श्रीकृष्ण मा.वि.मा कम्प्युटर ल्याव पूर्व तयारी अभिमुखीकरण तालिम सम्पन्न

पोखरा । शिक्षालाई प्रविधिकमार्फत रुपारन्तरण गर्ने मूल उद्देश्यले सामुदायिक विद्यालयहरुमा आइसिटी कम्प्युटर ल्याव स्थापना गर्ने अभियान लिएको एडुटेक नेपाल र पार्टनर संस्थाहरुले गण्डकी प्रदेश अन्तर्गत गोरखा, बाग्लुङ र कास्कीका विद्यालयहरुलाई कम्प्युटर ल्याव पूर्व तयारीसम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न गरेका छन् ।

एडुटेक नेपालले पार्टनर संस्था कर्मफ्लाईटस् फाउन्डेशन नेपाल पोखरा कास्की र रोटरी क्लव अफ पोखरा फिस्टेलसँगको आर्थिक सहलगानीमा ल्याव स्थापना गर्न उपयुतm भएको प्रमाणीकरण भइसकेका विद्यालयहरुमा कम्प्युटर ल्याव स्थापना गर्न ती विद्यालयहरुमा प्रशिक्षण दिएका छन् । ल्याव कसरी बनाउने भन्ने बारेमा विद्यालयहरुका प्र.अ, वि.व्य.स अध्यक्ष एंव कम्प्युटर शिक्षकलाई पोखराको श्रीकृष्ण मा.विको कम्प्युटर कक्षमा एडुटेकका कार्यकारी प्रमुख आकाशकुमार दासले यहि शुक्रवार प्रशिक्षण दिएका हुन् । रोटरी क्लव अफ पोखरा फिस्टेलको सिफारिसमा कास्कीका प्रगतीशील माध्यामिक विद्यालय अन्नपूर्ण –४, पृथ्वीरुपा मा.वि रुपा –६, धर्मस्थिली आ.वि पोखरा –५ तथा बाग्लुङको त्रिभुवन मा.वि पैँयुपाटा तथा अर्को पार्टनर संस्था कर्मफ्लाईटस् फाउन्डेशन नेपाल, पोखरा कास्कीको सिफारिसमा बाग्लुङको विद्या विकाश मा.वि गादीखोला ढोरपाटन –६, अर्नाकोट आधारभुत विद्यालय देविस्थान निसीखोला–२ र गोरखाको माझथर मा.वि स्वाँरा, बारपाक सुलिकोट–३ का विद्यालयहरु प्रमाणिकरण भई कार्य सम्पादन योजनासहित समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

कार्यक्रममा एडुटेक नेपाल फाउन्डेशन नेपालका अध्यक्ष डायाना सिलवाल प्रधानले कार्यक्रममा उपस्थितलाई एडुटेक नेपालले पार्टनर संस्थाहरुको सहलगानीमा ग्रामिण भेगका विद्यालयहरुमा अध्ययन गर्ने बालवालिकालाई तीब्र गतिमा बदलिइरहेको समाजमा प्रतिस्पर्धी र जीवन जीउने कला सिकाउने गरि ल्याबहरुले सहयोग गर्ने विश्वास लिएको बताइन् । तालिममा मापदण्ड अनुसार प्रमाणिकरण भएका विद्यालयहरुमा कम्प्युटर ल्याव बनाउने कक्षा कोठाको व्यवस्थापन कसरी गर्ने, फर्निचरको संरचना, विद्युतीकरण कार्य तथा कार्य सम्पादन गर्ने समयसीमा समेत तय गर्ने गरि अन्तरक्रिया गरिएको हो ।

एडुटेक नेपाल, कर्मफ्लाईटस् र रोटरी क्लव अफ पोखरा फिस्टेलका प्रमुखहरुको उपस्थितिमा संवन्धित विद्यालय र पार्टनर बिचमा कार्यसम्पादन समझदारी (एम.ओ.यू)मा हस्ताक्षर गरिएको छ । समग्रमा विद्यालयको रु ३ लाख बरावरको कम्प्युटर कक्षा व्यवस्थापन र पार्टनरहरुको संयुक्त रुपमा करिव ८ लाख गरि रु ११ लाख बराबरको लगानीमा उत्कृट ल्याब स्थापना हुने कर्मफ्लाईटस् संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिए ।

समयसापेक्ष प्रविधियुक्त कम्प्युटर ल्याबले विद्यालयको गहनाको रुपमा आकर्षण थप्ने भएकोले गुणस्तरीय शिक्षा बालबालिकाको भविष्यसँग जोडिएकोले समयमै काम गरि गुणस्तरिय ल्याब बनाउन सबैले जाँगर गर्न रोटरी क्लव अफ पोखरा फिस्टेलका अध्यक्ष रमेशप्रसाद कोइरालाले आग्रह गरे । कार्यक्रमको बारेमा विद्या विकास मा.वि ढो.न.पा ६ का प्र.अ, माझथर मा.वि गोरखाका कम्प्युटर शिक्षक प्रदीप विश्वकर्मा र प्रगतिशील मा.वि. अन्नपूर्ण –४ का वि.व्य.स अध्यक्ष रामचन्द्र पौडेलले पनि आ– आफ्नो धारण राखेका थिए । यहि चालु आ.व भित्रै ल्यावहरु बनाउने गरि तयारी गरिएको एडुटेकका कार्यकारी प्रमुख आकाश कुमार दासले बताए ।

Leave a Reply