दलभित्र अविश्वास भएपछि जनतामाः मन्त्री गुरुङ

-


     मर्दी न्युज    
     माघ १० गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई आफ्नै दलभित्र अविश्वास गरेपछि जनतामा जानुको विकल्प नरहेको बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माछापुच्छ्रे गाउँपालिका कमिटीले आज लाहाचोकमा आयोजना गरेको गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसद् विघटन गरेर जनादेश लिनु अलोकतान्त्रिक र तानाशाही कदम नभएको जिकिर गरे ।

पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका नेता गुरुङले भने, “बहुमत प्राप्त दलको नेता प्रधानमन्त्रीलाई आफ्नै दलका नेताले अविश्वास र षड्यन्त्र गरिसकेपछि दलमा गएर पुनः सर्मथन देऊ भन्ने कुरा आउँदैन, आफूलाई निर्वाचित गर्ने जनताको बीचमा ताजा जनादेशका लागि जाने निर्णय प्रधानमन्त्रीले गर्नुभयो ।”

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाललगायत कुनै पनि नेतालाई कारवाही नगरेकाले समेत मूलधार सोही पार्टी रहेको भनाइ नेता गुरुङको छ । पूर्वमन्त्री खगराज अधिकारीले प्रचण्ड–नेपाल पक्षले जहिले पनि पदका लागि बार्गेनिङ गर्ने गरेको भन्दै तोकिएको मितिमा निर्वाचन हुने बताए ।

पूर्वमन्त्री जगत् विश्वकर्माले जनताको बीचमा जाने कुरा प्रतिगमन नहुने जनाउँदै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । उनले आगामी निर्वाचनमा पनि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीले बहुमत प्राप्त गर्ने दावि समेत गरे । रासस