फागुन १ मा पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने

पोखरा, २९ माघ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते हुने भएको छ।

यो संस्करणबाट महिला हाफ म्याराथन समेत हुने मञ्चका अध्यक्ष तेज गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले पोखरालाई खेलकुद शहरको रुपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको समेत बताए ।

कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने ह्विलचियर र दृष्टिविहीन दौड (महिला/पुरुष) फागुन २२ गते, १० किलोमिटर दौड (महिला/पुरुष) चैत १४ गते र ५ किमि छात्रछात्रा दौड २०७८ वैशाख ४ गते हुने गरी कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

यसपल्ट विदेशी खेलाडीको सहभागिता रहने छैन । अघिल्लो संस्करणमा विदेशीको सहभागिता रहेकामा त्यो विधाको उपाधि जापानका त्योसुके ताकानासीले जितेका थिए ।

म्याराथनतर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद रु २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन्। त्यस्तै महिला हाफ म्याराथनतर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्नेछन्।

सिटी म्याराथनको अवधारणाअनुसार पर्यटकीय नगरी पोखरालाई विश्व मानचित्रमा स्थापित गराएर खेल पर्यटनको प्रवर्द्धन गर्न म्याराथन गरिएको दाबी आयोजकको छ ।

Leave a Reply