ओलीलाई पार्टी सदस्यबाट निष्कासन गर्ने नेकपा दाहाल–नेपाल समूहको निर्णय

Mardi News

काठमाडौँ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन माघ ५ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले समय दिएका थिए । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई थप्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको संसद् विघटन विरुद्धको यसअघि संचालित संघर्षका कार्यक्रम र माघ ९ गतेको विरोध प्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ ।

Leave a Reply