प्रधानमन्त्री सुगाद्वारा थप सात प्रान्तमा आपतकाल घोषणा

-


     मर्दी न्युज    
     पुस २९ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, जनवरी १३ । जापानमा कोरोना संक्रमण तीव्र रूपमा फैलिदै गएपछि प्रधानमन्त्री योशिहिदे सुगाले थप सात प्रान्तमा दोस्रोपटक आपतकाल घोषणा गरेका छन् ।

बुधबार सरकारी कार्यदलको बैठकपछिको पत्रकार सम्मेलनमा सुगाले ओसाका, ह्योगो, क्योतो, आईची, गिफु, तोचिगी र फुकुओका प्रान्तहरूमा आपतकाल घोषणा गरेको हो । उनले टोकियो क्षेत्रमा मात्र नभई मध्य तथा पश्चिमी क्षेत्रमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै व्यबसायीहरूलाई टेलिवर्क प्रयोग गरी ७० प्रतिशत भीडभाड घटाउन आग्रह गरे । रेष्टुरेन्ट तथा भोजनालय बेलुका ८ बजे बन्द गर्न, अनावश्यक रूपमा बाहिर ननिस्कन साथै खेलकूद र कन्सर्टमा दर्शक सीमित गर्न आग्रह गरेका छन् ।


गत शनिबार उक्त प्रान्तका गभर्नरहरूले आपतकाल घोषणा गर्न सरकारलाई आग्रह गरेका थिए ।


यसअघि जनवरी ८ मा राजधानी टोकियो, खानागावा, साईतामा र चिबा प्रान्तमा दोस्रोपटक आपतकालीन अवस्था घोषणा भएको थियो । ११ प्रान्तमा लागू गरिएको आपतकाल फेब्रुवरी ७ सम्म कायम रहनेछ ।