१९ वर्षीया सृष्टि गोस्वामीः उत्तराखण्डको एकदिने मुख्यमन्त्री

-


     मर्दी न्युज    
     माघ ११ गते २०७७ मा प्रकाशित


एजेन्सी । भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनको मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले राष्ट्रिय बालिका दिवसको अवसरमा एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो ।

२४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुने समाचारमा जनाइएको छ । सृष्टि बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् । सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् । उत्तराखण्ड विधानसभा भवनको एक सभाहलमा हुनेछ । कार्यक्रम स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने समाचारमा जनाइएको छ ।