सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलाे दिन आइतबार भएकाे कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो ।

केही दिनयता दिनहुँ कीर्तिमान कायम गरिरहेको सेयरबजारमा आज एकै दिन रू. ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो ।

२०० ओटा कम्पनीको ८० हजार २७१ पटकको कारोवारमा उक्त रकम बराबरको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम र कित्ताले आइतबार नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आइतबार नेप्से परिसूचक तथा कारोबार रकममा नयाँ रेकर्ड नै कायम भए पनि सबै लगानीकर्ताहरुले कमाउन सकेनन् ।

आजको कारोबारमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी कमर्सियल बैंकका लगानीकर्ताले पनि १० प्रतिशत आम्दानी गरेका छन्। सनराइज बैंक र माछापुच्छ्रे बैंकका लगानीकर्ताले पनि ९.९२ प्रतिशत आम्दानी गरेका छन्।

आजको कारोबारमा धेरै गुमाउनेमा छन् विशालबजार कम्पनीका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेपछि उनीहरुले गुमाएका हुन् । त्यस्तै, आँखुखोला जलविद्युत् कम्पनी, मल्टिपर्पस फाइनान्स, सनराइज फर्स्ट म्युचुअल फन्ड र पाँचथर पावर कम्पनीका लगानीकर्ताले पनि गुमाएको नेप्सेले जनाएको छ।

Leave a Reply