धम्पुस पिक आरोहणको लागि आरोहीहरु त्यसतर्फ प्रस्थान

पोखरा, २७ पुस । पर्वतीय पर्यटनको प्रबर्द्धन तथा प्रचार प्रसार गर्ने उद्देश्य अनुरुप ६०१२ मीटर अग्लो धम्पुस पिक (थापा पिक) आरोहणको लागि दशजना आरोहीसहित २६ जना त्यसतर्फ आज सोमवार प्रस्थान गरेका छन् ।

पोखरास्थित विभिन्न ९ वटा ट्रेकिङ कम्पनी र पत्रकारसहित १० जनाले मुस्ताङ जिल्लास्थित धम्पुस पिक (थापा पिक) हिमाल माघ ३ गते आरोहण गर्दै छन । जीवनराज सापकोटाको नेतृत्वमा सुदिप गौतम, दिपेशबाबु सुवेदी, टासी पासाङ गुरुङ, हिराकुमारी मल्ल, मनु गुरुङ, सनकुमार जुग्जाली, छिरिङ लामा शेर्पा, प्रकाश वस्ताकोटी र पत्रकार दीपक परियारले आरोहण गर्दै छन् ।

नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवद्र्धन कार्यक्रमका सहभागिलाई आज पोखरामा बिदाइ गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोहीहरुलाई झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिए ।

गण्डकी प्रदेश हिमाश्रृङ्खलाका दृष्टिले पनि सम्पन्न रहेको उल्लेख गर्दै उनले प्रदेशका हिमालहरु पर्यटन बजारमा उपयोग गर्दै समग्र पर्यटनको समृद्धि र विकासमा टेवा पुर्याउन सकिने बताए । शुभकामना तथा झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले कोरोना महामारीका कारण समग्र पर्यटनलाई प्रभाव पारेपनि पोखरामा त्यसको न्यून असर रहेको चर्चा गर्दै पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताउँदै पर्यटन प्रबद्र्धनको लागि परम्परागत सोंचलाई बदल्नुपर्ने बताए ।

प्रदेश सरकारले प्रदेशभित्र रहेका अग्ला हिमालहरुको अध्ययन गरिरहेको बताउँदै सगरमाथा र खम्बुक्षेत्रमा जस्तै पोखरालाई पनि प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा भएको शुभकामना तथा झण्डा हस्तान्तरण कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सभासद् इन्द्रधारा विष्ट, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशप्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का गोपीबहादुर भट्टराईलगायतले शुभकामना दिएका थिए ।

आरोहणका लागि बेस क्याम्पसम्म आवश्यक बन्दोबस्तीको सामान आरोहण दलका सदस्य तथा लामा राइजेन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका निर्देशक छिरिङ लामा शेर्पाले सहयोग गरेका छन् ।

आरोहीहरु माघ ५ गते पोखरा फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply