नेकपा विभाजनको टुंगो नलागेसम्म कांग्रेस सरकारमा नजाने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ ।

बिहीवार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले नेकपा विभाजन टुंगो नलागेसम्म तटस्थ रहने निष्कर्ष निकालेको हो ।

बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।

सत्तारुढ दल नेकपा राजनीतिक रुपमा विभाजित छ, तर कानुनी रुपमा उनीहरु एक छन् । नेकपाको पार्टी विभाजन नटुंगेसम्म हतारिएर सरकारमा जाने कुरा उचित नहुने धारणा नेताहरुले राखेको सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि यतिखेर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको छ । संसद् बैठक सुरु भएपछि प्रधानमन्त्री ओलीलाई पदच्यूत गराउने कसरतमा दाहाल–नेपाल समूह देखिएका छन् । यसको लागि दाहाल–नेपाल समूहले कांग्रेस, जसपालगायतका दलसँग सत्ता समिकरणका लागि संवाद समेत थालिसकेका छन् ।

Leave a Reply