पोखरा उपत्यकामा भेटियो नयाँ प्रजातिको चरा

फोटोः मनशान्त घिमिरे

हिउँदे पानी चरा गणनाका क्रममा पोखरा उपत्यका को फेवातालमा तिन वटा वयस्क भाले मण्डारिन हाँस फेला परेका छन् जुन पोखरा उपत्यकाको लागि नयाँ प्रजाति हो । उपत्यकामा ४६७ प्रजातिका चराहरुको अभिलेख भएको सन् २०१९ मा मनशान्त घिमिरे, हठन चौधरी र हेमन्त ढकाल, पोखरा बर्ड सोसाईटीद्धारा प्रकाशित बर्डस अफ पोखरा भ्याली मा उल्लेख गरिएको छ ।

नेपालको मात्र नभई भारतीय उपमहाद्धिपको फिरन्ते यो प्रजाति हाल सम्म पोखरा उपत्यकामा नदेखिएको सन् २००४ देखि उपत्यकामा पानी चरा गणनाको नेतृत्व तथा तथ्याङ्क राख्दै आएको टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनले बताउनु भयो । यस बर्षको पानी चरा गणनाका क्रममा झलक चौधरी, मनशान्त घिमिरे, मित्र पाण्डे, हरि भण्डारी, हरि परियार, साजन रानाभाट, दुर्गा तिमिल्सिना र अमन सुनारको टोलीले उक्त प्रजातिको अभिलेख गराएका हुन् ।

जापान र ग्रेट ब्रिटेनको रैथाने र हिउँदे बसाई सराईको क्रममा युरोपका बिभिन्न देशहरु, पूवी चीन, भारतको उत्तर पूर्व क्षेत्र, बर्मा तथा हङ्गकङ्गसम्म पुग्ने यो प्रजाति सन् १९९० मा ग्राडिनेरले अरुण नदीमा नेपालका लागि पहिलो पल्ट फोटो सहित अभिलेख गराएका थिए । मध्य नेपालको चितवन राष्ट्रिय निकुञ्ज, पुर्वको वर्जु ताल र पश्चिमको मर्स्याङ्गी खोलामा समेत भेटिएको यो प्रजाति हाल पोखरा उपत्यकामा भेटिएको हो जुन नेपालकै लागि १० भन्दा कम मात्रामा भेटिएको नेपालका दुर्लभ चराहरु नामक लेखमा उल्लेख गरिएको छ ।

फाईल फोटोः चुङ्बा शेर्पा, नारायणी नदी

बर्डस अफ पोखरा भ्यालीका लेखक मनशान्त घिमिरे का अनुसार सन् २०१९ सम्म उपत्यकामा ४६७ प्रजातिको अभिलेख भएको थियो र पछि सन् २०२० को मध्य सम्ममा उपत्काको बिभिन्न स्थानमा पंछी अबलोकनका क्रममा थप चार प्रजातिका नयाँ चरा भेटिएर कुल ४७१ प्रजाति भएकोमा यो नयाँ प्रजातिले ४७२ पुगेको छ । उपत्यकाका कतिपय स्थानमा अध्ययन तथा अनुगमन बाँकी रहेको, प्रबिधिको आधुनिकीकरण र जनशक्तिको ब्यापक परिचालनले गर्दा नयाँ प्रजाति थपिदै गएको बताउनुहुन्छ समाजका सल्लाहाकार तथा पंछीबिद हरि के.सी ।

सिमसारको ब्यापक संकुचन, बसाई सराईको क्रममा पर्ने विभिन्न बाटाहरुमा अबरोध तथा खतराहरुले गर्दा बिशेष गरि पानी चराहरुको आगमनमा धेरै परिवर्तनहरु भएका छन् । कतिपय प्रजातिहरु बाटो बिराएर तथा अकै प्रजातिको हुलमा मिसिएर पनि फरक मार्गमा यात्रा गरेको अध्ययन अनुसन्धानले देखाएको छ । नेपालमा पाइने ४४ प्रजातिका विश्वकै दुर्लभ चराहरु मध्ये ९ प्रजातिका चराहरु पानी चराहरु रहेको नेपाल पंछी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ्ग बताउनुहुन्छ ।

सन् १९८७ वाट पानी चरा गणनामा नेपाल सहभागी भएको र पछिल्लो दशकमा पानी चराहरुको केहि प्रजाति र विशेष गरि संख्यामा धेरै कम आएको बताउनुहुन्छ एशियन वाटरफल सेन्ससका नेपाल संयोजक डा. हेम सागर बराल । उहाँका अनुसार नेपालमा करिब २०० प्रजातिका पानी चराहरु छन् । पानीमा पूर्ण रुपमा आश्रित बाहेकका प्रजातिहरुलाई यस बर्गमा राखिदैन । पोखरा उपत्यकामा रैथाने र आगन्तुक गरि गणनाको समयमा ४६ प्रजातिको अभिलेख गरिएको छ ।

Leave a Reply