Wed. Dec 2nd, 2020

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल जन्मस्थान गाउँका युवाहरु नेकपा प्रवेश

तनहुँ, ६ मंसिर । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको जन्मस्थान गाउँका युवाहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

जिल्लाको व्यास नगरपालिका वडा नं. ८ का युवाहरु नेता पौडेलले आफ्नो जन्मस्थानलाई वेवास्ता गरेको र नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन् ।

गणेश गुरुङको नेतृत्वमा गाँडापानी गाउँका २० जना युवाहरुलाई प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शनिवार एक कार्यक्रमका बीच टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले कांग्रेसको भ्रमको खेती अब सकिएको बताए । उनले कांग्रेसले २५ वर्षसम्म नगरेको विकास नेकपाले तीन वर्षमै गरेको बताए ।

‘काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको घर बाहुन पोखरा जाने खोलामा नेकपाको सरकारले पक्की पुल बनाउदैछ, अब बाटो पनि कालोपत्रे गरेर रामचन्द्र पौडेललाई हिडाउछु ।’ उनले भने, ‘म पनि अहिलेसम्म भ्रममा थिएँ, किनकी यति ठूलो नेताको गाउँ यस्तो विकट छ भन्ने थाह थिएन । अब रिस्तीको विकासको जिम्मा लिन्छु ।’

सांसद श्रेष्ठले गाँडापानीका आमा समुहको भवनको निर्माण, बराहदेबी मन्दिरको संरक्षण र सडकको स्तरोन्नतिको काम पनि छिट्टै सुरु हुने बताए । उनले सहिदबस्ती पुलिमराङको विकासको लागि पनि काम गर्नुपर्ने बताउँदै पुलिमराङ गाउँको पनि उचित सम्बोधन गर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभाका सदस्य रामबहादुर गुरुङले रिस्तिमा मात्रै तीनवटा पुल बन्न लागेको बताए । ‘सडक सन्जालले बाहुन पोखरा र गाँडापानीलाई जोड्दै छौ ।’ उनले भने, ‘पहिलो चरणमा सडकमा नाली र ग्राभेल गर्छौ । त्यसपछि क्रमशः कालोपत्रे गर्ने छौ ।’

व्यास वडा कमिटीका अध्यक्ष नेत्र तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रवेश गरेका युवाहरुले पौडेलले स्थानीय विकास मन्त्री, शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसके पनि आफ्नो गाउँ जाने बाटोको ट्रयाकसमेत नखोलेको गुनासो गरेका थिए ।

पौडेलको जन्मस्थान गाउँ बाहुनपोखरा र गाँडापानी जोडिएका गाउँहरु हुन् ।

तस्विरहरुः मनोजकुमार श्रेष्ठ

Leave a Reply