Wed. Dec 2nd, 2020

पोखराका किसानलाई धान उठाउने हतारो

पोखरा, २९ कात्तिक । पोखरामा कोरोना संक्रमणको दर बढेपनि काँठक्षेत्रमा भने यसको खासै असर देखिएको छैन ।

चाडबाडकै बीचमा काँठक्षेत्रका किसानलाई पाकेको धानबाली थन्क्याउन भ्याइ–नभ्याइ छ ।

असोज महिनामा मनाइने दशैं यसपटक अधिकमासको कारण एक महिना पर धकेलिएपछि किसानहरु दोहोरो हतारमा छन् ।

एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ तिहार नजिकिएर पर्व मनाउने हतार छ ।

पोखराका फाँटहरुमा डेढदशक अघि यो सिजनमा पहेंलै देखिने फाँटहरुमा क्रंक्रिटका घरहरु बाक्लो भइसकेको छ । यद्यपि टुक्रा टाक्री खाली जग्गा र काँठ क्षेत्रको धान खेत पुग्दा किसानहरु कोही धान काट्दै थिए भने कोही धान उठाउँदै थिए । कोही भने धान झार्दै थिए ।

यसवर्ष वर्षा सिजन पनि केही लम्बिएकाले खेतमा भेटिएका किसानहरुले धान काट्दै गरेका थिए भने कोही धान थन्काएर तिहार मनाउने योजना रहेको बताए ।

त्यस्तै, कोरोना संक्रमणको जोखिम भएपनि गाउँमा त्यसको असर नपरेकोले धान काट्ने काममा आफूहरु व्यस्त भएको किसानहरुको भनाइ छ ।

असारमा धान रोपेर कात्तिकभित्र थन्क्याइसक्ने चलन भएपनि यस वर्ष भने केही ढिलो भएको उनीहरुले बताए ।

पानी परे धान भुइँमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार–हतार उठाउने गरिन्छ ।

तस्विरहरुः मनशान्त घिमिरे

Leave a Reply