थापा पिक (धम्पुस पिक) आरोहण समूह याकखर्क पुग्यो

याकखर्क मुस्ताङ, २९ पुस । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले आयोजना गरेको थापा पिक (धम्पुस पिक) आरोहण समूह याकखर्क पुगेको छ । ४२०० मिटर उचाईमा रहेको याक खर्कमा मंगलवार पुगेको कार्यक्रम संयोजक जीवनराज सापकोटाले जानकारी दिए ।

आरोहीहरु आज बुधवार याकखर्कमा नै बसी बिहानैदेखि आधारभूत तालिम लिइरहेका छन् । भोलि माघ एक गते उनीहरु बेस क्याम्पतर्फ लाग्नेछ । माघ ३ गते २ जना प्रशिक्षिकसहित १० जनाका समूह धम्पुस पिक आरोहण गर्ने योजना रहेको कार्यक्रम संयोजक सापकोटाले बताए । १० जना आरोहीहरुमा २ महिला आरोही छन् भने एक जना पत्रकार रहेका छन् ।

कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहकार्य तथा गण्डकी प्रदेश सरकार एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा प्रबद्र्धनात्मक आरोहणको आयोजना गरिएको हो ।

आरोहीहरुको हौसला बढाउन पोखराका पर्यटन व्यवसायी सँगै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी पनि सहभागी रहेका छन् । आरोहण दलसहित २६ जनाको समूह सोमवार पोखराबाट त्यसतर्फ प्रस्थान गरेका थिए । प्रस्थान अघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोहीहरुलाई झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिएका थिए ।

पोखराको मौसम बदली भएपनि याकखर्कको मौसम सफा रहेको नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सचिव सुदिप गौतमले जानकारी दिए ।

Leave a Reply