Wed. Dec 2nd, 2020

सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारवाही गर्न झलनाथ र माधव नेपालको माग

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले  शनिबार चितवनमा पूर्वअर्थमन्त्री एंव प्रतिनिधि सभा सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी भएको कार्यक्रममा सुनियोजित रूपमा नाराबाजी र अभद्र व्यवहार भएको बताएका छन्। 

चितवनको राप्ती नगरपालिकास्थित विरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेला सम्बोधनका क्रममा वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्य पाण्डेलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै अभद्र व्यवहार गरेका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताद्वयले शनिबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका हुन्। 

‘गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ,’ बरिष्ठ नेता खनालले भनेका छन्,’कार्यक्रममा आफ्ना भनाइ राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।’

अर्का बरिष्ठ नेता नेपालले पनि पाण्डेविरूद्धको नाराबाजी सुनियोजित भएको बताएका छन्। 

‘सभ्य, सुसँस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानबिन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउॅछु,’ नेपालले भनेका छन्। 

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पाण्डेले बोल्ने क्रममा पाण्डेविरुद्ध पार्टी एकताविरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले नाराबाजी गरेका थिए।

Leave a Reply