Wed. Dec 2nd, 2020

पुम्दीकोट धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै

तस्विरः मनशान्त घिमिरे

पोखरा महानगरपालिका २२ स्थित पुम्दीकोटमा विशाल महादेवको मूर्ति जडान गर्ने काम चलिरहेको छ । पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले हाल भूमेश्वर महादेवको विशाल मूर्ति जडान गरिँदैछ ।

भारतको मथुराबाट विशाल भूमेश्वर महादेवको मूर्ति निर्माणस्थलमा ल्याई जडान गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । भूमेश्वर महादेव मूर्ति निर्माण समितिका संयोजक समेत रहेका उनले फाइवर ग्लासको ६ टन तौल बराबरको सो मूर्ति जडान जारी रहेको बताए । मूर्ति जडानका लागि भारतबाटै झिकाइएका २० जना कामदार खटिएका छन् ।

सिंहासनमा बसेको ५१ फिट अग्लो सो मूर्तिको जडान कार्य अहिले जारी रहेको छ । महाशिवरात्रीसम्म उद्घाटन गर्ने सोचका साथ समिति अघि बढेको निर्माण समितिका सदस्य समेत रहेका महेन्द्रराज बरालले जानकारी दिए ।

तस्विरः मनशान्त घिमिरे

मूर्ति स्थापनासँगै १०८ शिव लिङ्ग, १०८ स्वर्गद्धारी सिंढी लगायत संरचना पनि निर्माण भइरहेका छन् । विशाल महादेव मूर्ति निर्माण कार्यका लागि २०७३ साल फागुनमा महाशिवपुराण लगाउँदा करिब ६ करोड रुपैयाँ र २० रोपनी जग्गा दान प्राप्त भएको निर्माण समितिका सदस्य महेन्द्रराज बरालले जानकारी दिए । निर्माण कार्य करिब ७ रोपनी क्षेत्रफलमा भइरहेको उनले जनाए ।

बरालका अनुसार हालसम्म करिब १५ करोड रुपैया खर्च भइसकेको बताउदै तत्कालका लागि २ करोड रुपैयाँ आवश्यक रहेको समेत जनाए । उनले संघिय सरकार, प्रदेश सरकार, पोखरा महानगरलगायतका विभिन्न निकायबाट समेत सहयोग रहँदै आएको बताउँदै समिति अझै ३ करोड ऋणमा रहेको पनि जानकारी दिए । योजनाको लागि पर्यटन मन्त्रालयबाट २ करोड ८० लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले जानकारी दिए । त्यस्तै पोखरा महानगरपालिकाले १ करोड ५० लाख सहयोग उपलब्ध गराएको थियो भने गण्डकी प्रदेश सरकारले ४८ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

पुम्दीकोटमा महादेव मूर्ति स्थापनासहित धार्मिक, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु गरिएको योजना साकार पार्न ४० करोड खर्च हुने अनुमान गरिएको परिकल्पनाकार समेत रहेका अध्यक्ष बरालले बताए ।

तस्विरः खेम गुरुङ

पुम्दीकोटबाट पोखरा उपत्यका, छिमेकी जिल्लासहितका विभिन्न भूभाग, हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मूर्ति स्थापनाभन्दा यसअघि नै त्यहाँ भ्यूटावर समेत भएकाले मानिसहरुको आवतजावत भइरहने स्थान भएपनि हाल महादेवको मूर्ति निर्माणसँगै कोभिड–१९ को महामारीबीच पनि आवतजावत बढ्दै गइरहेको छ । पुम्दीकोट पोखराको छोरेपाटनबाट करिव ९ किलोमिटर दुरीमा रहेको छ ।

पुम्दीकोटमा समितिले सुरुमा उभिएको स्वरुपमा १०८ फिटको महादेवको मूर्ति राख्ने भनिएपनि हवाई उडानमा हुने सम्भावित जोखिमलाई मध्येनजर गर्दै नागरिक उड्डयन प्राधिकरणको सुझावअनुसार पद्मासनको स्वरुपमा ५१ फिट उचाइको मूर्ति स्थापना गरेको अध्यक्ष बरालले जानकारी दिए ।

तस्विरः खेम गुरुङ
तस्विरः खेम गुरुङ

Leave a Reply