोन टावर निर्माणले त्यहाँ भएको भग्नावशेषलाई नष्ट गरिसकेका रहेछन् । त्यहाँबाट देखिने दर्जनौं हिमाल नियाले । त्यसदिन बादलले धेरै हिमाल छेकेतापनि अन्नपूर्ण, हिमचुली, माछापुच्छ्रे देखि लमजुङ र गणेश हिमालसम्म प्रष्टै देखिएको थियो । केहीवेर मैले त्यतै क्यामेरा सोझ्याइरहें ।

हिमाल हेर्दै हामी तल झ¥यौं त्यहाँको शक्तिपीठ भँयरथानमा । त्यहाँ पुगेर दर्शन गरि हामी जीप चढ्दै बयापानी भञ्ज्याङ पुगियो । मिर्लुङकोटबाट देखिने नाउँदीफाँट बाक्लो जंगल र टेलिफोन टावर निर्माणका कारण हेर्न नसकिएका दृश्य बयापानी भञ्ज्याङबाट नियाल्दै पुनः टुटेपानी फर्कियौं । त्यसबेला बिहानको ९ बज्न थालिसकेको थियो । बिहानको खाजा खाँदै पुनः बाँकी काममा जुट्यौं । केही छोटो समयको वावजुद हामीले आप्mनो काम सम्पन्न ग¥यौं । खाना खाएपछि हामी सरासर ठूलो ढुंगामा पुग्यौं । विशाल ढुंगामाथि रूखै रूख छ त्यहाँ । ढुंगाभित्र सिद्ध गुफा । तर विडम्बना त्यस गुफाको अध्ययन नै हुन सकेको छैन । पुनः हामी टुटेपानी फर्कियौं र छोटो औपचारिक कार्यक्रमपछि हामी फर्किने तयारी भयो । मानो खाई मुरी भित्र्याउने समय भएकाले सकेसम्म छिटो खाना खाई फर्किने हाम्रो योजनाअनुसार हामी बाटोमा निस्कँदा टुटेपानीका दिदीबहिनीहरूले गीत गुन्जाए । गीत निकै मन छुने थियो । लाग्छ, अझै पनि मनको कुनै कुनामा ध्वनित भइरहेकै छ —

‘हाम्रो माया साथैमा लिए
होला भेट भाग्यले साथ दिए
सँगै ज्यूँला, सँगै मरूँला
पुगेपछि फोन गर हजुर
मनको कुरा फोनमा गरूँला ।’

हामी बिदा मागी ग्रामीण पर्यावरणमा रम्दै, गफिँदै १५ मिनेटको यात्रापछि पुलिमराङ गाउँको सहिदपार्क पुग्यौँ । देशमा पटकपटक राजनीतिक व्यवस्थाहरू त परिवर्तन भए तर मेरो गाउँ पुलिमराङको अवस्था अझै उस्तै छ । पुलिङमराङ गाउँको जस्तो अवस्था नेपालमा धेरै छ । राज्यको नजरबाट कहिलेसम्म उपेक्षाको शिकार भइरहने होलान् हाम्रा गाउँहरू? लोकतन्त्रका लागि सहादत दिने सहिदहरूको गाउँमा पुग्दा जो कोहीको पनि मन भक्कानिन्छ ।

व्यास नगरपालिकाको वडा नं ८ मा रहेको मेरो पुलिमराङ गाउँलाई सहिदहरूको गाउँका रूपमा चिनिन्छ । एकै गाउँका ६ जना योद्धाले वि.सं. २००७ को क्रान्ति र वि.सं. २०१८ मा निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध लड्दा सहादत पाएका थिए । यिनै छ जना सहिदहरू धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, हस्तवीर गुरुङ, सर्वसिंह गुरुङ, शम्शेरबहादुर गुरुङ र भरत गुरुङको प्रतिमा लहरै बनाइएका छन् यो पार्कमा । २०५१ सालमा शिलान्यास गरिएको उक्त पार्क गत वर्षको सहिद दिवसमा मात्र उद्घाटन गरिएको छ । लाखौं विन्ती गरेर प्राप्त गरेको चुबुर चुबुर बजेटले भएको निर्माण र पार्कको अवस्था हेर्दा त्यहाँ पुग्ने जो कोहीले सहजै अनुमान गर्छन् यो त सहिदप्रति अपमान भयो कि? भन्ने ।

केहीछिनको पार्क अवलोकन पछि हामी रिस्ती खोला, सोतीपसल, दुईपिप्ले– पोल्याङटार–देउराली हुँदै अर्को पर्यटकीय गाउँ दगाम पुग्यौं । त्यसदिन त्यहीँ बासबसी टुटेपानीमा जस्तै तथ्याङ्क संकलन गरी सुत्ने बेलामा रातको ११ः३० हुन लागिसकेको थियो ।

छोटकरीमा मिर्लुङ सेरोफेरोः
पर्यटकीयको अथाह सम्भावना भएको ठाउँ हो मिर्लुङ सेरोफेरो । खिचिरहुँझैं लाग्ने प्रेमिल दृश्य अपार छन् । विशाल ढुंगामाथि रूखै रूख र त्यस ढुंगाभित्र भएको सिद्ध गुफाको चर्चा बाहिर ल्याउन सकेको छैन । मिर्लुङकोटमा प्राचीन दरबारका भग्नावशेष, भयँरथान, बाघको खोर, रानीपोखरी लगायत सम्पदा छन् । धार्मिक सहिष्णुता बोकेको यस क्षेत्रमा दर्गा जामे मस्जिद पनि छन् । साँस्कृतिक धरोहरहरु धेरै छन् । जाडो सिजनमा गाउँबाट तल हेर्दा ‘व्हाइट लेक’ देखिन्छ । त्यस ठाउँमा पुग्नुपर्दा दुई रात बस्ने गरी यात्राको योजना बनाउनु अझ बेस हुन्छ ।

कसरी पुग्ने ः दमौलीबाट उत्तरमा टुटेपानी । पृथ्वीराजमार्गको डुम्रे र दमौलीबाट टुटेपानी जाने थुप्रै सडक छन् । दमौलीबाट छापथोक–गौरीस्वाँरा–पोखेरीछाप हुँदै २४ किमीको यात्रा पछि टुटेपानी गाउँ पुग्न सकिन्छ । त्यसैगरी दमौली–कलेस्ती, समजुर–पोखरीछाप–टुटेपानी २२ किमी यात्रा र डुम्रे–सेपा बगैंचा–समजुर–पोखरीछाप–हुँदै करिब २५ किमीको यात्रा गरेपछि पनि टुटेपानी पुग्न सकिन्छ । त्यसैगरी डुम्रे–तुरतुरे–कालीमाटी–ढाँडफेदी–पुलिमराङ गाउँ हुँदै पनि पुग्न सकिने बाटो छ भने पोखरा–देउराली–दुईपिप्ले–सोतीपसल–पुलिमराङ हुँदै करिब ६५ किमीको यात्रापछि टुटेपानी गाउँ पुग्न सकिन्छ । खासगरी दमौलीबाट मध्यान्ह १२ बजे र दिउँसो २ बजे टुटेपानी पुग्ने बस पाइन्छ भने डुम्रेबाट दिउसो १ः ३० बजे छुट्ने बसमा चढ्न सकिन्छ ।

Leave a Reply