अति संकटापन्न नर्कट घाँसेचरी हाल सम्मकै उच्च स्थानमा अभिलेख

Photo: Sanjaya Tha Shrestha

तराईका नर्कट झाडीमा प्राय स्थान विशेष भेटिने अति संकटापन्न नर्कट घाँसेचरी काठमाण्डौं उपत्यकाको मनोहरा खोला परिसरमा पहिलो पटक अभिलेख भएको छ । समुद्री सतहभन्दा २५० मिटर उचाईमासम्म यस प्रजातिको अभिलेख भएपनि त्यस उचाइभन्दा माथि हालसम्म अभिलेख भएको थिएन ।

पंछीको चहलपहल तथा पंछी अबलोकनका लागि अति नै उपयुक्त यस खोला परिसर कोभिड १९ को कहरभन्दा पहिले केहि पंछी अवलोकनकर्ता पुगे पनि त्यस क्षेत्र गुमनाम अवस्थामा रहेको थियो । विश्वब्यापी महामारी तथा त्यसपछिका बन्दाबन्दी समयमा रोजगारी गुमेका तथा फुर्सदिला पंछी अवलोकनकर्ताहरु तथा वन्यजन्तु फोटोग्राफरहरुको समुहहरु वाग्मती करिडोर, टौदह तथा उपत्यकाको अन्य क्षेत्रसँगै यस क्षेत्रमा पनि बाक्लो उपस्थिति रहन पुग्यो ।

जसले गर्दा यस वर्ष एक पछि अर्को गर्दै फिरन्ते, वटुवा तथा हिउँदे आगन्तुक प्रजातिका पंछीहरुको उल्लेख्य अभिलेख भयो । कतिपय त सात दशक, चार दशक तथा दुइ दशक पछि यस क्षेत्रमा देखियो जुन पंछी अवलोकन तथा अनुसन्धानमा निकै महत्वपूर्ण उपलब्धीको रुपमा लिनुहुन्छ वरिष्ठ पंछीविद डा. हेम सागर बराल ।

यसै क्षेत्रमा मंसिर ४ गते शनिवारका दिन पर्यटनकर्मी, पंछीविद, अवलोकनकर्ता तथा वाइल्डलाइफ फोटोग्राफर संञ्जय था श्रेष्ठ, गोपी श्रेष्ठ, सुगम ताम्राकार र संयम रुम्बाको टोलीले तराईको होचो भूभागमा मात्र भेटिएको नर्कट घाँसेचरीको तस्बिरसहित महत्वपूर्ण अभिलेख गराएका छन् जुन हाल सम्मकै उच्च भूभागमा भेटिएको महत्वपूर्ण प्रमाण हो ।

अंग्रेजिमा स्ट्राइटेट ग्रासवर्ड भनिने यो प्रजाति नेपालमा पहिलो पटक सन् १९३८ मा पहिलो पटक बेइलीले कोशी नदीमा नमुना संकलन गरेका थिए । सन् १९५३ सम्म केहि स्थानमा कहिलेकाँही देखिएको भने पनि सन् १९८२ सम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बेलायती बरिष्ठ पंछीविद क्यारोल र टिम इन्स्किपले अभिलेख गर्ने समयसम्म कहिकतै देखिएको थिएन ।

नेपालका लागि अति संकटापन्न सुचीमा रहेको यो प्रजाति सन् १९८३ मा चितवन राष्ट्रिय निकुञ्जका लागि रैथाने तथा बच्चा कोरल्ने हुन सक्ने भने पनि सन् १९९९ र सन् २००४ मा क्रमशः बरिष्ठ पंछीविद हठन चौधरी र हेमसागर बरालले अभिलेख गरेयता कुनै उपस्थिति भेटिएको छैन ।

बर्डलाइफ इन्टरनेशलका अनुसार नेपाल सँगै पाकिस्तान, फिलिपिन्स, थाइल्याण्ड तथा भियतनाममा पाइने यो प्रजातिको बासस्थान घाँसे मैदान तथा नर्कट झाडीमा आगलागी, बाढी, ब्यापक गाईवस्तुको चरण तथा सिमसारका घाँसहरुको धेरै मात्रामा प्रयोग हुनाले दिन प्रतिदिन घट्दो क्रममा छन् ।

ठिमाहा फ्यालफ्याले पनि उपत्यकामा पहिलो पटक अभिलेख गरिएको थियो

मन्दिर तथा पुरातात्विक शहरले ख्यातीप्राप्त भक्तपुरमा केहि पोखरी छन् । प्राय साना पोखरीहरु सिमेन्टेट पर्खाल भित्र रहेका हुनाले जलपंछीका लागि उपयुक्त स्थान नभएपनि सन् २०१७ मा बोडेको कमलपोखरीमा उपत्यकामै पहिलो पल्ट ठिमाहा फ्यालफ्यालको फोटो सहित अभिलेख गराएका थिए पर्यटनकर्मी तथा वाइल्डलाईफ फोटोगा्रफर संञ्जय था श्रेष्ठ तथा सुभास पौडेलले ।

नेपालका लागि अनियमित, अप्रचुर तथा वटुवा यो प्रजातिको सन् १९७१ मा हरिशरण नेपाली काजीले सप्तरीको शिशवाबिटमा पहिलो पटक नमुना संकलन गरेका थिए । कोशीटप्पु वन्यजन्तु आरक्ष तथा कोशी ब्यारेजमा प्राय देखिएपनि चितवन राष्ट्रिय निकुञ्ज, जगदिशपुर जलाशय र मकवानपुरमा यसको अभिलेख गरिएको छ । साथै पोखरा उपत्यका विशेष गरि फेवातालमा सन् २००९ तथा सन् २०१५ यता वटुवाको रुपमा पंक्तिकारले फोटो सहित भेटेका छन् ।

Leave a Reply