फागुन एक गते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

-


     मर्दी न्युज    
     पुस २७ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरामा फागुन एक गते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ । सोमवार पोखरामा आयोजित पत्रकार भेटघाटमा भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो ।

कोभिड–१९ को जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर म्याराथनलाई ४ खण्डमा बाँडेर आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष तेज गुरुङले बताए । उनले भने – ‘कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत फूल र हाल म्याराथन, १० किलोमिटर महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा, अपाङ्गहरूको ह्विल चियर दौड महिला/पुरुष तथा दृष्टि विहीनहरूको दौड महिला/पुरुष फरक–फरक ४ मितिमा आयोजना गर्दैछौ।’

अध्यक्ष गुरुङले फूल र हाल म्याराथन फागुन १ गते शनिवार, ह्विल चियर दौड महिला/पुरुष तथा दृष्टि विहीनहरूको दौड महिला/पुरुष फागुन २२ गते शनिवार, १० किलोमिटर दौड महिला/पुरुष चैत्र १४ गते शनिवार र ५ किलोमिटर दौड छात्र/छात्रा २०७८ वैशाख ४ गते शनिवार हुने जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत फूल म्याराथन तर्फ प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने धावकले क्रमशः २ लाख, १ लाख, ७५ हजार र २५ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमशः १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्नेछन् ।