सगरमाथा राष्ट्रिय निकुञ्जमा भेटियो नयाँ चरा

तस्बिरः पेम्बा शेर्पा

हिमाल आरोहण गर्ने तथा सगरमाथा आरोही पेम्बा शेर्पाले वन्यजन्तुको फोटोहरु खिच्ने क्रममा यहि नोभेम्बर २२ तारिखको बिहान सगरमाथा राष्ट्रिय निकुञ्जको थोमोमा, ३६४७ मिटरको उचाईमा सिमकुखुरा भेटेका छन् । यो प्रजाति निकुञ्जकै लागि नयाँ रहेको छ । सिमकुखुरा थपिए सँगै निकुञ्जमा चराको संख्या २२० पुगेको छ ।

कोभिड १९ ले गर्दा राजधानीमा निकै लामो समय बिताएका शेर्पा कालिज प्रजातिका चराहरुको फोटो खिच्न दुइ दिन अघि मात्र सगरमाथा क्षेत्र पुगेका थिए । साथी पेम्बा तेन्जिङ शेर्पा सँगै डाँफेको फोटो खिच्ने क्रममा टुप्लुक्क नौलो प्रजातिको चरा आइपुग्दा के रहेछ भनि सिमकुखुराको फोटो खिचेको बताउँछन शेर्पा ।

समुन्द्री सतहबाट ७५ मिटर देखि १३७० मिटर सम्ममा प्रचुरमात्रामा भेटिने यो रैथाने प्रजातिको चरा यस अघि पनि अग्लो भुभाग ३८०० मिटरमाः लामटाङ राष्ट्रिय निकुञ्जमा सन् १९९९ र २००१ तथा अन्नपूर्ण संरक्षण क्षेत्रको लोमाङथान खोला र किमलिङ खोलामा सन् २००७ भेटिएको थियो ।

विश्व सम्पदाको सुचिमा रहेको यो निकुञ्जमा सन् १९९० सम्ममा चराको प्रजाति १९४ रहेको थियो । सन् २०१५ मा बरिष्ठ पंछीविद तथा नेपाल पंछीविद संघका कोषाध्यक्ष हठन चौधरी, तत्कालिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिस्ट लक्ष्मण पौड्याल तथा सगरमाथा राष्ट्रिय निकुजका गेम स्काउटत्रयः भरत कुमार कार्की, भुन बहादुर थापा र अलोक कुमार यादवले गरेका पंछी सर्वेमा २५ वटा नयाँ प्रजातिका चराहरु थपिएका थिए ।

आरोही तथा वन्यजन्तु फोटोग्राफर पेम्बा शेर्पा

तल्लो भुभागका पोखरी, ताल, घोलका झाडीहरुमा भेटिने यो प्रजातिको चरा यति धेरै उचाइ तथा सुख्खा ठाउँमा भेटिनु आफैमा रहस्यमय छ । विश्वब्यापी तापक्रममा बृद्धि, मौसममा भएको ब्यापक परिवर्तन आदिले गर्दा पछिल्ला समयमा चराहरु असामान्य स्थानहरुमा भेटिइ रहेका छन् ।

Leave a Reply